आर्थिक विकासका लागि वीरगञ्ज नगरप्रमुखलाई पत्र


वीरगञ्ज र यस वरपरका क्षेत्रको आर्थिक विकासको लागि केही लेख्न मन लागेको छ। यस लेखमार्फत मैले लेख्न खोजेको वा भन्न खोजेको कुरा, आशा छ वीरगञ्ज नगरप्रमुखज्यू समक्ष पुग्नेछ।

वीरगञ्ज एउटा ऐतिहासिक शहर हो। नेपालमा पहिलो रेलसेवा वीरगञ्जमैं स्थापना भएको थियो। सन् १९२७ मा वीरगञ्जमा स्थापना भएको ‘नेपाल गभर्मेन्ट रेलवे’ ले भारतीय सीमा शहर रक्सौल र अमलेखगञ्जलाई जोड्ने कार्य गर्थ्यो। ४७ किलोमिटर लामो त्यो रेल सेवाको प्रमुख उद्देश्य नेपालमा भएका काठहरू भारतका विभिन्न शहरमा पुर्याउनुथियो। महँगा काठहरू बिक्री गरेर राम्रो नाफा कमाउनु थियो। यस्तो उद्देश्य त्यस बेलाको भारतमा शासन गर्ने अङ्ग्रेजहरूले राखेका थिए। नेपालको चारेकोसे झाडीबाट रूखहरू कटान गरेर, भारतलगायत विदेशमा पनि ती काठ बिक्री गरेर अङ्ग्रेजहरूले राम्रो आम्दानी हात पारेका थिए। पछि यो रेलसेवाको उपयोग मानिस ओसारपसार गर्नका लागि पनि हुन थाल्यो।

लेखकः विश्वराज अधिकारी

त्यस बेलाको रेलसेवासँग सम्बन्धित जमीन जुन अहिले महानगरपालिकाको स्वामित्वमा छ, त्यसलाई उपयोग गर्न पालिकाले निजी क्षेत्रलाई लिजमा पनि दिन सक्छ। निजी क्षेत्रको लगानीमा पनि वीरगञ्ज सङ्ग्रहालयको निर्माण हुन सक्छ। तर यसका लागि वीरगञ्ज महानगरपालिकाले उदार आर्थिक नीति निर्माण गरेर निजी क्षेत्रलाई आकर्षित गर्नुपर्छ।

सन् १९६५ मा नेपाल गभर्मेन्ट रेलवे सेवा बन्द भयो। सञ्चालन अवधि भर भने रक्सौल–अमलेखगञ्जबीच हुने ओहरदोहरलाई यो रेलसेवाले निकै सहयोग पुर्यायो। नेपालभरिबाट कसैलाई भारतको कुनै शहर जानुपर्यो भने त्यस्तो व्यक्ति अनिवार्यरूमा वीरगञ्ज आउनु पर्थ्यो। वीरगञ्जमा रहेको रेलसेवाले उसलाई रक्सौल पुर्याइदिन्थ्यो। रेल चढेर रक्सौलबाट भारतको अनेक शहरमा पुग्न सकिने सुविधा त्यो समयमा पनि थियो। त्यस बेला भारतबाट नेपाल पस्ने सुगम नाका वीरगञ्ज नै थियो किनभने वीरगञ्जमा रेलसेवा थियो। भारतबाट नेपालका विभिन्न स्थानमा जान र खासगरी नेपालका विभिन्न स्थानबाट काठमाडौं जान अनिवार्यरूपमा वीरगञ्ज आउनुपर्थ्यो। भारत र नेपालका विभिन्न स्थानबाट काठमाडौं जानेहरूले पहिले रेल चढेर अमलेखगञ्ज जानुपर्थ्यो। त्यसपछि अमलेखगञ्जबाट ट्रकमा चढेर भीमफेदी पुग्नुपथ्र्यो। भीमफेदीबाट भने हिंडेर काठमाडौं जाने गरिन्थ्यो। यसरी काठमाडौं जानका लागि वीरगञ्ज, अमलेखगञ्ज अनि भीमफेदी महत्वपूर्ण यात्रा–बिन्दुहरू थिए, त्यस बेलाका लागि।

