“आठ खम्बे विकास मोडेल” सहित काठमाडौं महानगरको मेयर पदका लागि स्वतन्त्र उमेदवार सुनिता डंगोलद्वारा घोषणा-पत्र जारी


काठमाडौं महानगरपालिकामा स्वतन्त्रतर्फबाट मेयर पदको उमेदवारी दिनुभएको युवा नेता सुनिता डंगोलले “स्वच्छ, जीवन्त, सांस्कृतिक नगर, व्यवस्थित काठमाडौं महानगर!” को नारा सहित यही बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि आफ्नो आठ खम्बे विकास मोडलको ब्याख्या सहितको घोषणा-पत्र जारी गर्नुभएको छ ।

प्रस्तुत छ जारी घोषणा-पत्र विस्तारमा
जारी घोषणा-पत्रको PDF यहाँ क्लिक गरी डाउनलोड गर्नुहोस्

स्वच्छ, जीवन्त, सांस्कृतिक नगर, व्यवस्थित काठमाडौं महानगर!

नयाँ संविधान जारी भएपछिको स्थानीय तहको दोस्रो निर्वाचन यही वैशाख ३० गते सम्पन्न हुदैछ । विश्वकै अनुपम सांस्कृतिक तथा भौगोलिक विशेषतायुक्त आर्थिक, राजनीतिक र प्रशासकीय केन्द्रको रुपमा काठमाडौं महानगर रहेको छ । यस्तै काठमाडौं महानगर यहाँका मूर्त अमूर्त साँस्कृतिक सम्पदाले भरिपूर्ण भएकोले एक जीवित सांस्कृतिक संग्रहालयको रुपमा रहेको छ । काठमाडौं शहरलाई प्रदुषण रहित, हरियाली, सुरक्षित, जीवन्त तथा व्यवस्थित सहरको रुपमा विकास गर्न एवं शिक्षा, स्वास्थ्य, उद्योग व्यवसाय, पर्यटन तथा अन्य विभिन्न क्षेत्रहरुमा सहजता र अवसरहरुले भरिपूर्ण गरी गर्व गर्न लायकको उत्कृष्ट बस्न योग्य सहर बनाउने मेरो लक्ष्य रहेको छ । यहाँका नागरिकहरु एक आपसमा हातेमालो गर्दै यहाँ रहेका समुदायहरुलाई सशक्तिकरण गरेर योजनाबद्ध रुपमा विकास गर्दै एक सांस्कृतिक एवं राजधानी सहरको रुपमा स्थापित गर्नु आजको आवश्यकता हो । त्यसैले मैले काठमाडौं महानगरलाई सांस्कृतिक नगर एवं समृद्ध राजधानी सहर बनाउनका लागि आठ खम्बे विकास मोडेल बनाएकी छु । जुन यस प्रकार रहेका छन्ः

आठ खम्बे विकास मोडेल:
१. स्वच्छ वातावरण
२. यातायात व्यवस्थापन
३. राजधानीका रुपमा पूर्वाधार विकास
४. सांस्कृतिक नगर
५. सामाजिक विकास
६. डिजिटल काठमाडौं
७. यूवा, खेलकुद, रोजगारी तथा उद्यमशीलता
८. रिसर्च एण्ड डिभेलप्मेण्ट

काठमाडौं महानगरपालिकालाई यहाँको जनताको चाहना अनुरुप विकास गर्न माथि उल्लेखित आठ खम्बे विकास मोडल अन्तर्गत अल्पकालिन, मध्यकालिन र दीर्घकालिन योजनाहरुद्धारा काठमाडौं (यें दयोलाई साँचिकै सुन्दर, जीवन्त, सांस्कृतिक र व्यवस्थित महानगर बनाउन निम्न प्रतिबद्धता प्रस्तुत गर्दछु ।

अल्पकालिन योजनाहरुः
१. सडक सरसफाईमा आवश्यक उपकरणहरु प्रयोग गरि सडक चोकगल्लीहरु सबै सफा राखिने व्यवस्था गरिनेछ ।
२. काठमाडौं महानगरका सार्वजनिक स्थानहरुमा स्मार्ट सार्वजनिक शौचालयहरुको निर्माण गरिने छ ।
