Lifestyle Portal
  •   १८ मंसिर २०७९, आईतवार

डायमनशमशेर राणाको जीवनी: नरेन्द्रराज प्रसाई

३१ आश्विन २०७९, सोमबार १७:११

लोकप्रिय

डायमनशमशेर राणा १९७५ साल असार २१ गते पाल्पा तानसेनको ठुटेपीपलमा जन्मेका थिए । कर्णेल बुद्धशमशेर र मोहनकुमारीका तीन छोरामध्ये उनी कान्छा थिए । उनी बाल्यकालदेखि नै निडर, निष्पक्ष र निर्भीक थिए ।

राणाको विबाह ढालविक्रम शाहकी छोरी बालिकासँग २००१ सालमा भएको थियो । यी दम्पतीबाट एउटी छोरी गीता र दुईजना छोरा खुस्वु अनि रघु जन्मेका थिए ।

राजा त्रिभुवन २००७ सालमा भारतमा जाँदा नेपाली जनता राजालाई फर्काउने अभियानमा सक्रिय थिए । त्यसै सिलसिलामा देशभित्र क्रान्तिको शङखघन्ट बजिरहेको थियो । काठमाडौं शहरमा पनि नाराजुलुसले राणा शासकका कान घोच्न थालेको थियो । त्यही क्रममा डायमनशमशेरलाई प्रजातन्त्रवादीहरुलाई दबाउने जिम्मा दिएर राणा सरकारले इन्द्रचोकतिर खटाएको थियो । त्यस बेला उनी सेनाका कप्तान थिए ।

सेनाको कप्तानमा कार्यरत भएर इन्द्रचोक पुग्दा राणा भींडसँग डराइ रहेका पनि थिए । उनले त्यहाँ आफ्नो जीवनमा नै पहिलोचोटि ठूलो जुलुस देखेका थिए । वास्तवमा त्यो जुलुस नै उनको प्रेरणा बन्यो । अनि एकैछिनमा उनी पनि राणाका विरोधमा मुर्दावाद भन्दै जुलुसको पछिपछि लागे । त्यस बेला उनलाई सरकारको गुप्तचर भनेर जनताले कुट्न, पिट्न र मार्न पनि सक्थे । यसबारे पछिसम्म पनि उनले भने “त्यति बेला मेरो ज्यान जान पनि सक्थ्यो । कुन दैबले मलाई बचाई दिए ।” अनि त्यही जुलुसबाटै उनलाई राणाका सेनाले कक्रयाककुक्रुक पारेर सिंहदरबारभित्रको खोरमा लगेर थुनेको थियो । त्यसबखत यीसँगै पक्राउ पर्ने अर्का राणा पनि थिए बालकृष्ण सम । अनि जेलमा पनि राणा शासकले उनलाई झन्नै मार्नै खोजेको थियो । यस विषयमा पनि उनी भन्थे “ठीक त्यसै बेला नेपालमा प्रजातन्त्र नआएको भए मलाई पनि शहिद बनाइन्थ्यो ।”

राणा मानव स्वतन्त्रताका पक्षपातीे थिए । यस प्रयोजनलाई र्सार्थक पार्न उनी नेपाली काङ्ग्रेसमा प्रवेश भए । किनभने उनी जनताको हीत र राष्ट्रको विकास चाहन्थे । त्यही अनुरूप उनी लेख्तै र भाषण गर्दै अघि सरे । यही क्रममा उनी नेपाली काङ्ग्रेसको ललितपुर जिल्लाका सभापति पनि बने । उनी त्यस पदमा एक पटक होइन, दुई पटक होइन, तीन पटकसम्म बहाली भए ।

राणा २००७ अघि र २०१७ सालपछि बराबर जेलखाना गइरहे । यही क्रममा उनी धेरै वर्षजेलमा बसे । तर जति नै जेलमा परे तापनि उनले कहिले आफ्नो शिर भाँचेनन्, शासकसँग माफ मागेनन् र कानुनसमक्ष आत्मर्समर्पण पनि गरेनन् । उनी साँच्चैका सेतो बाघका लेखकै थिए । त्यसैले बाघ मान्छे भएर नै जेलभित्रबाट पनि उनी गर्जिरहे, “पञ्चायती व्यवस्था मुर्दाबाद ! प्रजातन्त्र जिन्दावाद !”

