भक्तपुरमा भरिभराउ पर्यटक


भक्तपुर, १७ पुस: अङ्ग्रेजी नयाँ वर्ष, २०२३ को पहिलो दिन । भक्तपुरका प्रमुख गन्तव्य मानिएका पर्यटकीयस्थल नगरकोटदेखि रानीकोटसम्मका होटल स्वदेशी पर्यटकले भरिभराउ हुँदा यहाँका पर्यटन एवं होटल व्यवसायी उत्साहित भएका छन् । कोरोना भाइरस सङ्क्रमणका कारण झण्डै तीन वर्ष नोक्सान ब्यहोर्नु परेका कारण यहाँका पर्यटन व्यवसायी आन्तरिक पर्यटककै चाप थेगिनसक्नु भएपछि व्यवसायी उत्साहित भएका हुन् ।

अंग्रेजी नयाँवर्ष, २०२३ को आगमनले भक्तपुरका पर्यटकीय स्थलदेखि होटलसम्म आन्तरिक पर्यटकले भरिएका छन् । भक्तपुरको प्रमुख पर्यटकीय गन्तव्य नगरकोटमा नयाँवर्षको पहिलो सूर्योदयलाई स्वागत गर्न स्वदेशी तथा विदेशी पर्यटकले यहाँका होटल भरिएका छन् । बेलुका बास बसेर आज बिहान सूर्योदयसँगै हिमाली दृश्य अवलोकन गर्न पर्यटकको नगरकोटमा बाक्लो उपस्थिति थियो । हरेक वर्ष विदेशी पर्यटकले भरिने यहाँका पर्यटकीय क्षेत्र कोरोना महामारी र नगरकोट जाने सडकको जीर्ण अवस्थाका कारण पर्यटन व्यवसाय ओरालो लागे पनि नयाँ वर्षमा भने उमङ्ग थपेको पर्यटन तथा होटल व्यवसायी अशोक थापा बताउनुहुन्छ ।

नगरकोट बेस क्याम्प रिसोर्टका सञ्चालकसमेत रहनुभएका थापाले भन्नुभयो, “विदेशी पर्यटकको चाप घटेको छ, स्वदेशी पर्यटकको चाप निकै बढेको छ, अङ्ग्रेजी नयाँ वर्षमा पनि ३० प्रतिशत मात्रै विदेशी पर्यटक आए, ७० प्रतिशत स्वदेशी पर्यटकले यहाँका होटल भरिएका छन् ।” यहाँका सीमित होटलमा मात्रै विदेशी पर्यटक जाने गरेको र अन्य होटल स्वदेशी पर्यटककै भरमा रहनुपरेको व्यवसायी बताउँछन् ।

सामान्यदेखि चार स्टारसम्मका होटल रहेको नगरकोटमा नयाँ वर्षमा स्वदेशी पर्यटकको चाप बढेपछि कोठा पाउन मुस्किल परेको व्यवसायी थापा बताउनुहुन्छ । चिसो रातमा पनि नयाँ वर्षको स्वागत र सूर्योदयको मजा लिन यहाँ पर्यटकको आगमन बढ्दा व्यवसायी उत्साहित भएको उहाँ बताउनुहुन्छ । कोभिड–१९ को सङ्क्रमणले रित्तिएका यहाँका होटलमा नयाँ वर्ष २०७८ देखि चहलपहल भए पनि अङ्ग्रेजी नयाँवर्ष २०२३ को आगमनसम्म आइपुग्दा विदेशी भन्दा स्वदेशी पर्यटकको आगमनले नगरकोट होटल भरिएको होटल मेरिगोल्ड नगरकोटका सञ्चालक गोकुल लामिछाने बताउनुहुन्छ ।

“मैले होटल क्षेत्रमा काम गरेको २२ वर्ष बढी भयो तर कोरोनाले होटल सुनसान भएको पहिलो पटक थियो, अब त उठ्न सकिँदैन कि भन्ने लागको थियो तर नेपाली र अङ्ग्रेजी नयाँ वर्षमा एक महिनाअघिदेखि सबै होटल बुक हुन थालेपछि र स्वदेशी पर्यटकको आगमन बढेपछि अब उत्साह थपिएको छ ।”