३. काठमाडौंका सडक, ढल, पेटी, सडक बत्ती लगायतका अति आवश्यक पूर्वाधारहरु बिग्रिए तुरुन्त मर्मत गर्न Rapid Task Force को व्यवस्था गर्ने ।
४. महानगरपालिकाले आफू सम्बन्धित सूचनाको महानगरवासीका लागि प्रवाह गर्नको मेट्रो टीभी संचालन गर्ने तथा मेट्रो एफ.एम.लाई व्यवस्थित गरी अझ प्रभावकारी बनाइनेछ ।
५. विदेशी पर्यटकहरु तथा नेपाली जनताले महानगरसंग सम्बन्धित सूचना सजिलै लिन सकोस् भन्ने उद्देश्यले ठाउँ ठाउँमा अत्याधुनिक सूचना केन्द्र स्थापना गरिनेछ ।
६. युगौंदेखि रहेका पोखरीहरु र ढुंगेधारा, इनारहरुको पुर्नजीवन गरी संरक्षण तथा सम्वर्द्धन गरिनेछ ।
७. साईकल पार्किगं स्टेशन सहित साईकल लेनको निर्माण गरिनेछ । अपागंमैत्री फुटपाथको व्यवस्था गरिनेछ ।
८. सडक बत्तिको व्यवस्था गरी शहरलाई जीवन्त बनाइने छ । काठमाडौं महानगरलाई २४ सै घण्टा खुल्ला जीवन्त शहरको रुपमा विकसित गरिनेछ ।
९. ट्राफिक उचित व्यवस्थापन गर्न ट्राफिक अनुशासन पालना गर्ने कार्यको कार्यान्वयन गराउने आवश्यक समन्वय र व्यवस्था गरिनेछ ।
१०. कामपा क्षेत्रमा रहेको सार्वजनिक जग्गा, सत्तल पाटी, पौवा, मठ मन्दीर, तथा अन्य सम्पदाहरुको संरक्षण गरिनेछ ।
११. Revive Kathmandu अन्तर्गत काठमाडौं भित्र रहेका विभिन्न समुदायहरुले मनाईने मूर्त अमूर्त सम्पदाहरुको पुर्नजागरण गर्ने । यस्तै जात्रा, पर्व तथा अन्य सांस्कृतिक क्रियाकलापको संरक्षण तथा प्रवर्द्धन गर्न आवश्यक व्यवस्था मिलाईने छ । टोल टोलमा हुने भजन मण्डलहरुलाई चाहिने व्यवस्था गरि भजन कार्यक्रमलाई निरन्तरता दिईने छ।
१२. सामुदायिक विद्यालयको शिक्षाको गुणस्तरमा सुधार थप सुदृढ गरिने छ । काठमाडौंको स्थानीय भाषा नेपाल भाषाको पठनपाठानलाई अझ थप प्रभावकारी बनाउन आवश्यक व्यवस्था गरिने छ ।
१३. इमरजेन्सी सेवाको लागि अत्याधुनिक एम्बुलेन्सको पर्याप्त व्यवस्था गरिने छ । प्रत्येक वडामा बाईक एम्बुलेन्सको व्यवस्था गरिने छ ।
१४. ७५ बर्षदेखि माथि उमेरका जेष्ठ नागरिकहरुलाई वार्षिक ३० हजार रुपैंया महानगरले प्रदान गर्ने व्यवस्था मिलाईनेछ ।
१५. महिला स्वास्थ्य स्वयंसेविकाको योगदानलाई कदर गरी प्रोत्साहन भत्ता २५ प्रतिशतले वृद्धि गरिनेछ ।
१६. फुटपाथ व्यवस्थापन गरी निश्चित स्थानमा सडक बजार निश्चित समयका लागि संचालन गर्न दिईनेछ । विभिन्न स्थानमा नाईट मार्केटको प्रवर्द्धन गरिनेछ ।
१७. स्वस्थ नागरिक जीवनका लागि खेलकुदप्रति आकर्षित गर्ने महानगरस्तरीय खेल प्रतियोगिता नियमित रुपमा सञ्चालन गरिनेछ ।
१८. ‘झलमल्ल काठमाडौं कार्यक्रमको प्रारम्भ गरी निरन्तर रुपमा कार्यान्वयन गर्न विशेष योजना ल्याइनेछ ।
१९. Modern Urban Agriculture लागि प्रोत्साहन गरिनेछ र सोका लागि चाहिने उपकरणहरु तथा विउ विजनहरु निशुल्क वितरण गरिने छ ।
