मध्यराती बालेनको अपिलः “दलगत र स्वतन्त्र भनेर गणनामा किन फरक गर्न खोजिदैछ?”


मतगणनाका क्रममा पाँच जना स्वतन्त्र उम्मेदवारको एकजना प्रतिनिधी भन्ने विषयमा बालेनले मुख खोलेका छन् । लोकतन्त्रको समान जगमा बसेर प्रतिस्पर्धा गराउन सिकाउने पद्धतीका बिच सबै उम्मेदवार बराबर हुन् र सबैका लागि अधिकारको दायरा साझा भन्ने आशय अभिव्यक्त गर्दै यस्तो विभेदपूर्ण कदम चालेर उम्मेदवारको अधिकारसँग खेलवाड नगरियोस् भनेर सचेत गराएका छन् ।

आफ्नो आधिकारीक फेसबुक मार्फत जारी उनको पोष्ट जस्ताको तेस्तै
मतगणना गर्दा पाँच जना स्वतन्त्र उम्मेदवारको एकजना प्रतिनिधी भन्ने कुरा आयो । सबै उम्मेदवार बराबर भनेर लोकतान्त्रिक पद्दतिको निर्वाचन भएको छ । उम्मेदवारी दिने समय होस् वा शुल्क वा प्रक्रिया, कतै पनि पार्टीगत उम्मेदवार र स्वतन्त्र उम्मेदवारको भिन्नता सोचिएको छैन । हरेकलाई हरेकसँग प्रतिष्पर्धी मानिएको छ । हरेकले पाउने प्रत्येक मतको ‘मतभार’ बराबर छ । यस्तोमा दलगत र स्वतन्त्र भनेर गणनामा किन फरक गर्न खोजिदैछ ?

स्वतन्त्रहरु आफैमा फरक फरक विचार, समूह र उम्मेदवार हुन् । उनीहरु आफै बिचमा प्रतिष्पर्धा हुन्छ । यस्तोमा पाँच जना स्वतन्त्र भनेर के आधारमा एकै डालोमा राखिएको हो ? कुन कुन विचारधारा वा सम्बन्धले पाँच जना स्वतन्त्र उम्मेदवारले एकजना मात्रै प्रतिनिधी छान्ने हो ? पाँचजनाले एकजना मात्रै प्रतिनिधिको छनौट गर्ने प्रकिया र बिधि के हो ? आयोगले सो किसिमको चुनावका लागि बनाएको कार्यबिधि कहाँ छ ? पक्कै पनि यसको लोकतान्त्रिक जवाफ छैन ।

यसैले, सामान्य प्राबिधिक कुराहरुमा सम्झौता नगर्न लोकतन्त्रसँग र आफ्नो प्रतिनिधि राख्न पाउने उम्मेदवारको अधिकारसँग खेलवाड नगरियोस् ।

५ जना स्वतन्त्रको एकजना साझा प्रतिनिधी भन्ने कुरा कानुनी, व्यवहारिक र लोकतन्त्रको कसीमा हदैसम्मको अन्यायपुर्ण छ र यो लोकतन्त्रको विरुद्धमा छ । यसले विवादको सिर्जना गरेर मतगणना नै शान्तिपुर्ण हुदैन कि भन्ने शंका उत्पन्न गराउँछ । यसप्रति निर्वाचन आयोग सजग बनोस् । र, हरेक स्वतन्त्र उम्मेदवारलाई पनि आफ्नो प्रतिनिधि मतगणनामा सामेल गर्न दिओस् ।

यसमा निर्वाचन आयोगको ध्यानाकर्षण र तत्काल कार्यान्वयनका लागि अपिल गर्दछु ।


Loading comments...