काठमाडौं महानगरको विकास र समृद्धिका लागि सहकार्य, सहमति र सहअस्तित्वको सिद्धान्त संगै अघि बढौंः नवनिर्वाचित उपमेयर डंगोल


स्थानीय तह निर्वाचन २०७९ मा ६८ हजार ६१२ मत प्राप्त गरेर भारी मतान्तरले उपमेयरमा बिजयी भएकी नेकपा एमालेकी सुनिता डंगोलले मतदाता, प्रतिद्वन्द्विलाई सम्बोधन गर्दै बिकास, सहकार्य, सहमति तथा सहअस्तित्वको सिद्धान्त अनुसार अघि बढ्न अपिल गर्दै धन्यवाद ज्ञापन गरेकी छिन् । डंगोलले आफ्नो निकटतम प्रतिद्वन्द्वि नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठलाई पराजित गरेकी हुन् श्रेष्ठले २३ हजार ८०६ मत प्राप्त गरेका थिए ।

जारी धन्यवाद ज्ञापनको पुरा पाठः
‘स्थानीय तह निर्वाचन २०७९’ यहि बैशाख ३० गते निकै उत्साहका साथ सम्पन्न भएको छ । मुलुकको संघीय राजधानी समेत रहेको सबै भन्दा ठूलो र पुरानो महानगरपालिका ‘काठमाडौं महानगरपालिका’ को पनि अन्तिम परिणाम प्राप्त भैसकेको छ । साँस्कृतिक सहरको परिचय बनाएको यो काठमाडौं महानगरपालिकामा सवै जिल्लाका नागरिक बसोवास गर्ने भएकाले पनि अन्य पालिकाको तुलनामा यो पालिका थप विशिष्ट छ। हो, मैले यहि विशिष्ट पहिचान बनाएको महानगर ‘काठमाडौं महानगरपालिका’बाट उपमेयर पदको उम्मेदवार बन्ने सुनौलो अवसर प्राप्त गरेकी थिएँ । पार्टी र संगठनमा लामो योगदान गर्नुभएका, काठमाडौंको थप विकास र समृद्धिको आकाक्षा राख्नु भएका, यस सहरलाई सांस्कृतिक सहरका रुपमा विकास भएको हेर्न चाहनुभएका, अनुभवी र अग्रज व्यक्तित्वहरुले समेत मेरो उम्मेदवारीलाई सहजरुपमा स्वीकार गर्दै मलाई जितका लागि दिएको हौसला र प्रेरणालाई मैले कृतज्ञताका साथ ग्रहण गरेकी छु ।

मैले मेरो जितमा उत्साहित हुने भन्दा पनि तपाईंहरुले ममाथि गरेको परीक्षामा सफल हुनै पर्ने महत्वपूर्ण जिम्मेवारी प्राप्त भएको अनुभूति बढी गरेकी छु । तपाईंहरुले मलाई विश्वास गरेर हरेक मतपेटिकामा खसालेका मतपत्रलाई मैले मेरो पाँच वर्षे कार्यकालका लागि दिएको कार्यभारका रुपमा ग्रहण गरेकी छु । म मेरो कार्यकालमा तपाईंहरुले दिनुभएका कार्यभारहरु इमान्दारिताका साथ कर्तव्यनिष्ठभई पूरागर्न लागि पर्नेछु।

युवाप्रति अथाह भरोसा गरेर काठमाडौं जस्तो महत्वपूर्ण महानगरपालिकामा काठमाडौँ महानगरवासी मतदाताले मलाई विजयी गराउनुभएको छ। त्यसैले यो तपाईंहरुको विश्वासलाई शीरमा राख्दै शासक होइन सेवक भएर काम गर्ने प्रण पनि व्यक्त गर्न चाहन्छु।

निर्वाचनपछि मतगणना सम्पन्न भई परिणाम प्राप्त भएसँगै जित-हारको मनोविज्ञानलाई त्यहि अन्त्य गर्न म यहि अपिल मार्फत सबैमा आग्रह गर्दछु। जित-हारको मनोविज्ञानलाई त्यागेर अब काठमाडौं महानगरको विकास र समृद्धिका लागि सहकार्य, सहमति र सहअस्तित्वको सिद्धान्तलाई अघि बढाउने प्रण पनि व्यक्त गर्न चाहन्छु । साथै निर्वाचित सवै जनप्रतिनिधिहरु पनि तत् अनुरुप अघि बढौं भन्ने पनि अनुरोध गर्न चाहन्छु। काठमाडौंको विकास र समृद्धिका लागि म कुनै पनि ठाउँमा बाधक बन्ने छैन । र निर्वाचनमा मैले जनतासामु गरेका प्रतिवद्धताहरु पूरा गर्नका लागि पनि सम्बन्धित सवैले सहकार्य, सहमतिर सहअस्तित्वको सिद्धान्तलाई पालना गरी सबै मिलेर यो काठमाडौं महानगरलाई साँचिकै स्वच्छ, सुन्दर,जीवन्त, व्यवस्थित र सांकृतिक नगरका रुपमा थप विकास गर्न दत्तचित्त भई लागि परौं भन्ने पनि आह्वान गर्न चाहन्छु।


Loading comments...