२०. लगानीमैत्री कर नीति ल्याइनेछ । करदातालाई प्रोत्साहन गर्ने गरी स्वैच्छिक कर बुझाउने परिपाटीको विकास गरिनेछ MARS, EPBS जस्ता सफ्टवेयर लागू गरी महानगरपालिकाको सेवालाई सरल, सहज, पहुँचयोग्य र छिटो छरितो बनाईनेछ ।
२१. Innovation Hub स्थापना गरिने छ | Start up का लागि आवश्कय योजनाहरु बनाई प्रवर्द्धन गरिने छ ।
२२. women cell बनाएर अन्यायमा परेका महिलाहरुको संरक्षण, आवश्यक कानुनी सहयोग तथा सहजीकरण र महिलाहरुलाई आत्मरक्षाको तालिम आदिको व्यवस्था गरिने छ ।

मध्यकालिन योजनाहरू:
१. डिजिटल काठमाडौं बनाउने जसले गर्दा जनतालाई वडा-वडामा अनावश्यक रुपमा धाउन लगाएर दुःख दिइरहनु पर्ने युगको अन्त्य गर्दै त्यसका लागि डिजिटल प्रविधिबाट
अधिकांश सेवा घरमै बसेर जनताले लिन सक्ने व्यवस्था गरिने छ ।
२. महानगरीय ब्रोडव्याण्ड नेटवर्क स्थापना गर्न आवश्यक व्यवस्था गरी महानगरको नागरिकका लागि ‘महानगर स्मार्ट कार्ड’ को व्यवस्था गरिनेछ ।
३. काठमाडौं महानगरमा सुशासन स्थापना गर्न तथा स्मार्ट प्रविधिबाट कार्यसम्पादन गर्न ई-गर्भनेन्स प्रणाली लागु गरिनेछ ।
४. महानगरको सेवाग्राही र पर्यटकहरुलाई चाहिने सबै सूचनाहरु भएको र महानगरबासीले आफूले महानगरलाई तिर्नु पने करहरु समेत तिर्न मिल्ने “KMC APP” बनाईने छ ।
५. भौगोलिक सूचना प्रणालीको (GIS) विकास गर्ने । मेट्रीक ठेगाना प्रणालीलाई अझ व्यवस्थित गरी लागू गरिनेछ ।
६. प्रभावकारी योजनाहरु बनाएर काठमाडौंलाई धूलो, धुंवा मुक्त सुन्दर र व्यवस्थित हरियाली शहरका रुपमा विकास गरिनेछ ।
७. सडक क्षेत्र, सार्वजनिक तथा खुल्ला स्थल, नदी आदि सार्वजनिक स्थानमा अतिक्रमण हुन दिईने छैन ।
८. सार्वजनिक जग्गाहरु संरक्षण गरी प्रत्येक वडामा बालउद्यान, स्मार्ट यूथ पार्क, फेमिली पार्कहरु, योग पार्कहरु तथा खेलमैदानहरु निर्माण गरिनेछ ।
९. महानगरमा रहेका सरकारी र सार्वजनिक ठाउँहरुमा रहेका अग्ला पर्खाल रहित बनाएर शहर आकर्षक बनाउन आवश्यक व्यवस्था गरिनेछ ।
१०. काठमाडौंमा हरियाली बृद्धि गर्न कौसी खेती र बगैंचा कार्यक्रमहरु अभियान कै रुपमा अघि बढाईने छ । पर्याप्त मात्रामा हरियाली कायम गर्न आवश्यक योजना सहित आवश्यक व्यवस्था गरिनेछ ।
११. महानगर भित्र प्रमुख व्याबसायिक स्थानहरुमा स्मार्ट पार्किङको व्यवस्था गरिनेछ । विभिन्न ठाउँमा स्वचालित भर्टिकल पार्किङ र अण्डरग्राउण्ड पार्किङको व्यवस्था गरिनेछ । रात्रीकालिन बस सेवा प्रारम्भ गर्ने ।
१२. खानेपानीको तत्कालीन समस्या समाधानका लागि स्थानीय स्तरमा उपलब्ध हुने खानेपानीका स-साना स्रोतहरुको पहिचान गरी अधिकतम रुपमा उपयोग गरिनेछ । आकाशे पानीको समुचित व्यवस्थापन गर्न आवश्यक कार्यक्रमहरु ल्याइने छ । काठमाडौं महानगरमा ढल निकासलाई व्यवस्थित गर्न आवश्यक कार्य गरिनेछ ।