पढेर भन्दा उनले परेर धेरै जाने । नेपाली सेनाका तर्फाट दोस्रो विश्वयुद्धमा हिन्दूस्थान पुगेर उनले आफ्नो वीरता देखाए । राणाले जागीर खोसेपछि उनी केही समय ढाक्रे भए । फेरि पछि प्रजातन्त्रले उनलाई जागीर थमौति गरिदियो । तर केही वर्षपुनः कप्तान भएर उनले राजिनामा दिए । त्यति बेला उनले भनेका थिए “म राजनीतिबाट मुलुकको काँचुली फेर्ने काममा लाग्छु ।”

राणा उत्साहका लखपति थिए । उनी जनसर्म्पर्क र शिष्टाचारका धनी थिए । जुनसुकै सिद्धान्तका मान्छेलाई पनि उनी आत्मीयता दिन्थे । राणा शासन ढलेपछि उनी सिद्धान्तका सुन भए । नेपाली काङ्ग्रेस उनका लागि प्राण भयो । उनी लेख्ता र वोल्दा नेपाली काङ्ग्रेसको मात्र जयजयकार गर्थे । तर २०४६ सालपछि गिरिजाप्रसाद कोइराला या उनका मतियारदेखि उनी घरिघरि अपमानित भएको बेहोरा बक्त्याउँथे । त्यस बेला उनी कोइरालालाई उभ्याएर बराबर भन्थे, “यो काङ्ग्रेस टिकेछ भने म कान काट्छु ।”

राणा खुलस्त थिए । उनी आडम्बरका विरोधी थिए । उनको सपना र विपना नेपालमा प्रजातन्त्रको स्थापना थियो । उनको जीवनको मूलमन्त्र राष्ट्र र राष्ट्रियता नै थियो । तर शासकले उनलाई साहित्यकारका रूपमा मात्र स्वीकारे अनि साहित्यकारले उनलाई राजनीतिज्ञ भनेर मात्रै चिने । यति हुँदाहुँदै पनि उनी साहित्यिक व्यक्तित्व थिए र राजनीतिक प्राणी थिए । छोटकरीमा भन्नु पर्दा उनी नेपाली भाषासाहित्यका महारथी थिए । त्यही साहित्यले नै उनी यस धर्तिमा चिरञ्जीवी बने । यिनले औपचारिक शिक्षा आठ पास मात्र गरे, तर पिएचडीसम्मका विद्यार्थीले यिनको व्यक्तित्व र कृतित्व ध्यान दिएर पढे । साथै देशदेशान्तरका विद्वानले यिनको सृजनाको गीत गाए ।

राणाले राणाशासनको जेलभित्र पसेकै दिन एउटा लेख लेखे । उक्त लेख उनको मनमा रचिएको थियो । सो बेहोरा उनले बालकृष्ण समलाई भने, “बाल दाइ ! मैले फेरि लेख्ने विचार गरेँ ।” अनि सम बोलेका थिए, “जनतालाई मुक्ति दिने र शिक्षा दिने कुरा लेख्नपर्छ, लेख ।” अनि डायमनशमशेरले त्यसै गरे । लेख्ता लेख्तै उनले सातवटा उपन्यास लेखे, वसन्ती, सेतो बाघ, प्रतिबद्ध, सत्प्रयास, अनीता, गृहप्रवेश र धनको धब्बा । यी उपन्यास लेखनका सिद्धहस्त नायक बने । यिनको उपन्यासमा आधारित चलचित्र पनि बन्यो । उनका केही उपन्यास हिन्दी, अङ्ग्रेजी, फ्रेन्च, र जापानी भाषामा अनुवाद पनि भए । नेपाली भाषासाहित्यमा लेखकस्वबाट आफ्नो जीवनकालमा नै धेरै आम्दानी प्राप्त गर्ने प्रथम नेपालीमा उनको पनि नाउँ दरियो ।

