काठमाडौंमा राष्ट्रिय युवा सम्मेलन सुरू, युवा राजनीतिमा नआए परिवर्तन असम्भव – राष्ट्रिय सभा अध्यक्ष तिमल्सिना


काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष सम्मननीय गणेश प्रसाद तिमल्सिनाले देशको राजनीतिमा युवाको हस्तक्षेपकारी भुमिका भएमात्र परिवर्तन सम्भव हुने बताउनुभएको छ । अन्तराष्ट्रिय युवा दिवसको अवसरमा नेपाल युवा परिषदको आयोजनामा काठमाडौंमा जारी तीन दिवसीय आवासीय युवा सम्मेलनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै तिमल्सिनाले देशको राजनीतिक परिवर्तनमा युवाहरुको ऐतिहासिक भुमिकालाई स्मरण गर्दै अब युवाले राजनीतिलाई घृणा गर्नु नपर्नेमा जोड दिनुभयो । उनले नेतालाई घृणा गर्न सकिन्छ तर राजनीतिलाई घृणा गर्न सकिन्न, त्यसैले राजनीतिको विभिन्न आयामका सम्बन्धमा अब युवाहरुको अर्थपूर्ण चासो अपेक्षित रहेको विचार प्रकट गर्नुभयो । देशमा राजनीतिक परिवर्तन सम्पन्न भइसकेकोले अब युवाहरुको निर्णायक भुमिका राज्यको आर्थिक परिवर्तनतर्फ उन्मुख हुनुपर्ने उनको दृष्टिकोण थियो ।


अध्यक्ष तिमल्सिनाले मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा युवा बढीभन्दा बढि सङ्ख्यामा उम्मेदवारको रुपमा आउनुपर्नेमा आफु विस्वस्त रहेको बताउनुभयो । अहिलेको देशको परिवेशप्रति दुख प्रकट गर्दै हालका नेतृत्वबाट राज्यले निकास नपाउने भएकोले राज्यमा विधिको शासन, विकास र न्यायको प्राप्तिको लागि युवा नआएसम्म सम्भव नहुने दावी गर्नुभयो । वर्तमान अवस्थामा युवाको सम्बन्धमा राज्यको नेतृत्व पूर्णरुपमा विफल रहेको निष्कर्ष निकाल्दै त्यसप्रति आफु ज्यादै चिन्तितसमेत रहेको बताउनुभयो ।

फरक प्रसंगमा बोल्दै, अध्यक्ष तिमल्सिनाले राजनीतिमा स्वतन्त्रको लहर चल्नु बहुदलीय लोकतान्त्रिक व्यवस्थाको विकल्प हुन नसक्ने बताउनुभयो । काठमाडौंको मेयरले हाल भोगीरहेको समस्यातर्फ इंगित गर्दै राजनीतिक विचारविना स्वतन्त्रबाट मात्र अपेक्षा गर्न नसकिने उनको धारणा थियो । कुनै पनि राजनीतिक शक्ति निर्माण र सत्ता सञ्चालनको लागि राजनीतिक दलबिना कल्पना गर्न नसकिने उनको दावी रहेको थियो ।

कार्यक्रमका सभापति परिषदका अध्यक्ष सरोज बानियाँले सन् २०१५ देखि निरन्तर नेपाल युवा परिषदले देशभरका युवाहरुलाई काठमाडौंमा ल्याएर युवाको सम्बन्धमा विभिन्न कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिसककेको र यस वर्ष ‘उद्यमी युवा समृद्ध देश : दिगो विकास लक्ष्यमा सामान्य परिवेश‘ भन्ने विषयमा केन्द्रित सत्रहरु सञ्चालन हुने जानकारी गराउनुभयो । कार्यक्रममा परिषदको महासचिव रचना खरेलले स्वागत मन्तव्य दिनुभएको थियो ।

 


Loading comments...