प्रधानसेनापति शर्मा र भारतीय स्थल सेनाध्यक्ष पाण्डेबीच भेटवार्ता, हलुका सवारी साधनसहित विविध तालिम उपकरण उपहार प्रदान


काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा र भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेबीच भेटवार्ता भएको छ । सैनिक मुख्यालय जङ्गीअड्डामा भेटवार्ता भएको नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले बताउनुभयो ।

भेटवार्ताका क्रममा दुई देशका सेना प्रमुखबीच द्विपक्षीय हित, सैन्य सहयोग लगायतका विषयमा छलफल भएको थियो । नेपालको पाँचदिने भ्रमणको सिलसिलामा भारतीय स्थल सेनाध्यक्ष पाण्डे आइतबार काठमाण्डौ आइपुग्नुभएको हो ।

आज बिहान आयोजित एक औपचारिक कार्यक्रममा भारतीय सेनाका प्रमुख जनरल मनोज पाण्डेले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा पुष्पहार समर्पण गरी श्रद्धाञ्जली अर्पण गर्नुभयो । त्यसपश्चात नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा आयोजित विशेष समारोहमा भारतीय सेनाका प्रमुख जनरल पाण्डेलाई सम्मान गारत अपर्ण गरियो । त्यसपछि वहाँले नेपाली समकक्षी जनरल प्रभुराम शर्मासँग भेटवार्ता गर्नुभयो । भेटवार्ताको क्रममा दुवै पक्षबीच दुई देशका सेनाबीच लामो समयदेखि रहिआएको सम्बन्धलाई थप सुदृढ बनाउने बारे छलफल भयो । नेपाली सेनाका वरिष्ठ अधिकारीहरुले भारतीय सेना प्रमुखलाई ब्रिफिङ्ग गरेका थिए ।

भारत सरकारको तर्फबाट जनरल मनोज पाण्डेले नेपाली सेनाको क्षमता अभिवृद्धि गर्न हेतु हलुका सवारी साधनसहित विविध तालिम उपकरण उपहारस्वरुप प्रदान गर्नुभयो ।

नेपाली सेनाका प्रधानसेनापति महारथी प्रभुराम शर्माको निमन्त्रणामा भारतीय सेनाका प्रमुख जनरल मनोज पाण्डे नेपालको पाँचदिने भ्रमणका लागि मिति २०७९ भाद्र १९ गते काठमाडौं आउनुभएको हो ।



Loading comments...