१३. काठमाडौ महानगर भित्र ठूला ठूला इभेन्टहरु गर्न मेट्रो सिटी हलहरु’ निर्माण गरिनेछ ।
१४. विभिन्न ठाउँमा स्थानीय कला र संस्कृति झल्किने स्कल्पचर, फाउण्टेन तथा बत्तीले शहर सजाउने प्रविधि आदि निर्माण एवं सञ्चालनको व्यवस्था मिलाईनेछ ।
१५. राणाकालीन समयमा निर्माण भएका ढल व्यवस्थाहरुलाई सुदृढिकरण गरी नयाँ प्रविधि सहितको ढल व्यवस्था गर्ने । वर्षातको समयमा सडक खोलामा परिणत नहने गरी surface drainage को व्यवस्था गर्ने ।
१६. Electrical vehicle हरुलाई प्रवर्द्धन गर्ने । प्रदुषण बढाउने पेट्रोल डिजेलका गाडीहरुलाई विस्थापन गरिनेछ ।
१७. फोहरबाट निस्कने विभिन्न पर्दाथहरुको उचित व्यवस्थापन गर्ने साथै जैविक फोहरहरुबाट वायोग्याँस उत्पादन गर्न आवश्यक प्लान्टहरुको स्थापना गरिनेछ ।
१८. फोहरबाट उर्जा उत्पादन गर्ने प्रविधिबाट फोहोर मैलाको उचित व्यवस्थापन गर्न सकिन्छ। अहिले काठमाडौँवासीले फोहर घरबाट निकालेवापत प्रति घर सरदर चारसय रुपैंया मासिक बुझाउनु परेको यथार्थ हाम्रा सामू छ । हामीले उक्त waste to energy प्रविधि प्रयोग गर्न सक्यौं भने महानगर आफैले बिजुली उत्पादन गरेर शहर झिलिमिली बनाउन सकिन्छ भने महानगरवासीबाट फोहर उठाउँदा जनतालाई उल्टै फोहर लिए बापट पैसा दिनसक्ने अवस्था सिर्जना हुन्छ । शहर पनि दुर्गन्धरहित सफा रहनेछ ।
१९. तरकारी बजार, वधशाला, माछा–मासुका बजारलाई आधुनिकीकरण गरी व्यवस्थित गरिनेछ ।
२०. काठमाडौं भित्र रहेका बहा बहीहरुको संरक्षण तथा सम्वर्द्धन गर्न बहा बही संरक्षण तथा प्रवर्द्धन विकास समिति स्थापना गरिनेछ । यस समितिबाट बहा बहीमा रहेको सम्पूर्ण सम्पदाहरुको संरक्षण तथा प्रवर्द्धन गर्न आवश्यक परे पुर्ननिमार्ण गर्ने, मेनटेनेन्स गर्ने तथा बहा बहीमा रहेको नित्य पूजाआजा सहित अमूर्त सम्पदाहरुको संरक्षण तथा प्रवर्द्धन गर्न आवश्यक कोषको समेत व्यवस्था गरी ती सबै सम्पदाहरुलाई जीवन्त राखिने छ।
२१. काठमाडौंको कला संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न महानगरीय संग्रहालायको स्थापना गरिनेछ ।
२२. स्थानीय कला, साहित्य, लिपि तथा भाषाको प्रवर्द्धन तथा सम्वर्द्धनका लागि आवश्यक व्यवस्था गरिनेछ ।
२३. विद्यालयहरुमा व्यवसायिक शिक्षाको कार्यक्रम समावेस गरी विद्यार्थीहरुलाई प्राविधिक तथा व्यवसायिक शिक्षामा रुचि बढाउने र विद्यार्थीहरुलाई स्वाबलम्बन बनाउन आवश्यक व्यवस्था मिलाईने छ। STEAM/TVET शिक्षालाई समावेश गरिने छ ।
२४. महानगरभित्रका प्रत्येक टोलहरुमा आधुनिक शिशुस्यार केन्द्र र पूर्वप्राथमिक शिक्षालयको व्यवस्था गरिनेछ ।