राणालाई एकपटक नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानको सदस्य हुने इच्छा थियो । उनी भन्थे, “एक दिन भए पनि त्यहाँको कुसीमा बस्न पाए हुन्थ्यो । धेरै पर्खें मैले मदन पुरस्कार पनि पाइँन । अनि एक दिन कमल दीक्षितलाई मैले मुखै फोरेँ, ‘मैले मदन पुरस्कार त पाइनँ पाइनँ जगदम्बाश्री त दिनुहोस् न !” मेरो वचन सुनेर दीक्षितले भनेका थिए, ‘यस वर्ष त मैल जनकविकेशरी धर्मराज थापालाई वचन दिइसकेको छु, अर्को वर्ष म यहाँलाई जगदम्बाश्री टक्रयाउने छु ।” अनि मैले अर्को वर्ष जगदम्बाश्री पाएँ ।”
राणाले सरकारको राष्ट्रिय प्रतिभा पुरस्कार पनि पाए । त्यसबारे उनले भनेका थिए प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई मलाई केही गर्न नपाएकोमा पछुतो थियो । अनि उनकै प्रेसरबाट मैले त्यो पुरस्कार पाएको हुँ । तर मलाई त्यस पुरस्कारको चाहिं फिटिक्कै महिमा भएन । उनीहरुले दिए मैले लिएँ, बस् त्यत्ति हो ।”

देवकोटा शताब्दी सम्मान, मानश्री पुरस्कार, भारती खरेल पुरस्कार र भूपाल कृति पुरस्कारबाट पनि राणा सम्मानित भए । तर त्यति बेलासम्ममा उनी पुरस्कारहरूभन्दा एक हात माथी पुगिसकेका थिए ।

राणा सरलभन्दा सरल थिए । उनी मनमा लागेको कुरा खुलस्तै भनिदिन्थे । कुनै पनि कुरा गर्न उनका लागि औपचारिक बहाना चाहिंदैनथ्यो । त्यसैले उनी प्रायः एक्लो पनि पर्दै गए । जीवनको उत्तर्रार्धमा उनले त्यतिसारो आँखा पनि देखेनन् । त्यसमाथि उनलाई मधुमेहले च्यापेको थियो । उनले कहिले घुँडा दुख्ने विमार खेपे, कहिले उनको अनुहार सुनिने गथ्र्यो र उच्च रक्तचापले पनि उनलाई आछुआछु बनाउने गर्थ्यो । उनी जसलाई भेटेपनि नेपाल र नेपालीले आफूलाई नचिनेको गुनासो गर्थे ।

राणा दुईवर्षअघिदेखि निक्कै बिरामी पर्दै आएका थिए । त्यस बेला नै पनि उनी मुटुका कारण नर्भीक अस्पतालमा भर्ना भएका थिए र उनलाई एन्जिओप्लाष्ट गरिएको थियो । तर क्रमशःक्रमशः उनका दुवै मृगौला निस्कृय भइसकेका थिए । अन्ततः उनी २०६७ फागुन २० गते स्वर्गीय भए ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौ – काठमाडौ क्षेत्र नम्बर १ का घण्टिबहाक उम्मेदवार पुकार बमलाइ भोट माग्न चलचित्र निर्देशक प्रदिप भट्टराई र निर्माता रविन्द्र

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज आयोजित एक समारोहबीच निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियालाई भारत सरकारको

नेपालका लागि भारतीय राजदूत महामहिम नवीन श्रीवास्तवले आज आयोजित एक समारोहबीच नेपालका माननीय अर्थमन्त्री जनार्दन शर्मालाई भारत सरकारको तर्फबाट २००

त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षतामा २०७१ साल वैशाख ३० गते बसेको निकेतनको साधारणसभाले नेपाली साहित्यका महारथी डा.सत्यमोहन