दुई सय वर्ष पुरानो रानीतलाउ जीर्ण बन्दै


खजुरा, १५ पुस : निकै तामझामका साथ नेपालगञ्जको ऐतिहासिक पर्यटकीय ताल रानीतलाउलाई सञ्चालनमा ल्याइए पनि अहिले संरक्षणको अभावमा पुनः जीर्ण हुन थालेको छ । करिब पाँच वर्षअघि निर्वाचित नेपालगञ्जका नगरप्रमुख डा धवलशम्सेर राणाको पहलमा पुनः सञ्चालनमा ल्याइएको ताललाई हाल आएर संरक्षणको अभावमा पुनः पहिलाको जस्तै भएको छ ।

धेरै वर्षपछि रु ३५ लाख खर्च गरेर दोस्रोपटक सञ्चालनमा ल्याइएको रानीतलाउको सौन्दर्यको धेरै चर्चा भयो । नेपालगञ्जको पर्यटकीयस्थलका रूपमा परिचित रानीतलाउ अब झकिझकाउ भयो भन्ने धेरैलाई लाग्यो । दुर्भाग्य डेढ वर्षपछि रानीतलाउ फेरि उस्तै बाटोमा फर्किसकेको छ । बोटिङ बन्द भएको छ । सरसरफाइमा कमी छ । पर्यटकको घुइँचो हुने रानीतलाउ सुनसान भएको स्थानीय कृष्णमुरारीप्रसाद भट्टले बताउनुभयो ।

उहाँ भन्नुहुन्छ, “नेपालगञ्जको ऐतिहासिक पर्यटकीय क्षेत्र मानिएको रानीतलाउ फेरि उस्तै गतिमा जाने थालेको छ, बहुत् दुःख लागेको छ, नेपालगञ्ज सहरको आकर्षण र पुरानो गहनाको रूपमा रहेको यो तालको दुर्दशा हेर्दा लज्जित महसुस गरेको छु ।”

सौन्दर्यकरण गर्नका लागि रानीतलाउमा धेरै पैसा लगानी गरियो । पैसा खन्याएर मात्रै हुँदोरहेनछ भन्ने देखिँदै आएको छ । रानीतलाउलाई झकिझकाउ बनाएर वार्षिक रु १८ लाखमा ठेक्का दिइएको थियो । ठेकेदारले छोड्दा चारवटा डुङ्गा कामै नलाग्ने अवस्थामा रहेका छन् ।

नेपालगञ्जको इतिहास बोकेको दुई सय वर्ष पुरानो रानीतलाउमा संक्षणको अभावमा अहिले पर्यटकको सङ्ख्या घटेको छ । रानीतलाउको जीर्णोद्धारपछि सुरुआतको वर्षमा अन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ रहने तलाउ अहिले पुनः जीर्ण बन्दै गएपछि तलाउमा पर्यटकको सङ्ख्या घटेको छ ।

फुर्सदको समयमा बालबालिका भुलाउने ठाउँका रूपमा परिचत रानीतलाउ पुनः जीर्ण बन्दै गएपछि तालाउ घुम्न आउने पर्यटकको सङ्ख्या घटेको छ । बालबालिका खेल्नका लागि तलाउमा परिसरमा राखिएको झुला, चिप्लेटीलगायतका सामग्री बिग्रिएका छन् भने संरक्षणको अभावमा फूलबारी पनि जीर्ण बनेको छ । तलाउ परिसरमा भेटिनुभएका नेपालगञ्जका नवीन रोकायले संरक्षणका अभावमा जीर्ण बन्दै गएकाले संरक्षण गर्नुपर्ने बताउनुहुन्छ ।

राज्य पुनःसंरचनापछि स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले तलाउलाई जीर्णोद्वार गरेका थिए । निरन्तर मर्मतसम्भार तथा संरक्षणको अभावका कारण अहिले पुनःतलाउ जीर्ण बन्दै गएको छ । सरसफाइको अभावका कारण तलाउको पानी एकदमै फोहर भएकाले सरसफाई गरी संरक्षण गर्नुपर्ने स्थानीय गिरवरप्रसाद अग्रवाल बताउनुहुन्छ ।

विसं २०७६ असार १५ गते सौन्दर्यीकरण भएपछि रानीतलाउको उद्घाटन गरियो, त्यसपछि वडा नं ८ ले करिब चार महिना रानीतलाउ सञ्चालन गर्र्यो । वडा कार्यालयका अनुसार सो अवधिमा रु छ लाख कमाइ भयो । सुरुआतमा मान्छेको भीड नै लाग्यो । लामो समयपछि बोटिङ सञ्चालनमा आएपछि मान्छे ओइरिए । करिब चार महिनामा रु छ लाख आम्दानी भएको देखेका ठेकेदारले बढाबढ गरेर बोले ।

रु १० लाखबाट सुरु भएको ठेक्का कबोल रु १८ लाखमा गएर अडियो । त्यो बीचमा चैतदेखि कोरोना कहर सुरु भएपछि ठेकेदारले छोडेर गएपछि तलाउ बन्द गरिएको थियो । कोरोनापछि माघ ४ गतेदेखि उपमहानगरपालिका र वडाबाट एक–एक जना कर्मचारी खटिएर रानीतलाउ खोलिएको छ । बोटिङ गर्ने सुविधा नरहेकाले पर्यटकको बाक्लो उपस्थिति देखिएको नदेखिएको त्यहाँका कर्मचारी सुदेश केसीले बताउनुभयो ।

सुरुआती चरणमा करिब दुई वर्षमात्रै तलाउ राम्रै सञ्चालनमा आए पनि कोरोना महामारीका कारण तलाउ बन्द भएको थियो । कोरोनापश्चात तलाउ जीर्ण बन्दै गएपछि पुरानै लयमा फर्किन सकेन । तलाउ मर्मतसम्भार गरेर पुनः पहिलेकै जस्तै बनाउने योजना रहेको नेपालगञ्जका उपप्रमुख कमरुद्दिन राईले बताउनुभयो ।

रानीतालउमा सरसफाइको कमी, तालको फोहर पानी, जीर्ण बन्दै गएको र बालबालिका खेल्ने सामग्री तथा पर्यटन प्रवद्र्धनको कमीका कारण पर्यटकको सङ्ख्या घट्दै गएको देखिन्छ । सरोकारवाला निकायले थप अकर्षण र मनोरञ्जन गर्ने सामग्री जडान गरी नियामित मर्मतसम्भार गरी सञ्चालन गर्न स्थानीयवासीले माग गरेका छन् ।


Loading comments...