किन ह्रास हुँदैछ नेपाली नोटको क्रयशक्ति?


हाम्रा बजारहरूमा पच्चीस पैसा, पचास पैसा, एक रुपियाँका सिक्का देखिन छाडेको वर्षौं भयो। यसैगरी एक र दुईका कागजी नोट बजारमा देखिंदैन। यस्तो किन भएको होला? यो प्रश्नको उत्तर ज्यादै सरल छ। मुद्राका यी साना एकाइको बजारमा क्रय शक्ति नभएको हुनाले बजारबाट हराएका हुन्। सिक्काको त कुरा छाडौं, कागजी नोटहरू– एक र दुई रुपियाँको पनि स्वतन्त्र क्रयशक्ति छैन। यी नोटले बजारमा कुनै सामान खरीद गर्न सकिंदैन। पाँच रुपियाँको नोटको पनि यही अवस्था छ। यो नोटको उपस्थिति बजारमा छ, तर यो नोटले पनि आफ्नो स्वतन्त्र क्रय शक्ति गुमाएको छ। यो नोटले पनि कुनै सामान खरीद गर्न सकिंदैन। अर्को शब्दमा भन्ने हो हाम्रो देशमा महँगी यति बढेको छ कि पाँच रुपियाँले कुनै पनि सामान खरीद गर्न सकिंदैन। दस रुपियाँको नोटको पनि ज्यादै सीमित क्रयशक्ति छ। यो नोटले केही सीमित वस्तु मात्र खरीद गर्न सकिन्छ। पाँच र दस रुपियाँका नोट जोडेर, पन्द्र रुपियाँ पुगेको स्थितिमा मात्र प्रायः कम मूल्यको सामान खरीद गर्न सकिन्छ। महँगी यतिसम्म बढेको छ कि खेती नगरेर आफै उम्रेको साग खरीद गर्दा पनि एक मुठ्ठाका लागि बीस रुपियाँ वा सोभन्दा बढी मूल्य भुक्तान गर्नुपर्छ।

बजारमा बीस, पचास, एक सय, पाँच सय रुपियाँका नोटहरूको पनि क्रय शक्ति बलियो छैन। केवल एक हजारको नोटको क्रयशक्ति बलियो रहेको देखिन्छ। यो कारणले होला बजारमा एक हजार रुपियाँको नोट बढी देखा पर्छ। एक हजारको नोटले मात्र बजारमा स्वतन्त्र र बलियो क्रयशक्ति कायम राखेको छ। कुनै बिरामीले एक महीनाको लागि कुनै एउटा औषधी खरीद गर्न एक हजार रुपियाँसम्म खर्च गर्नुपर्ने स्थिति छ। अर्थात् एक हजारको नोटले मात्र धेरै कुरा स्वतन्त्ररूपमा खरीद गर्न सक्ने क्षमता राख्दछ।

नोटहरूको क्रयशक्ति किन कमजोर भएको होला?
यो प्रश्नको उत्तर ज्यादै सरल छ। स्वदेशमा सामानको उत्पादन कम भएर स्थानीय बजारमा वस्तुको आपूर्ति यथेष्ट मात्रामा हुन नसकेको हुनाले हाम्रा नोटहरूको क्रम शक्ति कमजोर भएको हो। हामी नेपालमा ज्यादै सीमित मात्रामा वस्तु उत्पादन गर्छौं तर उपभोग भने ज्यादै ठूलो मात्रामा गर्छौं। यसैगरी थरीथरीका वस्तुको उपभोग गर्छौ तर सीमित वस्तु मात्र उत्पादन गर्छौं। हामीलाई सियोदेखि हवाईजहाजसम्मको आवश्यकता छ तर न सियो नै उत्पादन गर्न सक्छौं, न हवाइजहाज नै। हवाइजहाज त टाढाको कुरा हो, दैनिक आवश्यकताका लागि ठूलो सङ्ख्यामा चाहिने साइकल, मोटरसाइकल, कार, ट्रक पनि नेपालमा नै उत्पादन गर्न सकेका छैनौं।

