अमेरिकामा भवन निर्माण: किन सस्तो?


आउनुहोस् यस आलेखमा अमेरिकामा भवन निर्माण उद्योगको प्रकृति कस्तो किसिमको छ त्यसबारे चर्चा गरौं। भवन निर्माण उद्योगको प्रकृति कस्तो किसिमको छ भनी अमेरिकामा आकाश छुने र ठूला–ठूला घरहरू छन् भनी दर्शाउनका लागि गर्न थालिएको होइन। अमेरिकामा कसरी सस्तो घर निर्माण गर्न सकिन्छ त्यसबारे चर्चा गर्न अमेरिकाको भवन निर्माण उद्योगको चर्चा गर्न थालिएको हो।

अमेरिकामा मुख्यगरी आवासीय र व्यापारिक गरी दुई किसिमका भवन निर्माण गरिएको पाइन्छ। यस आलेखमा भने आवासीय भवन र तिनको निर्माण विधिबारे चर्चा गरिने छ।

लेखकः विश्वराज अधिकारी

दक्षिण एशियामा भवनहरू प्रायः आर्थिक समृद्धि एवं गर्व प्रस्तुत गर्नका लागि निर्माण गरिएको हुन्छ। वासको आवश्यकता घर निर्माणको प्रमुख कारण भए तापनि घर निर्माणकर्ताले घरको सजावटलाई आफ्नो इज्जतसँग जोडेको हुन्छ। यो कारणले गर्दा भवन निर्माण गर्नेहरूले घरभित्र अनेक किसिमका भौतिक सुविधा जडान गर्नु, घरलाई स्वस्थकर बनाउनुभन्दा बाहिरबाट हेर्दा अत्यन्तै सुन्दर एवं अन्यभन्दा भिन्न होस् भन्ने कुरालाई बढी प्राथमिकता दिएका हुन्छन्। एउटा उदाहरण प्रस्तुत गरौं। काठमाडौंको स्थिति निकै सान्दर्भिक हुने भएकोले काठमाडौंलाई उदाहरणको रूपमा प्रस्तुत गर्दैछु। काठमाडौं ठण्डा ठाउँ हो। यहाँ घर निमाण गर्दा निर्माण सामग्री यस्तो प्रयोग गर्नुपर्छ जसले घरलाई न्यानो परोस्। अर्थात् घर निर्माणमा काठको प्रयोग बाहिर एवं भित्र गरेमा घर जाडोको समयमा न्यानो हुन्छ। तर काठमाडौंमा घर निर्माण गर्दा सिमेन्ट र मार्बलको यति बढी प्रयोग हुन्छ कि जाडोको समयमा काठमाडौंका घरहरू चीसो हुन पुग्छन्।

घर निर्माणको यस्तै स्थिति तराईतिर पनि देख्न सकिन्छ। तराइमा गर्मीको मौसम लामो कालसम्म रहने गर्दछ। गर्मी लामो समयसम्म रहने हुनाले यहाँ घरहरू शीतल हुन आवश्यक छ। तर स्थिति विपरीत छ। तराईतिर र मुख्य गरी वीरगंज, जनकपुर, विराटनगर जस्ता शहरहरूमा घर निर्माण गर्दा सिमेन्टको प्रयोग बढी मात्रामा हुन्छ जसले गर्दा घर गर्मी याममा झनै गरम हुन्छ। यदि घर निर्माण गर्दा तराईतिर काठको प्रयोग हुने हो भने काठले घरहरू शीतल पार्छ, साथै काठ पुनः नवीकरणीय स्रोत भएकोले पुनःपुनः प्रयोग गर्न सकिन्छ। तर सिमेन्ट पुनः नवीकरणीय स्रोत होइन। सिमेन्ट उत्पादन गर्दा नवीकरण गर्न नसकिने गरी नष्ट गर्नुपर्ने हुन्छ। अर्थात् सिमेन्ट उत्पादन गर्न प्रयोग हुने ढुङ्गा र बालुवा पुनःपुनः उत्पादन गर्न सकिंदैन। त्यति मात्र होइन, खोलाबाट बढी बालुवा र ढुङ्गाको दोहन गर्दा प्राकृतिक सन्तुलन बिग्रेर बाढी पैरौले बस्तीहरूलाई सताउने स्थिति उत्पन्न हुन्छ। यस कुराको पुष्टि चुरे पर्वत शृङ्खला अहिले कुन स्थितिमा छ, त्यसबाट हुन्छ।

