Lifestyle Portal
  •   १० चैत्र २०७९, शुक्रबार

विदेश सचिव विनय मोहन क्वात्राको नेपाल भ्रमणको पहिलो दिन के के भयो?

२ फाल्गुन २०७९, मंगलवार ०७:१८

लोकप्रिय

नेपालका परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा नेपाल आउनु भएका भारतीय परराष्ट्र सचिव विनय मोहन क्वात्राको दुई दिने औपचारिक भ्रमण आजबाट सुरु भयो । दुई परराष्ट्र सचिवबीच बिहान सम्पन्न वार्तामा विकास साझेदारी, ऊर्जा सहकार्य, व्यापार तथा आर्थिक सहकार्य, संस्थागत सम्पर्क र जनता–जनताबीचको सम्बन्ध लगायत भारत र नेपालबीचको बहुआयामिक सहयोगका विविध पक्षबारे व्यापक छलफल भयो ।

गत वर्ष प्रधानमन्त्रीको भ्रमणका क्रममा अन्तरदेशीय कनेक्टिभिटी, जलविद्युत सहयोग, संस्कृति, व्यापार तथा वाणिज्य लगायत विविध क्षेत्रमा गरिएका प्रतिबद्धता कार्यान्वयनमा भएको प्रगतिको पनि दुवै परराष्ट्र सचिवले समीक्षा गर्नुभयो । रेलमार्ग कनेक्टिभिटीको सम्बन्धमा दुवै पक्षले जयनगर–कुर्था–बिजलपुर–बर्दिबास र जोगबनी–विराटनगर रेल परियोजनाका बाँकी खण्डको निर्माण चाँडै सम्पन्न गरी सञ्चालनमा ल्याउने सहमति जनाए । साथै दुई पक्षबीच प्रस्तावित रक्सौल–काठमाडौं रेल परियोजनालाई अघि बढाउन आवश्यक पर्ने प्रक्रियागत कार्यलाई दु्रतरुपमा अगाडि बढाउने सहमति भयो ।

दुवै पक्षले गत वर्ष ऊर्जा सहकार्यमा भएको प्रगतिको चर्चा गर्यो जस अन्तर्गत नेपाल अहिले ४५२.६ मेगावाट विद्युत भारततर्फ निर्यात गर्न सक्षम भएको छ । यसले भारतलाई विजुली प्रदान गरेको छ भने नेपालमा थप राजस्व स्रोतको सिर्जना गरेको छ । नेपाली पक्षले दीर्घकालीन रुपमा भारततर्फ विद्युत निर्यातका लागि मार्गप्रशस्त गर्न भारतीय पक्षसँग अनुरोध गर्यो । भारत र नेपालबीचको उर्जा व्यापारलाई थप सुदृढ बनाउन विनिमय बजारका सबै उत्पादनलाई उपयोग गर्न पनि नेपाली पक्षले भारतलाई अनुरोध गर्यो । भारतीय पक्षले नेपाली पक्षबाट भएको दुवै अनुरोधलाई जानकारीमा राखेको छ । सन् २०२२ अप्रिलमा भारत र नेपालबीच भएको ऊर्जा क्षेत्र सहकार्य सम्बन्धी संयुक्त दृष्टिकोण पत्रको पूर्ण कार्यान्वयनका लागि प्रतिबद्धता जनाउँदै दुई देशका परराष्ट्र सचिवले उपक्षेत्रीय सन्दर्भमा पारस्परिक लाभकारी सहकार्यका लागि हातेमालो गर्ने सहमति जनाए ।

विश्वमा व्याप्त कठिनाईको समयमा नेपालमा कृषि उत्पादनको सहज आपूर्तिलाई सुनिश्चित गर्न विशेष गरी नेपालका लागि भनेर चिनी, गहुँ र धानको निर्यातमा भारतले गरेका विशेष व्यवस्थालाई नेपाली पक्षले सराहना गर्यो ।

दुई परराष्ट्र सचिवबीच बहुपक्षीय र क्षेत्रीय सहकार्यका विषयमा पनि छलफल भयो । यस सन्दर्भमा भारतले यो वर्ष आफ्नो अध्यक्षतामा आयोजना हुने जी–२० फाइनान्स ट्रयाकमा सहभागीताका लागि नेपाललाई दिएको निमन्त्रणाको नेपाली पक्षले प्रशंसा गर्यो । नेपाली पक्षले अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको शिघ्र अनुमोदनका लागि प्रतिबद्धता व्यक्त गर्यो ।

परराष्ट्र सचिव क्वात्राले नेपालका सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी, सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माननीय परराष्ट्र मन्त्री डा.विमला राई पौड्यालसँग शिष्टाचार भेटवार्ता गर्नुभयो । भेटघाटको क्रममा दुवै पक्षले दुई देशबीचको विशिष्ट सम्बन्धलाई अझ सुदृढ गर्ने र दुई देशका जनताको हितका लागि बहुआयामिक विकास सहयोगलाई विस्तार गर्ने उपायहरुबारे छलफल गरे ।

परराष्ट्र सचिव क्वात्राले सोही दिन पूर्व प्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र केपी शर्मा ओलीसँग पनि शिष्टाचार भेटवार्ता गर्नुभयो । परराष्ट्र सचिव क्वात्राले भोलि नेपाल सरकारका वरिष्ठ अधिकारी र अन्य नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

जनता–जनताबीचको सम्बन्धले जोडेको भारत र नेपालबीच सदियौं पुरानो सभ्यतागत तथा साँस्कृतिक सम्बन्धको जगमा उभिएको निकट साझेदारी रहेको छ । दुई देशबीच हुदै आएको उच्चस्तरीय भेटवार्ताको परम्परा अुनुरुप यो भ्रमण भएको हो ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपालमा सङ्घीयता र गणतन्त्र त आयो तर यी व्यवस्थाहरूले मुलुकलाई आर्थिकरूपमा कुनै पनि किसिमको फाइदा पुर्याउन सकेको देखिएको छैन। यस

विगत १४ वर्ष देखि विश्वभर छरिएर रहेका नेपालीहरुबीच लोकप्रिय, नेपालको पहिलो कम्यूनिटी एप ‘नेपाली पात्रो’ र झण्डै डेढ शताब्दीदेखि पञ्चाङ्ग

भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु र राष्ट्रपति रामचन्द्र पौडेल बीच टेलिफोन संवाद भएको छ। हाल केरला भ्रमणमा रहनुभएकी भारतीय राष्ट्रपति

वीरगञ्ज र यस वरपरका क्षेत्रको आर्थिक विकासको लागि केही लेख्न मन लागेको छ। यस लेखमार्फत मैले लेख्न खोजेको वा भन्न