पुटिनको आर्थिक अपराध


रूसी राष्ट्रपति भ्लादिमीर पुटिन केवल हत्यारा मात्र होइनन्, उनी ठूला आर्थिक अपराधी पनि हुन्। उनको स्वेच्छाचारी एवं अराजक क्रियाकलापले गर्दा विश्व अर्थव्यवस्था अहिले ज्यादै सङ्कटग्रस्त हुन पुगेको छ। खासगरी गरीब राष्ट्रहरूको आर्थिक स्थिति झनै नाजुक हुने अवस्था उत्पन्न भएको छ।

पुटिनका सेनाहरूले अहिले युक्रेनमा ठूलो र बर्बर किसिमले नरसंहार गरिरहेका छन्। रूसी सेनाहरूले युक्रेनमा अहिले ह्दयहीन भएर क्षेप्यास्त्र र बमका वर्षा गरिरहेका छन्। अहिलेसम्ममा २० हजारभन्दा बढी युक्रेनीको ज्यान गइसकेको छ भने लाखौंका सङ्ख्यामा व्यक्तिहरू घाइते भएका छन्। कसैको हात छैन भने कसैको खुट्टा छैन। कोही जीवनभरका लागि अन्धा भएका छन्। बालकहरूसमेतको पनि हत्या गर्न बाँकी राखेका छैनन्, पुटिनका सेनाहरूले । आवासीय भवन त के अस्पतालसमेतमा पनि उनीहरूले बम वर्षा गरिरहेका छन्। त्यतिमात्र कहाँ हो र पुटिनका सेनाहरूले युक्रेनमा ठूलो सन्त्रास फैलाउनका लागि युक्रेनी महिला र युवतीहरूको सामूहिक बलात्कारसमेत पनि गरिरहेका छन्। रूसी सेनाहरूको ती कार्यहरू युक्रेनी समाचारमाध्यम एवं पश्चिमी सञ्चारजगत्ले भनेको आधारमा यी कुराहरू भनिएको होइन। हालसम्म एक किसिमले तटस्थ बसेको देखिए पनि आफ्नो आर्थिक फाइदाका लागि रूसको नजीक हुन पुगेको भारतका पत्रकारहरूले भनेको आधारमा यी कुराहरू भनिएको हो। भारतीय पत्रकारहरूले आफूहरूले आफ्नो आँखाले रूसी सेनाहरूले बलात्कार गरेका युक्रेनी महिलाहरूसँग भेट गरेको भनी समाचारहरूमा उल्लेख गरेका छन्। यसबाहेक भारतीय पत्रकारहरूले युद्धपीडित अनेकौं युक्रेनीहरूलाई भेटेको र उनीहरूसँग अन्तर्वार्ता लिएकोसमेत उल्लेख गरेका छन्।

लेखकः विश्वराज अधिकारी

राष्ट्रको लागि होइन केवल आफ्नो सत्ता लम्ब्याउनका लागि पुटिनले गरेको यो मानवताविरोधी एवं युद्ध अपराधका लागि उनी एक दिन अवश्य पनि अन्तर्राष्ट्रिय अदालतमा खडा हुनेछन् र स्लोभोदान मेलोसोभिचझैं सजाय भोग्नेछन्। पापले एक दिन अवश्य पनि धुरीबाट कराउनेछ।

पुटिनकै भनाइ ‘रूसलाई घेराबन्दीमा पार्न नाटोले युक्रेनलाई उपयोग गरेको र युक्रेनले नाटोको कुरा नमानेर रूसलाई सहयोग गर्नुको सट्टा उल्टो नाटोको बुई चढेर रूसलाई तर्साउन खोजेको’लाई पत्याउने हो भने पनि युक्रेनका राष्ट्रपतिलाई रूसको पक्षमा ल्याउने अन्य विभिन्न कूटनीतिक तरीकाहरू थिए। तर ती तरीकाहरूको प्रयोग गर्नुको साटो आफ्नो सत्ता लम्ब्याउन र रूसभित्र आफू राष्ट्रवादको नाममा लोकप्रिय हुन पुटिनले युक्रेनमाथि सैनिक कारबाही गर्नुलाई एक अति सुवर्ण अवसरको रूपमा देखे। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पुटिनको आग्रहलाई बेवास्ता गरेको परिणामस्वरूप लाखौं युक्रेनीको हत्या गर्नु कुनै पनि दृष्टिकोणबाट उचित देखिंदैन। त्यस कारण युक्रेनमाथि रूसले गरेको आक्रमणका लागि रूस होइन मात्र पुटिनलाई जिम्मेवार ठहर गरेर इतिहासले उनीलाई मानवताविरोधी अपराधीको रूपमा प्रस्तुत गर्नेछ। युद्ध अपराधी ठहर गर्नेछ।