अमेरिकामा एउटा घर निर्माण गर्दा त्यो घरलाई बाहिरबाट अति सुन्दर देखाएर त्यसबाट भवन स्वामीले गौरवको अनुभूति गर्ने लक्ष्य राख्नुको सट्टा घरलाई भित्रबाट अनेक सुविधाले युक्त पार्ने प्रयास गरिएको हुन्छ। अमेरिकामा आवासीय घरहरू निर्माण गर्दा घरको बाहिरी रूपले खासै महत्व पाएको हुँदैन। कतिपय आवासीय भवनहरू सलाईका बट्टाजस्ता देखिन्छन्। यसैगरी घरलाई अति स्वस्थकर पार्न अमेरिकमा घर निर्माण गर्दा काठको प्रयोग ठूलो परिमाणमा गरिन्छ। एउटा आवासीय घर निर्माण गर्दा त्यसमा प्रयोग गरिएका निर्माण सामग्रीमध्ये लगभग ८० प्रतिशत काठ हुन्छ। अमेरिकाले ठूलो परिमाणमा काठ उत्पादन गर्छ। अमेरिकी भवन उद्योगले ठूलो परिमाणमा काठ प्रयोग गर्छ।

अमेरिकामा भवन निर्माण तुलनात्मकरूपमा विश्वमैं सस्तो मानिन्छ। अमेरिकामा सुविधा र स्वस्थकर भवन निर्माण महँगो छैन। यो कारणले गर्दा पनि अमरिकामा गरीबहरूले पनि आफैंले घर निर्माण गर्न सकेका छन् वा सुविधायुक्त घरमा बस्न पाउने अवसर प्राप्त गरेका छन्। अमेरिकामा बेघरबारहरूको सङ्ख्या तुलनात्मकरूपमा कम छ। अर्थात् अमेरिकामा झोपडपट्टी छैन बराबर छ। भारतको धारावीलाई संसारको नै सर्वाधिक ठूलो जनसङ्ख्या बसोवास गर्ने झोपडपट्टीको रूपमा लिने गरिन्छ। भारतको महाराष्ट्र राज्यको मुम्बईस्थित धारावी झुपडपट्टी (स्थापना सन् १८८२) को क्षेत्रफल केवल २.१ स्क्वायर किलोमिटर रहेको छ तर त्यति सानो ठाउँमा करिब १० लाख मानिसको बसोवास छ। तर अमेरिकामा त्यस्तो स्थिति छैन।

यहाँ प्रश्न उठ्छ, अमेरिकामा भवन निर्माण तुलनात्मक किसिमले कसरी सस्तो भएको होला? आउनुहोस् यस प्रश्नको उत्तर खोजौं।

अमेरिकामा भवन निर्माणमा स्तरीकरण वा प्रमाणीकरण (Standardization) को व्यापक प्रयोग हुन्छ। प्रमाणीकरणको अर्थ हो, हरेक वस्तुको आफ्नो निश्चित तोकिएको आकार, रङ्ग, डिजाइन हुनु। जस्तै जुत्ता उत्पादन गर्दा उत्पादकले जुत्ता लगाउने व्यक्तिको खुट्टाको आकार अनुसार जुत्तामा नम्बर राखेको हुन्छ। जस्तै ३ देखि १२ वा सो भन्दा बढी नम्बरका जुत्ताहरू हुनु।

अमेरिकामा आवासीय घरहरूको छाना निर्माणमा प्रयोग हुने प्लास्टिकको वस्तुको आकार समान हुन्छ। जसले पनि घर निर्माण गर्दा त्यही आकारको प्लास्टिकको छाना प्रयोग गर्छ। सबैले समान किसिमको वस्तु घरको छाना निर्माणमा प्रयोग गर्ने भएकोले कहिले काहीं आवसीय स्थानहरूमा आफ्नो घर कुन हो छुट्याउन पनि कठिन हुन्छ। बाहिरबाट हेर्दा सबै घर एकै किसिमका देखिने हुन्छन्। प्रायः सबै घरहरूमा प्रयोग हुने झ्यालको आकार पनि एउटै किसिमको हुन्छ। पर्दाको साइज पनि लगभग एकै प्रकारको हुन्छ। भान्सामा प्रयोग हुने ग्याँस वा बिजुलीको चुल्होको आकार पनि एउटै हुन्छ। यसैगरी माइक्रो वेभ चुल्होहरूको आकार पनि एउटै हुन्छ। घर निर्माणमा प्रयोग हुने विभिन्न सामग्रीहरू एउटै नाप वा प्रमापमा उत्पादन गर्ने भनी उत्पादकहरू माझ एक किसिमको समझदारी बनेको हुन्छ। भवन निर्माणमा प्रयोग हुने अनेक सामग्री भए तापनि तिनीहरूलाई एउटा तोकिएको आकार, रंग, डिजाइनमा उत्पादन गर्ने एक किसिमको प्रचलनद्वारा सहमति भएको हुनाले सबै उत्पादकहरूले त्यसै अनुरूप भवन निर्माणका लागि आवश्यक सामग्री उत्पादन गर्छन्। र यसले गर्दा ती सामग्री उत्पादन गर्न उत्पादकहरूलाई उत्पादन लागत कम पर्न जान्छ। अर्थात् उत्पादन गर्दा समान आकार, रंग आदि प्रयोग गरिएकोले सामग्री उत्पादन लागत कम हुन पुग्छ। र यसरी भवन निर्माण कम्पनीहरूले सस्तोमा (उत्पादन लागत सस्तो भएकोले) निर्माण सामग्री खरीद गर्न पाएकोले सस्तोमा घर निर्माण गर्न सक्छन् र क्रेताहरूलाई पनि सस्तोमा उपलब्ध गराउन सक्छन्।

