बीमा बजार ! अब गाडी ग्यारेजमा गए बीमा कम्पनीले नै तिरिदिन्छ बैंकको किस्ता!


काठमाडौं । गाडी दुर्घटनामा परेमा क्षतिपूर्ति त जुनसुकै बीमा कम्पनीले पनि दिन्छन् । तर, तपाईंको घरखर्च चलाउन र बैंकको किस्ता तिर्न दिनहुँ सडकमा निस्कनै पर्ने गाडी दुर्घटना भएर महीनौंसम्म ग्यारेजमा थन्कियो भने के गर्नुहुन्छ ?

सम्भवत तपाईंले साथीभाइसँग सापटी मागेर बैंकको किस्ता तिर्नुहुन्छ । घरखर्च चलाउन अन्य काम खोज्नुहुन्छ । काम पाउनु भएन भने घरखर्च पनि सापटी मागेरै चलाउनुहुन्छ । साथीभाइबाट भनेको समयमा सापटी पाइएन भने बैंकलाई जरिवानासहित किस्ता तिर्नुहुन्छ ।

तर, तपाईंले नेको इन्स्योरेन्समार्फत गाडीको बीमा गरे तपाईंको गाडी ग्यारेजमा थन्किएको समयमा बैंकलाई तिर्ने किस्ता नेकोले तिरिदिन्छ । त्यसको लागि तपाईंले ‘मोटर लस अफ प्रोफिट पोलीसी (एमएलओपी)’ खरीद गरेको हुनुपर्छ ।

गाडीको बीमा जुनसुकै कम्पनीमार्फत गरे पनि एउटै दररेट लागू हुन्छ । नेकोमा गाडीको बीमा गर्दा लाग्ने पैसा पनि उही हो । तर, तपाईंको बैंकलाई तिर्ने ३ महीनाको किस्ता रकमको ५ प्रतिशत प्रिमियम तिर्ने हो भने तपाईंको गाडी ३ महीनासम्म ग्यारेजमा रह्यो भने पनि बैंकको तनाव लिनु नपर्ने कम्पनीका प्रमुख बजार अधिकृत विशालकुमार थापाले बताए ।

मानौं तपाईंको गाडीको मासिक किस्ता ५० हजार रुपैयाँ छ भने ३ महीनाको किस्ता रकम १ लाख ५० हजार रुपैयाँ हुन्छ । तपाईंले यसको लागि ७ हजार ५०० रुपैयाँ अतिरिक्त तिर्ने हो भने वर्षभरिमा ३ महीनाको किस्ता बीमा कम्पनीले तिरिदिन्छ ।

यो पोलीसीले दुर्घटनाका कारण तपाईंको गाडी १ महीना ग्यारेजमा बस्दा १ महीनाकै र ३ महीनासम्म ग्यारेजमा थन्किएको अवस्थामा ३ महीनासम्मकै किस्ता रकम कम्पनीले तिरिदिन्छ ।

मासिक किस्ता बढीमा १ लाख रुपैयाँसम्मको लागि कम्पनीले एमएलओपी बीमा गर्छ । वर्षमा बढीमा ३ महीनाको ३ लाख रुपैयाँसम्म बैंकको किस्ता कम्पनीले तिरिदिन्छ ।

‘जिन्दगीभर दु:ख गरेर जोडेको पैसामा बैंकको ऋणसमेत थपेर गाडी किनेको हुन्छ । गाडी चलाउन थालेको ४/६ महीनामै दुर्घटनामा परेर ग्यारेजमा थन्कियो भने त सामान्य मान्छेको जिन्दगी नै बर्वाद हुन्छ,’ बजार अधिकृत थापाले भने, ‘कम्तिमा ग्यारेजमा थन्किएको समयको किस्ता बीमाले कभर गरिदियो भने गाडी किन्नेलाई थप आर्थिक भार त पर्दैन ।’

विदेशतिर यस्तो बीमा पोलीसीमा सवारीधनी निकै आकर्षित भएका छन् । नेपालमा भने नेकोले पहिलोपटक यस्तो पोलीसी सार्वजनिक गरेको र अहिलेसम्म नेकोमा मात्रै यस्तो सुविधा रहेको पनि थापाले बताए ।

निजी सवारीधनीलाई ५० हजार
निजी सवारीधनीले भने वार्षिक ५० हजार रुपैयाँसम्म अतिरिक्त सुविधा पाउँछन् । उनीहरूले जतिसुकै किस्ता रकम तिर्ने गरी गाडी किनेको भए पनि २ हजार रुपैयाँ अतिरिक्त प्रिमियम तिर्दा वैकल्पिक सवारीसाधन प्रयोगका लागि भनेर कम्पनीले ५० हजार रुपैयाँसम्मको सुविधा दिने गरेको थापाले बताए ।

कम्पनीको मोटर बीमा पोलीसीले आफ्नै कारण भएको सानो तिनो दुर्घटनामा २ लाख रुपैयाँसम्मको दाबी ‘अन द स्पट’ दिने गरेको छ । यसको लागि पुलिस रिपोर्ट पनि बनाउनु पर्दैन । दुर्घटना भएको फोटो खिचेर कम्पनीको ह्वाट्सएप वा भाइबरमा पठाइदियो भने केही समयमै २ लाख रुपैयाँसम्मको दाबी भुक्तानी कम्पनीले दिने गरेको थापाले बताए । यो योजना २ पाङ्ग्रे र ४ पाङ्ग्रे सबैखाले सवारीसाधनमा उपलब्ध छ ।

२ लाख रुपैयाँभन्दा ठूलो क्षति भएको छ भने कम्पनीले मूल्याङ्कन गरेर १/२ दिनमा दाबी भुक्तानी दिने गरेको उनले बताए ।

कम्पनीले कृषि बीमा, सम्पत्ति बीमा, इन्जिनियरिङ बीमा, ट्राभल बीमा लगायतका पोलीसीहरूमा पनि भिन्न खालका योजनाहरू ल्याएको छ ।

अमेरिकन इन्स्योरेन्स ग्रुपको नेटवर्क पार्टनर रहेको नेको इन्स्योरेन्समा कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक र नागरिक लगानी कोष गरी ३ ओटा सरकारी संस्थाहरू प्रवर्द्धक छन् ।


Loading comments...