मीडिया युवाहरुको आवाज बन्नुपर्छ – प्रधानसम्पादक बानियाँ


काठमाडौं । हिमालयन टेलीभिजनका प्रधानसम्पादक पत्रकार राजेन्द्र बानियाँले देशका सञ्चारमाध्यमहरु युवाहरुको आवाज बन्नुपर्ने बताउनु भएको छ । अन्तराष्ट्रिय युवा दिवसको अवसरमा नेपाल युवा परिषदको आयोजनामा काठमाडौंमा जारी तीन दिवसीय आवासीय राष्ट्रिय युवा सम्मेलनको दोश्रो दिनको एक विशेष सत्रलाई सम्बोधन गर्दै बानियाँले युवाको राजनीति, देश निर्माण र परिवर्तनमा प्रमुख भुमिका हुने भएकोले तिनीहरुसँग मीडियाले सम्बन्ध स्थापित गर्नुपर्नेमा जोड दिए ।

उनले राजनीतिमा पुस्तान्तरणको महत्वलाई नेतृत्वले सम्मान नगरेपनि मीडियाको तर्फबाट सक्दो प्रयास भएको दाबी गरे । मीडियाकै कारण पछिल्लो स्थानीय तहको चुनावमा बालेन शाहलगायतका युवा नेताहरु जीत्न सफल भएको उदाहरण दिदै परम्परागत शक्तिसँग हस्तक्षेप गर्न आए मीडियाले आवश्यक सहजीकरण गर्न तयार रहनुपर्ने जिकिर गरे ।

२०४७ र २०६२/६३ का जनआन्दोलनहरुको नेतृत्व युवापंक्तिले गरेतापनि युवालाई राज्यले सम्मान नगर्नु ज्यादै दुखद भएको भन्दै बानियाँले चिन्ता प्रकट गरे । उनले युवाहरुले हरेक आन्दोलनमा शहादत मात्र दिनुपर्ने तर त्यसको ब्याज ७० कटेका वृद्ध नेताहरुले पाउदै आएको बताए ।

बानियाँले युवाले अध्ययन गर्नुपर्ने र देशको राष्ट्रिय स्वार्थप्रति पक्षपाती हुनैपर्ने बताए । उनले आजको डिजिटल युगमा ‘नयाँ मीडिया र नागरिक पत्रकारिका‘ले मीडियाको कारण सबैको पहुँचमा हुनुले पनि युवालाई बोल्न र नेतृत्वलाई झक्झक्याउन सजिलो भएकोले त्यसको सक्दो रचनात्मक प्रयोग गर्नुपर्नेमा जोड दिए ।


Loading comments...