२५. सामुदायिक स्वास्थ्य केन्द्र (क्लिनिक) प्रवर्द्धन गर्दै सामान्य उपचारको क्रममा निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि सेवा उपलब्ध गराइनेछ । २६. प्रत्येक वडामा विषयगत दक्षता सहितको स्वयम् सेवकहरुको घोषणा गरी आवश्यकता अनुसार परिचालन गरिने छ ।
२७. महानगर क्षेत्रमा दिवा जेष्ठ नागरिक मनोरञ्जन तथा सेवा केन्द्र संचालन गर्न विशेष प्रोत्साहन दिइनेछ ।
२८. सिटी टुरको अवधारणालई कार्यान्वयन गर्न ‘हप अन हप अफ’ बस सञ्चालनको व्यवस्था गरिनेछ ।
२९. आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लक्षित गरी हनुमान ढोका परिसरमा दैनिक रुपमा साँझ विभिन्न सांस्कृतिक कार्यक्रमहरुको आयोजना गर्ने व्यवस्था गरिनेछ ।
३१. प्रत्येक वडामा खेलकुद विकासको लागि चाहिने पूर्वाधार निर्माण र खेलकुद सामग्रीको व्यवस्था गर्ने । काठमाडौ महानगरले खेलकुद क्षेत्रमा उत्कृष्ट खेलाडीहरु उत्पादन गर्न बच्चैदेखि तालिमको व्यवस्था गर्ने ।
३२. विश्वमा रहेका विभिन्न महानगरहरुले दिने न्याय प्रणालीको अध्ययन गरी नेपालको संविधानको भावना बमोजिम स्थानीय कानून नै निर्माण गरी स्थानीय अदालत लगायत न्यायिक, अर्धन्यायिक एवं मेलमिलाप कक्षहरुको अभ्यास गरिनेछ ।
३३. हाम्रो हस्तकलाका उत्पादनहरुको लागि विक्री वितरण कक्षको व्यवस्था गर्ने । यस विक्री कक्षलाई पर्यटकीय विक्री कक्षको रुपमा व्यवस्थित गर्ने । यहाँ रहेका घरेलु हस्तकलाका उत्पादनहरुलाई नेपाल ब्राण्डिङ्ग गरी अन्तराष्ट्रिय बजारमा स्थापित गरिनेछ ।
३४. वैकल्पिक उर्जाको व्यवस्था गर्न महानगरको घरहरुमा सोलार राख्नु पर्ने व्यवस्था गर्ने र खुल्ला ठाउँमा पनि उर्जा उत्पादनका लागि व्यवस्था गर्ने ।
३५. दमकल सेवालाई सुदृढीकरण र आधुनिकीकरण गर्ने र सकेसम्म छिटो सेवा दिने व्यवस्था गरिनेछ ।
३६. प्रत्येक टोलमा विपद पर्दा उद्धार गर्न चाहिने सबै प्रकारका उपकरणहरु चुष्ट दुरुष्ट तयारी अवस्थामा राख्ने व्यवस्था गरिनेछ । प्रत्येक टोलका इच्छुक युवाहरुलाई व्यवस्थापन सम्बन्धी तालिम दिने व्यवस्था गरिनेछ ।
३७. काठमाडौं महानगरको पनि Hazard mapping बनाउने र सो बमोजिम जोखिम न्यूनिकरण गर्न आवश्यक तयारी गर्ने ।
३८. विश्वका प्रमुख शहरहरुसँग सिस्टर सिटीका रुपमा सम्बन्ध विकास गर्दै जानेछ । अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गरी काठमाडौ महानगरको समग्र विकासका लागि सहयोग लिइनेछ।
३९. कृषकले सिधै आफूले उत्पादन गरेका फलफूल तथा तरकारी महानगरले व्यवस्था गरेको बजारमा विक्री वितरण गर्न सकिने व्यवस्था मिलाइनेछ जसले गर्दा उपभोक्ताले कम दरमा ताजा तरकारी तथा फलफूल उपभोग गर्न पाउनेछ ।
४०. खाद्य गुणस्तर नियन्त्रणका लागि कृषि उत्पादन तथा मासु जाँच ऐनलाई कडाईका साथ लागु गरिनेछ ।