राष्ट्रिय उत्पादनको स्थिति यस्तै रहने हो भने नेपाली बजारमा पचास र एक सय रुपियाँका नोटहरूले पनि क्रयशक्ति गुमाउने छन्। नेपाल राष्ट्र बैंकले पाँच र दश रुपियाँका नोट छाप्न बन्द गरेर पाँच हजार रुपियाँका नोटहरू छाप्नुपर्ने स्थिति आउन सक्छ।

लेखकः विश्वराज अधिकारी

तीन तहका सरकारहरू– स्थानीय, प्रान्तीय र सङ्घीय सरकारहरूले कृषि र उद्योगसम्बन्धी नयाँ एवं प्रभावकारी नीति अति शीघ्र नल्याउने हो भने नेपालमा महँगीले आकाश छुनेछ। कमजोर र सामान्य आम्दानी हुनेहरूको आर्थिक जीवन झनै कठिन हुनेछ। ठूलो सङ्ख्यामा नेपाली युवा रोजगारको लागि विदेश पलायन गर्नेछन्।

नेपालले छिटै आर्थिक सुधारका कार्यक्रमहरू नल्याउने हो भने नेपालको स्थिति पनि कुनै समयको जिम्बाब्वेजस्तो हुनेछ। तानाशाह रोबर्ट मुगाबीको पालामा, केही वर्ष पहिले, जिम्बाब्वेमा त्यहाँका नोटहरूको क्रयशक्ति यसरी ह्रास भएको थियो कि त्यहाँको केन्द्रीय बैंकले एक ट्रिलियन डलरको नोट छाप्नुपरेको थियो। र अचम्म! त्यो एक ट्रिलियन डलरको बजार मूल्य एक अमेरिकी डलर भन्दा पनि कम थियो। बजारमा त्यहाँको मुद्राको क्रयशक्ति एकातिर अति क्षीण भएको थियो भने मुद्रास्फीतिले आकाश छोएको थियो। बजारमा समान खरीद गर्न उपभोक्ताहरूले झोलामा पैसा बोकेर जानुपर्ने स्थिति थियो। मुगाबीको अदूरदर्शी अर्थनीति र सत्तामोहले जिम्बाब्वेको अर्थ व्यवस्थाको टाउको भुइँमा र खुट्टा माथि पुर्याएको थियो। नेपालको विभिन्न दलको संयुक्त सरकारले नेपालको अर्थ व्यवस्था टाट पल्टिने स्थितिमा पुर्याउने आशङ्का बढेर गएको छ। नेपालको शक्ति र सत्ता केवल आफ्नो वरिपरि मात्र घुमाउन खोज्ने पुष्पकमल दहाल र माधव नेपाल तथा प्रधानमन्त्रीको पद कहिले नछाड्ने प्रवृत्तिका शेरबहादुर देउवाले नेपालको अर्थतन्त्रबारे गहिरिए नसोच्ने हो भने नेपालको आर्थिक स्थिति पनि जिम्बाब्वे जस्तो हुनेछ। नेपालको आर्थिक स्थिति जिम्बाब्वेको जस्तो हुन नदिन यी तीन व्यक्तिले नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयमा आफ्ना होइन योग्य व्यक्तिहरू लग्नुपर्छ। हाम्रो होइन, राम्रो मान्छे छान्नुपर्छ।

बढ्दो महँगी र मुद्रास्फीतिलाई कसरी नियन्त्रण गर्ने?
बढ्दो महँगी नियन्त्रण गर्नुको विकल्प छैन। यो एउटा ठूलो एवं अति गम्भीर समस्या हो। तर यो समाधानविहीन समस्या भने होइन। विभिन्न किसिमका योजना एवं नीतिहरू निर्माण गरेर यो समस्या समाधान गर्न सकिन्छ। पूर्णरूपमा समाधान गर्न नसकिए पनि यसका कुप्रभावहरूलाई निकै कम पार्न सकिन्छ।

महँगी नियन्त्रण गर्न पहिलो गर्नुपर्ने कार्य कृषि एवं औद्योगिक उत्पादनमा वृद्धि हो। यी दुईमध्ये पनि कृषि उत्पादनमा वृद्धि आवश्यक छ। हामीले कृषि उत्पादनमा वृद्धि गर्नुका साथै उत्पादित वस्तुहरू लामो समयसम्म भण्डार गर्न सक्ने क्षमता पनि वृद्धि गर्न आवश्यक छ। कृषि उत्पादनहरू संरक्षण गर्नका लागि हामीले शीतभण्डार निर्माणमा जोड दिन आवश्यक छ।