उहाँ भन्नुहुन्छ, “यसपालीको अङ्ग्रेजी नयाँ वर्षमा आन्तरिक पर्यटकको आगमनले पर्यटन क्षेत्रमा धेरै आशा पलाएको छ ।” भूकम्पले भत्किएपछि पुनःनिर्माण गरेर नयाँ स्वरुपमा होटल सञ्चालनमा ल्याएका होटल चौतारी नगरकोटका सञ्चालक बद्री माकले भूकम्प र कोरोनाले सङ्कटमा पारेको होटल व्यवसायलाई अहिले आन्तरिक पर्यटकले धानेको बताउनुहुन्छ । उहाँले होटल व्यवसायमा आन्तरिक पर्यटकको आगमनले विदेशी पर्यटकलाई भुलाइदिएको बताउनुहुन्छ ।

नगरकोटबाट फर्कंदै गर्नुभएका काठमाडौंँ, बानेश्वर निवासी पदमलाल श्रेष्ठले एक साता अगाडिदेखिनै होटलको रुम बुक गरेको बताउनुभयो । आफ्नो परिवार र आफन्त गरी ११ जना शनिबार साँझ आएर बसेको र नयाँ वर्षमा रमाउनुभएका उहाँले आन्तरिक पर्यटकको चाप बढेको देख्दा अचम्मित भएको सुनाउनुभयो ।

चाँगुनारायण नगरपालिका–६ नगरकोटका वडाध्यक्ष एवं नगरकोट नाल्दुम पर्यटन व्यवसायी सङ्घका पूर्व सचिव धनबहादुर लामाले नयाँ वर्ष २०२३ लाई स्वागत गर्न आन्तरिक पर्यटकको नगरकोटमा ओइरो लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “एकसाता अगाडिदेखि होटल बुक भए, हिजो यहाँका होटल खचाखच थिए, कतिपयले कोठा नपाउने अवस्था आयो, घर बाहिर पारिवारिक रमाइलो गर्ने परम्परा बढ्दा पर्यटन व्यवसायी उत्साहित भएका छन् ।”

चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गरी नगरपालिकाले २०८२ सालमा नगरकोट भ्रमण वर्ष मनाउन लागेको बताउनुभयो । त्यसका लागि नगरपालिकाले आवश्यक पूर्वाधार निर्माणमा बजेट विनियोजन गरेको बताउँदै नगरकोटदेखि चाँगुनारायण मन्दिरसम्म पर्यटकको आगमनलाई विश्वमाझ प्रचार गर्न भ्रमण वर्ष मनाउने भएको बताउनुभयो ।

यस्तै पर्यटकीय गन्तव्य सूर्यविनायक नगरपालिका–७ गुण्डु र ८ सिपाडोलको सङ्गमस्थल ऐतिहासिक रानीकोट र घ्याम्पेडाँडाका सबै होटल आन्तरिक पर्यटकले भरिएका छन् । यहाँबाट बिहान देखिने सुन्दर हिमाली दृश्य हेर्ने र रातभरी नाचगान गरी नयाँ वर्षको स्वागत गर्न स्वदेशी पर्यटकको घुइँचो लागेको पर्यटन एवं होटल व्यवसायी रामसुन्दर बकेँले बताउनुभयो ।

समुद्री सतहबाट २००० मिटर उचाइमा रहेको भक्तपुरको सूर्यविनायक र काभ्रेको पनौती नगरपालिकाको सिमानामा पर्ने रानीकोटबाट काठमाडौं उपत्यका र भक्तपुर नगर मात्र होइन, विभिन्न हिमशृङ्खलाको समेत अवलोकन गर्न सकिन्छ । यहाँबाट सूर्योदयसँगै कञ्चनजङ्घा, मकालु, सगरमाथा, चोयु, सिसापाङमा, मनास्लु, अन्नपूर्ण, माछापुछ्रे, गौरीशङ्कर, धौलागिरी तथा लाङटाङजस्ता आठ हजार मिटरभन्दा अग्ला आठवटा हिमाल हेर्न सकिने भएकाले पछिल्लो समय रानीकोट पर्यटकीय गन्तव्य बन्न थालेको भिलेज हाईल्याण्ड रिसोर्ट रानीकोटका सञ्चालक रामसुन्दर बकेँ बताउनुभयो ।

