भारतको ७६ औं स्वतन्त्रता दिवसको उत्सव राजदूतावासमा मनाइयो


भारतीय राजदूतावास, काठमाडौंले यही श्रावण ३० गते भारतको ७६ औं स्वतन्त्रता दिवस मनायो । यो कार्यक्रम भारत स्वतन्त्रताको ७५ वर्षको ऐतिहासिक उपलब्धिलाई सम्झना गर्न भारत सरकारले सन् २०२१ मार्चमा अघि सारेको आजादीका अमृत महोत्सवकै एक हिस्साको रुपमा रहेको छ ।

दूतावासका काउन्सिलर प्रसन्न श्रीवास्तवले झण्डोत्तोलन गरेसँगै कार्यक्रमको शुभारम्भ भयो । तत्पश्चात वहाँले भारतका माननीय राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूले स्वतन्त्रता दिवसको अवसरमा देशको नाममा गर्नुभएको सम्बोधन पढेर सुनाउनुभयो । भारतको स्वतन्त्रताको खातिर हाम्रा स्वतन्त्र सेनानीहरुले गरेको बलिदानको सम्झना गर्दै राष्ट्रपति मुर्मूले भारतले हासिल गरेको उपलब्धिहरुको चर्चा गर्नुभयो । भारतका राष्ट्रवादी कवि कुवेम्पुलाई उदृत गर्दै वहाँले मातृभूमि र भारतीय नागरिकको उत्थानका लागि भारतका युवालाई पूर्ण रुपमा समर्पित भई अघि बढ्न आह्वान गर्नुभयो ।

कार्यक्रममा दूतावासले भारतीय सशस्त्र बलका दिवंगत सैनिकका श्रीमती र निकटतम नातेदारहरुलाई नेरु २.६५ करोड प्रदान गरी सम्मान गर्यो ।

दूतावासले आजादीका अमृत महोत्सव हाजिरीजवाफ प्रतियोगिताका विजेताहरुलाई पुरस्कृत गर्यो । देश बाहिर रहेका भारतीय युवा र विदेशी नागरिकलाई भारतबारे जानकारी थाहा पाउन प्ररित गर्ने उद्देश्यले भारत सरकार विदेश मन्त्रालयले सो हाजिरीजवाफको समेत आयोजना गरेको थियो ।

कार्यक्रममा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय, काठमाडौंका शिक्षक तथा विद्यार्थीले देशभक्ति गीत लगायतका प्रस्तुति प्रस्तुत गरे । दूतावासको आधिकारिक फेसबुक पेजमार्फत कार्यक्रमको प्रत्यक्ष प्रसारण समेत गरिएको थियो ।


Loading comments...