अठार वर्षअघिको एउटा पत्र: २०४१ साल वैशाख २६ गते जब मैले साथीहरूलाई भनेँ- ‘यो मेरो कत्रो दुर्भाग्य हो?’


राजनेता विश्वेश्वरप्रसाद कोइरालाको जन्म जयन्तीको दिन पारेर अठार वर्षअघि मेरा दाजु खनूपरुदे ‘रामबाबू’ प्रसाईले मैले लेखेको पारिजातकाे जीवनी पढेर मलाई चिठी लेख्नु भएथ्यो ।

पूर्वाञ्चलमा वीपी कोइरालाका नजिक प्रमुख दुई जना हुनुहुन्थ्यो- रामबाबू प्रसाई र सीके प्रसाई । दुवै जना वीपीका अति आज्ञाकारी, विश्वासपात्र र सहयोगी हुनुहुन्थ्यो ।

लप्टन देवीप्रसाद प्रसाईका दुई भाइ छोरामध्ये कान्छा छोरा सीके दाइको वीपी कोइरालासँग प्राय: धेरै कुरा मिल्थ्यो र जेठा छोरा रामबाबू दाइको गिरिजाप्रसादसँगै प्राय: अधिकांश कुरा मिल्थ्यो । त्यसैले वीपीचाहिँ सीके दाइका घरमा बस्नुहुन्थ्यो; अनि गिरिजाप्रसाद भने रामबाबु दाइकै घरमा आसन जमाउनुहुन्थ्यो ।

वीपीले रामबाबू दाइलाई पनि माया गर्नुहुन्थ्यो तर गिरिजाप्रसादले सीके दाइलाई एक आँखाले पनि देख्ने सक्नु हुन्न थियो । अनि सीके दाइले म (नरेन्द्रराज प्रसाई)लाई एउटा पत्रमा लेख्नु भएथ्यो- “२०४१ साल वैशाख २६ गते जब मैले साथीहरूलाई भनेँ- ‘यो मेरो कत्रो दुर्भाग्य हो, गिरिजाप्रसाद कोइरालालाई मैले जीवनभर गुरु मानेँ तर उहाँको मैले विश्वास प्राप्त गर्न सकिन ।”

सीके दाइ र गिरिजाप्रसादको मन भाँडिने पनि एउटा कारण थियो । त्यो के हो भने- सीके दाइले गिरिजाप्रसादको भण्डाफोर गरेर कृष्णप्रसाद भट्टराईलाई एउटा नितान्त गोप्य चिठी लेख्नु भएको थिय‍ो । तर भट्टराईले भने त्यो चिठी पढेर सरासर गिरिजाप्रसादलाई नै पनि पढ्न दिनुभयो । अनि कोइराला सीके दाइसँग आगो हुनुभयो । त्यसपछि उहाँले जीवनभर सीके दाइलाई खेदि मात्र रहनुभयो ।

विधिको विडम्बना सीके दाइको निधन हुने बित्तिकै कोइरालाले सीके दाइकी अर्धाङ्नी अर्थात् मेरी भाउजू गिरिराजकुमारी प्रसाईलाई टेलिफोन गरेर भन्नुभयो- ‘म नआई सीकेको लास नउठाउनु।’ अनि प्रधानमन्त्री गिरिजाप्रसाद भोलिपल्ट रामबाबू दाइलाई लिएर झापा पुग्नुभयो र सीके दाइ उपर श्रद्धाञ्जजली चढाउनुभयो । सीके दाइको निधनको आठौँ दिनमा गणेशमान सिंह पनि ज्ञानू भाउजू र छोराछोरीलाई समवेदना दिन झापा पुग्नुभयो; तर भट्टराई भने जानु नै भएन ।
~
कृष्णप्रसाद भट्टराईलाई कुटिलै पनि भन्न मिल्दैन, उहाँमा केटाकेटी स्वभाव चाहिँ थियो । उहाँकै कारणले गिरिजाप्रसाद र सीके दाइको मारामार पनि भयो । वास्तवमा भट्टराईले सीके दाइलाई आँखैको नानी मान्नुहुन्थ्यो । उदाहरणका लागि भन्ने हो भने पनि प्रधानमन्त्री भट्टराई र गणेशमान सिंह एउटै मोटर चढेर हरेक शनिबार प्रायः दिउँसो दुई बजे सीके दाइको डेरा कुमारीपाटी पुग्नुहुन्थ्यो । अनि उहाँहरू तीन भाइ तीन घन्टा सँगै बसेर मन साटासाट गर्नुहुन्थ्यो । कहिलेकाहीँ त्यस घडी म पनि पुग्ने गर्थेँ । वास्तवमा मलाई तीनै जनाले माया गर्नुहुन्थ्यो ।


Loading comments...