भनिन्छ दोस्रो विश्ययुद्धमा बेलायतको तर्फबाट लड्न नेपालका राणा शासकहरूले गोर्खा जवानहरूलाई वीरगञ्ज हुँदै रक्सौलमा रेल चढाएर युरोपका अनेक देशहरूमा अर्थात् अनेक युद्ध स्थलहरूमा पुर्याएका थिए। त्यस बेला युद्ध लडेर नेपाल फर्केका र पुनः लड्न जानुपर्ने गोरखा जवानहरूले एउटा यस्तो गीत बनाएका थिए–‘जानुपर्यो, जानुपर्यो, जानुपर्यो जर्मनको धावामा, जर्मनको धावामा।’ गीतको आशय थियो जागीरले गर्दा र बाध्यतामा परेर जर्मनहरूसँग युद्ध गर्न जानुपर्यो। परिस्थितिले गर्दा मर्न जानुपर्यो। दोस्रो विश्वयुद्धमा जर्मन र बेलायतगरी दुई विपक्षी समूह थिए। यी दुई समूहबीच छ वर्षसम्म (सन् १९३९–१९४५) युद्ध भएको थियो।

वीरगञ्ज आएर, रेलको डब्बाभित्र पसेर, गोरखा जवानहरू भारतका अनेक रेल चढेर, अनेक पानीजहाजमा सवार भएर सात समुद्र पारीका अनेक देशमा पुग्दा आफू कुन स्थानमा, कुन देशमा पुगेको हो भन्ने उनीहरूलाई थाहा हुन्थेन। थाहा केवल के मात्र हुन्थ्यो भने जर्मनविरुद्ध युद्ध गर्नुछ, उनीहरूलाई मार्नु छ। उनीहरूलाई पराजित गर्नुछ।

यसरी वीरगञ्जले नेपालमा पहिलो रेलसेवा स्थापनाको इतिहास मात्र बाकेको छैन, दोस्रो विश्वयुद्धमा नेपाली गोर्खाली सेना वीरगञ्ज हुँदै विश्वको अनेक देशमा पुगेर युद्ध लडेको इतिहास पनि बोकेको छ। वीरगञ्ज आफैंमा एउटा महत्वपूर्ण इतिहास बनेको छ। यो इतिहास वीरगञ्जको लागि ठूलो सम्पत्ति हो।

नगरप्रमुखज्यू, अब विषय प्रवेश गर्न चाहन्छु । वीरगञ्ज र वीरगञ्जवासीको आर्थिक विकासको कुरा गर्न चाहन्छु। वीरगञ्ज महानगरपालिकको सक्रियतामा यदि ‘वीरगञ्ज सङ्ग्रहालय’ को निर्माण हुने हो भने वीरगञ्जको महत्व दर्शाउन सकिन्थ्यो। साथै यस क्षेत्रमा रोजगार सृजना गर्न सकिन्थ्यो। सङ्ग्रहालयको निर्माणले गर्दा नेपाल र भारतबाट अनेक पर्यटकहरू वीरगञ्ज आउँथे। वीरगञ्जमा पर्यटनको राम्रो विकास हुन्थ्यो। वीरगञ्जमा अनेक होटल, रेस्टुरा आदिको निर्माण हुन्थ्यो। अनेक व्यक्तिले रोजगार पाउन सक्थे। वीरगञ्ज र यस वरपर रहेका क्षेत्रहरूको आम्दानी र क्रयशक्तिमा वृद्धि हुने थियो।

‘नेपाल गभर्मेन्ट रेलवे’ (पछि यातायात संस्थान) को जग्गा, पुराना भवन, रेल–अवशेष आदि उपयोग गरेर एउटा सुन्दर वीरगञ्ज सङ्ग्रहालयको निर्माण गर्न सकिन्छ। त्यस बेलाका तस्वीर, प्रयोग गरिएका वस्तु आदि आदि पनि त्यस सङ्ग्रहालयमा राख्न सकिन्छ। रेलका पुराना इन्जन र डब्बा (भारतबाट खरीद गरेर) राख्न सकिन्छ। दोस्रो विश्वयुद्धमा लड्न गएका (नाम उल्लेख नभएको) गोरखा सेनाहरूको समाधि निर्माण गर्न सकिन्छ। त्यस बेलाका यात्रीहरूको (साङ्केतिक रूपमा) मूर्ति निर्माण गर्न सकिन्छ। सङ्क्षेपमा वीरगञ्ज सङ्ग्रहालयको निर्माण गरेर वीरगञ्जलाई एउटा महत्वपूर्ण पर्यटकीय स्थलको पहिचान दिन सकिन्छ। वीरगञ्ज सङ्ग्रहालयलाई आम्दानीको दीर्घकालीन र राम्रो स्रोत बनाउन सकिन्छ।

हामीसँग स्रोत छ, साधन छ, सीप छ, पूँजी छ। तर हामीले यी निधिहरूको प्रयोग गर्न सकेका छैनौं। हामी साधन र स्रोतको अभावमा गरीब भएका होइनौं। ज्ञानको अभावमा गरीब भएका हौं। साझा सहमतिको अभावमा गरीब भएका हौं। विकास गर्ने इच्छा शक्तिको अभावमा गरीब भएका हौं। तर अब जागौं।

