प्रेस विज्ञप्ति भारतीय सेनाध्यक्ष जनरल मनोज पाण्डेको नेपाल भ्रमण सम्पन्न


भारतीय सेनाध्यक्ष जनरल मनोज पाण्डेले आफ्नो पाँच दिने नेपाल भ्रमण सफलतापूर्वक सम्पन्न गर्नुभयो । जनरल पाण्डेले नेपाली सेनाको निमन्त्रणामा नेपालको भ्रमण गर्नुभएको हो ।

जनरल पाण्डेले मिति २०७९ भाद्र २२ गते पोखरास्थित भारतीय पेन्सन वितरण कार्यालयको भ्रमण गर्नुभयो । त्यहाँ वहाँले भारतीय सेनाका भूतपूर्व सैनिकलाई सम्बोधन गर्नुका साथै वीरता अवार्डका विजेतालाई सम्मान गर्नुभयो । जनरल पाण्डेकी धर्मपत्नी श्रीमती अर्चना पाण्डेले पनि सो कार्यक्रममा उपस्थित वीर नारीलाई सम्मान गर्नुभयो । जनरल पाण्डेले गोर्खा सैनिकको वीरता, साहस र समर्पणको मुक्तकण्ठले प्रशंसा गर्नुभयो । सोही दिन बिहान वहाँले नेपाली सेनाको पोखरामा अवस्थित मध्य कमाण्ड हेडक्वार्टरको भ्रमण गरी त्यहाँ रहेका कर्मचारीसँग अन्तरक्रिया गर्नुभयो ।

सेनाध्यक्ष पाण्डेले भूतपूर्व सैनिक योगदान स्वास्थ्य योजना (ईसीएचएस) अन्तर्गतका पोलिक्लिनिकलाई तीनवटा एम्बुलेन्स (मोबाइल मेडिकल युनिट) हस्तान्तरण गर्नुभयो । यी एम्बुलेन्सले नेपालमा रहेका तीन लाख भन्दा बढी भारतीय सेनाका भूतपूर्व सैनिक र उनीहरुका परिवारलाई सहजरुपमा स्वास्थ्य सेवा प्रदान गर्न सहयोग पुर्याउनुका साथै दुर्गम क्षेत्रका बासिन्दाका लागि विशेष उपयोगी हुनेछ ।

जनरल पाण्डेलाई गत सोमबार नेपालका सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिन्ह प्रदान गर्नुभएको थियो । नेपाली समकक्षी जनरल प्रभुराम शर्मा लगायत जनरल पाण्डेले नेपालका सम्माननीय राष्ट्रपति र सम्माननीय प्रधानमन्त्री एवम् रक्षामन्त्री शेरबहादुर देउबासँग पनि भेटवार्ता गर्नुभयो । नेपाल बसाईका दौरान वहाँले नेपाली सेनाको सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गरी त्यहाँका विद्यार्थी तथा कर्मचारीलाई सम्बोधन गर्नुभयो ।

दुई देशबीचको द्विपक्षीय सहकार्य अनुरुप, जनरल पाण्डेले नेपाली सेनालाई साइमुलेटर र हलुका सवारी साधन लगायतका तालिम उपकरण प्रदान गर्नुभयो ।


Loading comments...