तर यस आलेखमा भने हामी पुटिनको राजनीतिक होइन, आर्थिक अपराधबारे चर्चा गर्नेछौं। उनको यो दुष्कार्यले विश्व अर्थव्यवस्थालाई कसरी ठूलो खाडलमा खसाउँदै छ, त्यसबारे चर्चा गर्नेछौं।

पुटिनको आर्थिक अपराधलाई बुझ्न वर्तमान विश्व अर्थव्यवस्थाको प्रकृति र स्वरूप बुझ्न आवश्यक रहेकाले आउनुहोस् सर्वप्रथम त्यसलाई बुझौं।

वर्तमान विश्व अर्थव्यवस्था १९ र २०औं शताब्दीको जस्तो छैन। वर्तमान विश्व अर्थव्यवस्थाको प्रकृति एवं स्वरूप भिन्न र विशेष किसिमको छ। वर्तमान विश्व अर्थव्यवस्थामा प्रत्येक राष्ट्र विश्व अर्थव्यवस्थासँग अनिवार्य किसिमले जोडिनुपरेको छ। किन र कसरी?

वर्तमान विश्व अर्थव्यवस्थामा संसारका कुनै पनि राष्ट्रले आफ्नो देशलाई आवश्यक पर्ने सम्पूर्ण वस्तु एवं सेवाहरू उत्पादन आफू स्वयम्ले नै गर्दैन। अमेरिका, जापान, फ्रान्स, जर्मनी जस्ता धनी राष्ट्रहरूले पनि गर्दैनन्।

वर्तमान विश्व अर्थव्यवस्थामा कुनै पनि राष्ट्रले आफ्नो देशमा उत्पादन गर्दा सस्तोमा उत्पादन गर्न सकिने वस्तुहरू मात्र उत्पादन गर्छन् र ती वस्तुहरूलाई महँगोमा बिक्री हुन सक्ने राष्ट्रहरूमा लगेर बिक्री गर्छन्। यसैगरी, कुनै पनि राष्ट्रले आफ्नो देशमा उत्पादन गर्दा महँगोमा उत्पादन हुने वस्तु आफ्नो देशमा उत्पादन गर्दैनन् र त्यो वस्तु अन्य राष्ट्रहरूबाट जहाँ सस्तोमा खरीद गर्न सकिन्छ, त्यहाँबाट सस्तोमा खरीद गर्दछन्। बुझ्न सजिलोको लागि यहाँ एउटा उदाहरण प्रस्तुत गर्दछु। अमेरिकाले संसारभरिमा नै सस्तोमा भटमास उत्पादन गर्दछ र आफ्नो देशमा उत्पादित भटमास महँगोमा विभिन्न राष्ट्रहरूलाई बिक्री गर्छ। खासगरी चीनलाई ठूलो परिमाणमा भटमास बिक्री गर्छ। त्यही अमेरिकाले फेरि ठूलो परिमाणमा तयारी लुगाहरू सस्तोमा चीनबाट खरीद गर्छ। अमेरिकाले आफ्नो देशभित्र ती तयारी लुगाहरू उत्पादन गर्ने हो भने उत्पादन लागत चर्को हुन पुग्छ। त्यस कारण अमेरिकालाई चीनबाट लुगाफाटो आयात गर्नु सस्तो हुन पुग्छ अनि चीनबाट आयात गर्छ।

आफ्नो देशभित्र उत्पादन गर्दा सस्तोमा उत्पादन हुने वस्तुहरू मात्र उत्पादन गर्ने र महँगो हुने वस्तुहरू आयात गर्ने। यसैगरी, आफ्नो देशमा सस्तोमा उत्पादन गर्न सकिएका वस्तुहरू विश्व बजारमा महँगोमा बिक्री गर्ने सामान्य सिद्धान्तमा रहेर अहिले संसारका लगभग सम्पूर्ण राष्ट्रले कार्य गरिरहेका छन्। यो कारणले गर्दा अहिले संसारका प्रत्येक राष्ट्र अन्तर्राष्ट्रिय अर्थव्यवस्थामा आबद्ध हुनुपरेको छ। परिमाणस्वरूप अहिले विश्वका प्रत्येक राष्ट्र अन्य राष्ट्रहरूमा निर्विकल्परूपमा आश्रित हुनुपरेको छ, जर्मनी ऊर्जाका लागि रूसमाथि आश्रित भएझैं। रूसबाट अहिले जर्मनीले ऊर्जा आयात नगर्ने हो भने जर्मनीको व्यापार र उद्योग अति प्रभावित भएर, उत्पादनमा ह्रास आएर, जर्मनीमा ठूलो बेरोजगारी हुने स्थिति उत्पन्न हुन सक्छ। त्यस कारण जर्मनीले नचाहँदा नचाहँदै पनि रूसबाट ऊर्जा आयात गर्नुपर्ने बाध्यात्मक स्थिति छ।