वीरगञ्ज र यस वरपर क्षेत्रका व्यक्ति, जसको उमेर अहिले साठी वर्षभन्दा माथि छ, उनीहरूले वीरगञ्ज देखि रक्सौल र वीरगञ्जदेखि अमलेखगञ्जको यात्रा गरेको हुनुपर्छ। उनीहरूको दिमागमा अहिले पनि वीरगञ्जबाट सञ्चालित रेलसेवाको तस्वीर ताजा हुनुपर्छ। यो लेखक स्वयं वीरगञ्जबाट रेल चढेर परवानीपुरसम्म पुगेको छ।

नगरप्रमुखज्यू, अब आर्थिक कुरा गरौं। वीरगञ्ज सङ्ग्रहालय निर्माण गर्न आवश्यक पर्ने कोष कहाँबाट ल्याउने त्यसबारे चर्चा गरौं। बाटो खोजौं। बाटो सजिलो छ।

वीरगञ्ज सङ्ग्रहालय निर्माण गर्न आवश्यक पर्ने कोष सृजना गर्नका लागि महानगरपालिकाले ऋणपत्र (Bonds) जारी गरेर, जनतामाझ पुगेर, सो ऋणपत्र खरीद गर्न जनतालाई आग्रह गर्न सक्छ। महानगरपालिका नै जमानी बसेको हुनाले सो ऋणपत्रमा लगानी गरिएको रकम नडुब्ने विश्वास व्यक्तिहरूमा भएर ऋणपत्र सजिलै बिक्री हुने वातावरण सृजना हुनेछ।

ऋणपत्र खरीदकर्तालाई न्यूनतम ब्याज दिने व्यवस्था पनि हुनुपर्छ। न्यूनतम ब्याजसमेत पाइने आसले वीरगञ्जवासी ऋणपत्र खरीद गर्न प्रेरित हुनेछन्।

महानगरपालिकाले ऋणपत्र जारी गर्ने व्यवस्था छैन भने तपाईंले पहल गर्नुहोस् र स्थानीय विकासका लागि महानगरपालिकाको ऋणपत्र जारी गर्न सक्ने कानून बनाउनुहोस्। कोषका लागि महानगरपालिकाले ऋणपत्र जारी गर्न पाउने व्यवस्था विश्वका अनेक मुलुकमा छ।

यसरी वीरगञ्ज महानगरपालिकाले वीरगञ्ज सङ्ग्रहालय निर्माण गर्न आवश्यक कोषको व्यवस्था गर्न सक्छ। त्यसकारण कोष निर्माण समस्या हुँदैन र कोषको लागि केन्द्र (सङ्घीय सरकारको मुख ताक्नुपर्दैन।

अर्को विकल्पको रूपमा वीरगञ्ज महानगरपालिकाले वीरगञ्ज सङ्ग्रहालय निर्माण गर्न निजी क्षेत्रलाई पनि आह्वान गर्न सक्छ। त्यस बेलाको रेलसेवासँग सम्बन्धित जमीन जुन अहिले महानगरपालिकाको स्वामित्वमा छ, त्यसलाई उपयोग गर्न पालिकाले निजी क्षेत्रलाई लिजमा पनि दिन सक्छ। निजी क्षेत्रको लगानीमा पनि वीरगञ्ज सङ्ग्रहालयको निर्माण हुन सक्छ। तर यसका लागि वीरगञ्ज महानगरपालिकाले उदार आर्थिक नीति निर्माण गरेर निजी क्षेत्रलाई आकर्षित गर्नुपर्छ।

वीरगञ्जमा जन्मेहुर्केकाहरूलाई वीरगञ्जको अति माया लाग्छ। लाग्नु पनिपर्छ किनभने उनीहरूको विगत, बाल्यकाल, युवाकाल, प्रौढकाल वीरगञ्जसँग जोडिएको हुन्छ। वीरगञ्ज ऐना हुन पुग्छ उनीहरूको विगत दर्शाउनका लागि।

आउनुहोस्, सबै मिलेर एउटा वीरगञ्ज सङ्ग्रहालयको निर्माण गरौं। चन्दाजस्तै ठानेर भए पनि ऋणपत्र खरीद गरौं। एउटा कोष निर्माण गरौं। तर वीरगञ्ज सङ्ग्रहालय निर्माण गरौं। र सङ्ग्रहालय निर्माणको नेतृत्व वीरगञ्ज नगरप्रमुखले लिनुहोस्।

आफ्नो कार्यकाललाई ऐतिहासिक एवं उपलब्धिमूलक बनाउन वीरगञ्ज नगरप्रमुखले वीरगञ्ज सङ्ग्रहालयको निर्माण गर्नुहोला भन्ने आशा एवं विश्वासका साथ यो पत्र लेखेको छु।


Loading comments...