सहज पक्की सडकदेखि सूर्यविनायक–रानीकोट–आशापुरी एवं सूर्यविनायक–रानीकोट–फुल्चोकी पदयात्राको रुटले रानीकोट पर्यटकको रोजाइँमा पर्न थालेको भन्दै उहाँले कोरोना महामारीपछि यति धेरै आन्तरिक पर्यटकको आगमनले यहाँका सबै होटल खचाखच भएको बताउनुभयो ।

अङ्ग्रेजी नयाँवर्षको घुइँचोले पर्यटन व्यवसायीमा ऊर्जा र उत्साह थपेको बताउँदै व्यवसायी बकेँ भन्नुहुन्छ–“रानीकोट ऐतिहासिक रुपले मात्र नभएर सुन्दर दृश्यावलोकनका लागि पनि उपयुक्त स्थान हो, १२ महिना पर्यटकको आकर्षण बन्न थालेको रानीकोटबाट देखिने हिमाल र सूर्योदयले नयाँवर्षमा त झन पर्यटक खचाखच हुने थालेका छन् । अङ्ग्रेजी नयाँ वर्षमा आन्तरिक पर्यटकको घुइँचो लागेपछि पर्यटन व्यवसायमा पुन ःआशा पलाएको छ ।”

रानीकोटमा रु १६ करोडको लागतमा निर्माण भएको होटल भिलेज हाईल्याण्ड रिसोर्ट सञ्चालनमा आएलगत्तै कोरोनाका कारण बन्द गर्नु परेपनि अहिले भने पुनः आशा जगाएको बकेँ बताउनुहुन्छ । नयाँ वर्ष आफ्नो होटल सात दिन अघिदेखि नै बुक भएकाले कतिपय आउन चाहने स्वदेशी पर्यटकलाई पनि ठाउँ दिन नसकेर अन्यत्र पठाउनु परेको भन्दै उहाँले आगामी एकसातासम्मका लागि होटल आन्तरिक पर्यटकले भरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “रानीकोट नयाँ पर्यटकीय गन्तव्य बनेको हो, केही वर्षयता होटल व्यवसायीले करोडौँ लगानी गरिरहेका छन्, आन्तरिक पर्यटकको आगमनले पर्यटन व्यवसायी उत्साहित छन् ।

मेरो होटलमा राति बस्न ६० जना र दिनमा पाँचसयसम्म रहने क्षमता रहेपनि नअटेर अरु होटलमा पठाउनुपर्छ ।” रानीकोट रिसोर्टका सञ्चालक नारायण श्रेष्ठ नयाँ वर्ष मात्रै नभइ बिदाका दिनमा पनि यहाँ कोठा पाउन मुस्किल पर्न थालेको बताउनुहुन्छ । आन्तरिक पर्यटकको आगमन बढ्दै गएपछि होटलको क्षमता पनि बढाउँदै लगेको बताउँदै उहाँले काठमाडौँको नजिक पर्यटकीय गन्तव्य भएकाले पनि स्वदेशी पर्यटकको आगमन बढेको उहाँ बताउनुहुन्छ ।

घ्याम्पेडाँडामा रु १९ करोड भन्दा बढीको लागतमा सञ्चालनमा आएको नयाँ होटल ‘घ्याम्पेडाँडा रिसोर्ट’ का राजेन्द्र प्याथले आन्तरिक पर्यटकको चापले यहाँको होटल व्यवसाय चलेको बताउनुहुन्छ । घ्याम्पेडाँडामा अहिलेसम्मकै बढी लागतमा निर्माण भएको उक्त होटलले विदेशी र स्वदेशी पर्यटकलाई राख्दै आएको उहाँले बताउनुभयो ।


Loading comments...