पुटिनले युक्रेनमाथि हमला गरेर व्यापारको क्षेत्रमा रहेका विभिन्न राष्ट्रहरूको अन्तरनिर्भरतालाई नराम्ररी भत्काइदिएको छ। युक्रेनमाथि गरिएको हमलाले विश्वभरिमा तेल (पेट्रोलियम पदार्थ)को मूल्यवृद्धि मात्र गरेको छैन साथै तेलको आपूर्तिलाई अति अनिश्चितसमेत पारिदिएको छ। यो कारणले गर्दा पनि नेपालमा तेलको भाउमा वृद्धि भएको हो र यो युद्ध जारी रहेमा तेलको भाउ झनै आकाशिनेछ। त्यस कारण नेपालमा पेट्रोल, डिजेलको मूल्य बढेकोमा नेपाली जनताले नेपाल सरकारको विरोध गर्नुको साटो रूसी दूतावासमा गएर पुटिनको आर्थिक अपराधको विरोध गरे बेस हुनेछ।

युक्रेनमाथि रूसी आक्रमणले गर्दा अमेरिका जस्तो विश्वको सर्वाधिक धनी राष्ट्रको पनि आर्थिक स्थिति समस्याग्रस्त हुन पुगेको छ। अमेरिकामा चालीस वर्षयता सर्वाधिक मुद्रास्फीति हुन पुगेको छ। अमेरिकामा अहिले विभिन्न उपभोक्ता वस्तुहरूको मूल्य १० देखि १५ प्रतिशतले वृद्धि भएको छ। अमेरिकाले ठूलो परिमाणमा युक्रेनबाट विभिन्न सामग्रीहरू आयात गर्दछ। युक्रेनबाट अमेरिकामा हुने आयात व्यवस्था यो युद्धले गर्दा अनिश्चित हुन पुगेको छ।

युक्रेनले ठूलो परिमाणमा खाद्यान्न युरोपका विभिन्न मुलुकहरूलाई निर्यात गर्दछ। अहिले युक्रेन युद्धरत हुन पुगेकोले उसको निर्यात व्यवस्था नराम्ररी प्रभावित हुन पुगेको छ र परिणामस्वरूप विभिन्न देशहरूमा सामानहरूको अभाव हुन पुगेको छ।

सजिलै सबैले बुझ्न सक्ने किसिमले भन्ने हो भने शान्त रहेको तलाउ (विश्व अर्थव्यवस्था)मा अर्थ न बर्थसँग पुटिनले ठूलो ढुङ्गा प्रहार गरेर हलचल (भताभुङ्ग) उत्पन्न गराइदिएका छन्। विश्व अर्थव्यवस्था अनिश्चित पारिदिएका छन्। र यो अनिश्चितताले गर्दा सर्वाधिक पीडित भने गरीब देशका नागरिकहरू हुनेछन्। गरीब देशका नागरिकहरू कोभिड–१९ को कुप्रभावको चपेटामा त थिए नै, अब पुटिनको दुष्कर्मको चपेटामा पर्नेछन्। संसारभरिका गरीबहरूको आर्थिक स्थिति झनै नाजुक हुनेछ।

संसारभरिका गरीब नागरिकहरूलाई पुटिनले आफ्नो दुष्कर्मले सताएका हुनाले नै यिनलाई आर्थिक अपराधी भन्नुपरेको हो।

धनी राष्ट्रहरूले आफ्ना अन्य विभिन्न स्रोतहरूको प्रयोग गरेर भएपनि आफ्ना देशका नागरिकहरूलाई आर्थिक सहयोग गर्नेछन् तर गरीब देशहरूलाई आफ्ना गरीब नागरिकहरूलाई आर्थिक सहयोग गर्न कठिन हुनेछ । विश्वमा गरीबी झन बढ्नेछ। यो कारणले गर्दा पनि पुटिनलाई आर्थिक अपराध गर्नबाट रोक्न अति आवश्यक छ ।

केवल आफ्नो उच्च महत्वाकाङ्क्षा पूरा गर्नका लागि पुटिनले जस्तोसुकै अपराध गर्न बाँकी राखेका छैनन्। रूसमा नै पनि रूस–युक्रेन युद्धको नराम्रो असर देखिन थालेको छ। रूसको आर्थिक स्थिति पनि सङ्कटग्रस्त हुन थालेको छ। रूस पनि विश्व अर्थव्यवस्थाको एक अङ्ग हो। रूसले ठूलो परिमाणमा विश्वका अनेक राष्ट्रहरूलाई ऊर्जा बिक्री गर्दछ।

रूसको सञ्चारमाध्यम पुटिन नियन्त्रित भएकोले रूसको अर्थतन्त्रमा यो युद्धले पारेको असरको ठीकठीक जानकारी प्राप्त हुन सकेको छैन। तर जानकारहरू भन्छन्– रूसको आर्थिक स्थिति पनि सङ्कटनजीक पुग्दैछ। यो तथ्यको आधारमा पनि, रूसी जनताको लागि पनि, पुटिन एक आर्थिक अपराधी हुन्।


Loading comments...