अमेरिकामा आवासीय भवन निर्माणमा प्रमाणिकरणको व्यापक मात्रामा प्रयोग हुन्छ र यो कारणले गर्दा नै तुलनात्मकरूपमा विश्वमा नै भवन निर्माण (सुविधायुक्त– गरममा शीतल र जाडोमा न्यानो) सस्तो हुन पुगेको हो। अमेरिकामा जस्तोसुकै आवासीय भवन (सानो वा ठूलो) मा पनि समान किसिमका यन्त्र एवं उपकरणहरू घरलाई तातो वा चीसो पार्नका लागि प्रयोग गरिएको हुन्छ। यसरी समान किसिम (आकार, प्रविधि, स्वरूप आदि) का उपकरण एवं यन्त्रहरूको प्रयोग गरिने भएकोले र ती सबै ठाउँ (कारखाना) हरूमा एकै किसिमले उत्पादन हुने भएकाले तिनको उत्पादन लागत कम हुन आउँछ।

नेपाल वा दक्षिण एशियामा भने भवन निर्माणको स्थिति पृथक छ। दक्षिण एशियामा भवन निर्माण गर्दा आफ्नो इच्छा अनुसार फरक–फरक किसिमको निर्माण सामग्री र फरक–फरक प्रमाप प्रयोग गरिने हुँदा निर्माण लागत बेपत्ता महँगो हुन्छ। यसले गर्दा पनि दक्षिण एशियामा अनेक सुविधायुक्त घर बनाउनु गरीबका लागि सुनौलो सपना मात्र हुन्छ।

अमेरिकामा भवन निर्माण सस्तो हुनुको अर्को महत्वपूर्ण कारण भवन निर्माण कार्य पेशेवर व्यक्ति वा संस्था (ज्यmभ दगष्मिभचक) द्वारा हुनु हो। पेशेवर व्यक्तिमा भवन निमार्णसम्बन्धी वर्षौंको अनुभव हुन्छ र यो अनुभवले उनीहरूलाई सस्तोमा घर निर्माण गर्न सहयोग गर्छ। भवन निर्माण गर्ने पेशेवर व्यक्ति वा संस्थाहरूको प्रमुख कार्य नै कसरी सस्तोमा सुविधायुक्त घरहरू निर्माण गर्न सकिन्छ भन्ने अनेक उपाय पत्ता लगाउनु हो।

नेपालमा घर निर्माण गर्न पेशेवर व्यक्तिहरूको सहयोग लिने परिपाटी नभएको र घरधनी स्वयं घर निर्माणमा सक्रिय हुनुपरेकोले पनि भवन निर्माण महँगो हुन पुगेको हो।

अमेरिकामा घरधनी स्वयंले, घर निर्माण गर्दैन। उसले पेशेवार कम्पनीहरूले निर्माण गरिदिएको घर खरीद गर्छ। अर्थात् अमेरिकामा घर वस्तुसरह खरीद–बिक्री हुन्छ। पलङ्ग वा टेबल खरीद गरिएझैं घर खरीद गरिन्छ। आफ्नो आवश्यकता अनुसार रोजेर घर खरीद गर्ने कार्य उपभोक्ताहरूबाट हुन्छ।

गरीबीबाट मुक्ति पाउने धेरै उपायहरू हामीले अमेरिकाको अनुभवहरूबाट सिक्न सक्छौं। र सिक्नु हाम्रो लागि हितकर पनि हुन्छ। धनी र विकसित मुलुकहरूबाट हामीले सिक्नुपर्ने कुराहरू धेरै छन्। उत्पादन लागत कसरी कम पार्न सकिन्छ भन्ने हामीले धेरै कुरा सिक्न बाँकी छ।


Loading comments...