भारत सरकारद्वारा ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहार प्रदान


भारत सरकारको अनुदान सहयोग अन्तर्गत नेपालका विविध हितग्राही संस्थाहरुलाई ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहार प्रदान गरिएको छ ।

नेपालका विभिन्न जिल्लामा अवस्थित विशेष गरी स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न सरकारी, गैरसरकारी तथा गैर नाफामूलक संस्थाहरुलाई काठमाडौंस्थित भारतीय राजदूतावासले आज एक कार्यक्रमबीच ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहारस्वरुप प्रदान गर्यो । नेपाल सरकारका माननीय शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलको समुपस्थितिमा भारतीय राजदूत महामहिम नवीन श्रीवास्तवले यी संस्थाहरुलाई चाबी प्रदान गर्नुभयो ।

यी एम्बुलेन्स र बस हस्तान्तरण कार्यक्रम भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको “India@75 आजादीका अमृत महोत्सव” कै एक हिस्साको रुपमा रहेको छ ।

भारतीय राजदूतले स्वास्थ्य र शिक्षा क्षेत्रमा पूर्वाधार पक्षलाई सुदृढ गर्ने नेपाल सरकारको प्रयासलाई टेवा पुर्र्याउन नेपाल–भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत यस्ता किसिमका सहयोग लामो समयदेखि चलिआएको परम्पराको रुपमा रहेको बताउनुभयो । यो सदियौं पुरानो इतिहास र विरासत बोकेको, भौगोलिक रुपमा नेपालभर फैलिएको, जनजीवनलाई प्रभावित पार्नेे र नेपालको विकास यात्रामा मूर्त प्रगति ल्याउने भारत र नेपालबीच रहेको अत्यन्त मजबुत विकास साझेदारीको एक हिस्साको रुपमा रहेको वहाँले बताउनुभयो ।

भारत सरकारको सहयोगमा नेपालमा सञ्चालित विभिन्न विकास परियोजनाको मन्त्री पौडेलले प्रशंसा गर्नुका साथै यस्ता परियोजनाले जनता–जनताबीचको सम्पर्क र दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई सदैव बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो ।

सन् १९९४ यता नेपालका विविध जिल्लामा अवस्थित विभिन्न हितग्राही संस्थाहरुलाई ९४० वटा एम्बुलेन्स र १८४ वटा विद्यालय बस उपहारस्वरुप प्रदान गरिएको छ । यसले स्वास्थ्य र शिक्षा सुविधाहरुलाई सुदृढ गर्ने र यस्ता सेवाहरुमा मानिसहरुको पहुँच विस्तार गर्ने नेपाल सरकारको प्रयासमा भारत सरकारको सहयोग सदैव रहने जनाउँदछ ।


Loading comments...