रोहिंग्यालाई देश निकाला गर्न माग राख्दै वीरगञ्जमा प्रदर्शन


असार १९, वीरगंज । विश्व हिन्दू परिषद् नेपाल, पर्सा निकट युवाहरुद्वारा पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिकामा विरोध प्रदर्शन गरिएको छ । रोहिंग्या मुस्लिमलाई नेपाल प्रवेश गराउने एवं शरण दिनेविरुद्ध आइतवार बेलुका ४ बजे आयोजित उक्त विरोध र्‍याली माईस्थानबाट शुरु भई दुई नम्बर रोड, मिना बजार हुँदै घण्टाघरमा पुगेर कोणसभामा परिणत भएको थियो ।

र्‍यालीमा सहभागी युवाहरुले रोहिंग्या मुस्लिमलाई देश निकाला गर, रोहिंग्या मुस्लिम भगाऔं देश बचाऔं, रोहिंग्या मुस्लिमलाई नेपाल प्रवेश गराउनेलाई कारवाही गर जस्ता चर्को नारा लगाएका थिए ।

मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले रोहिंग्याहरुलाई नेपाल प्रवेशमा सहयोग गरेको भन्दै मियाँको पुतला दहन गर्दै मुस्लिम आयोग खारेजीको माग समेत गरेका थिए । साथै मदरसा शिक्षालाई बढावा दिई प्रदेशमा कट्टरपन्थी उत्पादनमा सहयोग गरेको भन्दै मधेश प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबाबु राउतको समेत पुतला दहन गरिएको थियो ।

विश्व हिन्दू परिषद् नेपालद्वारा जारी प्रेस विज्ञप्तीमा लेखिएको छ, “बिगत केहि बर्ष देखि हाम्रो देशमा रोहिंगिया मुस्लिमको घुसपैठ ह्वात्तै बढेको छ र उनीहरु आज हाम्रो देशमा आन्दोलनको स्वरूप पनि बनाउन सफल भएका छन् समिम अन्सारीको ग्र्यान्ड डिजाइनमा रोहिंगीया मुस्लिम बसाउने र मधेश प्रदेशमा मदरसा शिक्षा बिधेयक ल्याउने षडयंत्र चल्दैछ र यो सबै गतिबिधिले हामि नेपालीको मौलिक संस्कार संस्कृति मास्ने खेल हुँदैछ, तसर्थ हामी सम्पूर्ण हिन्दु दाजुभाई तथा दिदीबहिनीहरु सबै मिली आवाज उठाउने बेला आएको र सो बिषय राखि बिरोध कार्यक्रम गर्ने निर्णय भएको हो ।”

परिषदले देशैभरिका जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री एवं गृहमन्त्रीलाई रोहिंग्या एवं मुस्लिम संगठनहरुको शंकास्पद गतिविधि सन्दर्भमा ध्यानाकर्षण गराउँदै ज्ञापन पत्र समेत बुझाएको छ ।


तस्वीरहरुः विश्व हिन्दू परिषद् नेपाल


Loading comments...