फौद सिंह जनता माध्यमिक विद्यालयको दुई तल्ले भवनको संयुक्त उद्घाटन


भारत सरकारको अनुदान सहयोगमा निर्माण भएको श्रीफौद सिंह जनता मावि, लालबन्दी नगरपालिका–१७, रानीगञ्ज, सर्लाही जिल्लाको दुईतले भवनको उद्घाटन सम्पन्न भएको छ ।

मधेस प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साह (सुडी) तथा भारतीय महावाणिज्यदूत नितेश कुमार ज्यू द्वारा ११ जुन २०२२ को दिन श्री फौद सिंह जनता माध्यमिक विद्यालयको दुई तल्ले भवनको संयुक्त रूपमा उद्घाटन गरियो। उक्त विधालय भवन शिक्षा क्षेत्रमा भारतको अनुदान सहयोग कार्यक्रम अन्तर्गत निमार्ण गरिएको हो । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, पदाधिकारी, रानीगञ्जका जनता लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

७.८३ मिलियन लागतमा निर्माण भएको उक्त परियोजना भारतको स्वतन्त्रताको ७५ वर्ष मनाउने “आजादी का अमृत महोत्सव (India@75)” अन्तर्गत नेपालमा यस वर्ष उद्घाटन गरिने ७५ परियोजनाहरू मध्ये एक हो। नयाँ विद्यालय भवनले ग्रामीण क्षेत्रमा शिक्षाको वातावरण सिर्जना गर्नुका साथै सर्लाही जिल्लामा शिक्षाको विकासमा टेवा पुर्याउने छ ।

‘नेपाल–भारत विकास सहयोग’ अन्तर्गत भारत सरकारको अनुदान पन्ध्र वटा कक्षा कोठा, दुईवटा सिँढी र सरसफाइ सुविधा सहितको दुई तल्ले विद्यालय भवन निर्माणमा प्रयोग गरिएको हो ।

सन् २००३ देखि, भारतले नेपालमा ५२७ उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू (एचआईसीडीपीहरू) लिएको छ र सातवटै प्रदेशहरूकै तल्लो तहमा स्वास्थ्य, शिक्षा, खानेपानी, पहुँच, सरसफाइ र अन्य सार्वजनिक सुविधाहरूको निर्माणको क्षेत्रमा ४७१ परियोजनाहरू पूरा गरेको छ। तीमध्ये २० आयोजनाहरू सर्लाही जिल्लामा छन् । यी बाहेक भारत सरकारले विभिन्न स्वास्थ्य चौकी/एनजीओहरुलाई ३१ वटा एम्बुलेन्स र सर्लाही जिल्लामा एउटा स्कुल बस उपहार दिएको छ ।

यो परियोजना भारत र नेपाल बीचको विविध क्षेत्रहरूमा बहुआयामिक, बलियो र दृढ विकास साझेदारीको प्रमाण हो।

निकट छिमेकीको रूपमा, भारत र नेपालले व्यापक र बहु-क्षेत्रीय सहयोग साझा गर्दछ। यस परियोजनाको कार्यान्वयनले नेपाल सरकारसँग नेपालको सामाजिक-आर्थिक विकास र यसको भौतिक पुर्वाधार, विशेष गरी शिक्षा क्षेत्रको विकासमा सहयोग जारी राख्ने भारत सरकारको निरन्तर प्रतिबद्धतालाई झल्काउँछ।


Loading comments...