हाम्रा स्रोत एवं साधनले भ्याएसम्म प्रत्येक गाउँमा नभ्याए, प्रत्येक पालिकामा एउटा मात्र पनि ठूलो क्षमताको शीतभण्डार निर्माण गर्न सके, अनेक कृषि उत्पादन, जस्तै–मासु, माछा, अन्डा, फलफूल, तरकारी, साग आदि लामो समयसम्म भण्डार गर्न सक्छौं। अहिले अव्यवस्थित किसिमले तर राम्रो परिमाणमा गाउँघरतिर मासु, माछा, तरकारी आदि उत्पादन हुन्छ। तर यी उत्पादनलाई लामो समयसम्म राख्न नसकिएको कारणले गर्दा आपूर्तिमा वृद्धि गर्न सकिएको छैन। हामीले यथेष्ट मात्रामा शीतभण्डार निर्माण गर्न सके कृषि उत्पादनलाई लामो समयसम्म सुरक्षित राखेर आपूर्ति व्यवस्था नियमित पार्न सक्छौं। पालिकाहरूले आफ्नो लगानीमा शीतभण्डार निर्माण गर्न आवश्यक छ।

निम्न आय भएका कृषकहरूले अहिले खासगरी ग्रामीण क्षेत्रमा र त्यो पनि तराईमा, ठूलो सङ्ख्यामा बाख्रा, हाँस, कुखुरा, माछा आदि पालन गरेको देख्न सकिन्छ। उनीहरूको यी उत्पादनहरूलाई व्यवस्थित गरेर अन्नमाथिको ठूलो निर्भरता घटाउन सकिन्छ। यस्तो गरेर एकातिर अन्नको विकल्पको विकास गर्न सकिन्छ भने अर्कोतिर माछामासुको आपूर्तिमा व्यापक वृद्धि गर्न सकिन्छ। र यसरी गरेर पनि वर्तमानको मूल्य वृद्धि समस्या कम पार्न सकिन्छ।

माथि केवल कृषि उत्पादनमा वृद्धि गर्ने कुरा उल्लेख गरिएको छ । तर यस्ता अनेक कार्य गरेर, बजारमा नेपाली वस्तुहरूको आपूर्तिमा वृद्धि ल्याएर, मूल्य वृद्धि समस्या कम पार्न सकिन्छ। साथै हाम्रा नोटहरूको क्रयशक्तिमा वृद्धि पनि गर्न सकिन्छ।

अमेरिका र युरोपका देशहरूमा मुद्राको सबैभन्दा सानो एकाइ, जस्तै–एक डलर, एक पौण्ड, एक युरो आदिले पनि राम्रो क्रयशक्ति बोकेको हुन्छ। अर्थात् एक डलरमा पनि सामान खरीद गर्न सकिन्छ। एक डलर मात्रमा पनि अमेरिकी बजारहरूमा अनेक सामान खरीद गर्न सकिन्छ। तर नेपालमा हाम्रो मुद्राको सबैभन्दा सानो एकाइ एक रुपियाँले केही पनि खरीद गर्न सकिंदैन। एक रुपियाँले कुनै पनि सामान खरीद गर्ने विनिमय क्षमता राख्दैन। त्यति मात्र हो र! एक रुपियाँको नोट प्रचलनमैं छैन। बजारबाट उहिल्यै बिदा भइसक्यो। हाम्रो कमजोर अर्थतन्त्रले एक रुपियाँको नोटलाई उहिल्यै बिदा गरिसक्यो।

हाम्रो बजारमा, हाम्रो एक रुपियाँको नोटले अहिले केही खरीद गर्न नसक्नुले मात्र पनि हाम्रो अर्थ व्यवस्था कतिसम्म कमजोर छ भन्ने कुराको परिचय दिन्छ। र हामी यस्तो आर्थिक स्थितिमा पुगेको हाम्रा नेताहरूको सत्ता मोहले गर्दा हो। उनीहरूको स्वार्थले गर्दा हो।


Loading comments...