४१. राजस्व प्रवर्द्धनात्मक कार्यक्रमहरु सञ्चालन गर्ने तथा कर राजस्वको दायरा फाराकिलो बनाईनेछ।
४२. वित्त व्यवस्थापनलाई वैज्ञानिक, सरल र जनउत्तरदायी बनाउने र यसको संस्थागत क्षमता विकास र अनुशासनमा विशेष जोड दिईनेछ ।
४३. उपत्यकाका अन्य नगरहरुसँग समन्वय गरी राजस्वका दरहरु एवं कर संकलनमा सहकार्य अभिवृद्धि गर्ने ।

दीर्घकालिन योजनाहरू:
१. काठमाडौं महानगरलाई राजधानी सहरको रुपमा विकास गर्न आवश्यक पूर्वाधारहरु निमार्ण गरिने छ साथै यस सहरलाई स्मार्ट सिटीका रुपमा विकास गरिने छ । यस्तै AI को प्रविधि विकास गर्न आवश्यक समन्वय तथा सहयोग गरी उक्त प्रविधिलाई उपयोग गरिने छ ।
२. “मेरो शहर म सफा राख्छु” भन्ने कार्यक्रम अभियानकै रुपमा सञ्चालन गरी शहरलाई प्रदुषण मुक्त बनाईनेछ।
३. महानगर भित्र रहेको अस्तव्यस्त यातायातलाई व्यवस्थित तथा आधुनिकीकरण गर्न नयाँ प्रविधियुक्त यातायात पद्धति स्थापना गरिनेछ । BRT र MRT को स्थापना तथा संचालनमा विशेष जोड दिईने छ।
४. आदिवासी जनजातिको उत्थानका लागि विशेष कार्यक्रमहरु लागु गरिनेछ ।
५. प्रत्येक महानगरवासीका लागि अनिवार्य स्वास्थ बिमाको प्रबन्ध गरिनेछ ।
६. रिर्सच एण्ड डेभलपमेण्टको छुटै विभाग बनाई विभिन्न विषयका अनुसन्धानलाई निरन्तरता
दिईने छ।
७. समाजमा पिछडिएका तथा निम्न आय भएका व्यक्तिहरुका लागि सामुदायिक आवास (community home) कार्यक्रम ल्याइनेछ ।
८. स्थानीय समुदायका जात्रा, पर्व र अन्य सांस्कृतिक क्रियाकलापहरुलाई जीवित संग्रहालयका रुपमा विकास गरी पर्यटकहरुलाई आकर्षित गरी पर्यटन प्रवर्द्धन गरिने छ।
९. काठमाडौं महानगर भित्र रहेका मन्दिर, गुम्बा, विहार आदि धार्मिक तथा सांस्कृतिक स्थलहरुमा हुने दैनिक सांस्कृतिक सामाजिक गतिविधिहरुलाई जीवन्त राख्ने र उक्त गतिविधिहरु देखाएर पर्यटन प्रवर्द्धन गरिने छ ।
१०. स्वरोजगारीका अवसर सृजना गर्न युवाहरुलाई लक्षित गरी विभिन्न किसिमको प्राविधिक तथा व्यवसायिक तालिमहरु सञ्चालन गर्ने व्यवस्था मिलाइनेछ र उद्यमशीलताको विकास गर्न प्रोत्साहन गरिनेछ ।
११. काठमाडौं महानगर क्षेत्रभित्र विभिन्न व्यवसायिक गतिविधिहरुको अवसर सृजनागरी रोजगारीको अवसर बढाउने कार्यक्रमहरु निरन्तर गरिने छ ।
१२. युवा वर्गहरुमा भईरहेको ब्रेनड्रेन रोक्न अनेकन अवसरहरु सृजना गर्न आवश्यक योजनाहरु बनाइ कार्यान्वयन गरिने छ ।
१३. ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्ग, बालबालिका, लैङ्गिक अल्पसंख्यक लगायत गरिबी रेखामुनि रहेका समुदायहरुको लागि आवश्यकता अनुसार विशेष योजना बनाईने छ ।
१४. SDG लाई लक्षित गरेर विभिन्न योजनाहरु बनाईने छ ।


Loading comments...