Lifestyle Portal
  •   २३ जेष्ठ २०८०, मंगलवार

हिमालले जोडेको साइनो : संघर्षपछि उदाएको सफलता

२१ चैत्र २०७९, मंगलवार १०:१९


कीर्तिमानी आरोही फुर्वा बने युरोपकै ठूलो राष्ट्रिय निकुञ्जको सद्भावना दूत

कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पालाई इटालीस्थित युरोपकै ठूलो राष्ट्रिय निकुञ्जले विश्वव्यापी सद्भावना दूत नियुक्त गरेको छ । वि विल राइज फाउण्डेशनद्वारा शनिबार आयोजित एक समारोहबीच ‘ग्रान सासो एण्ड मोन्टी देल्ला लागा नेशनल पार्क’ का अध्यक्ष तमासो नभारोले आरोही शेर्पालाई सो सम्बन्धी पत्र हस्तान्तरण गरेका हुन् । शेर्पा फाउण्डेशनका समेत सदभावना दूत तथा सदस्य हुन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ, के.पी. शर्मा ओली पत्नी राधिका शाक्य तथा बुढानीलकण्ठ नगरपालिकाकी उपमेयर अनिता लामालगायतको उपस्थितिमा शेर्पालाई पत्र हस्तान्तरण गरिएको हो । दोलखास्थित रोल्वालिङ गाउँमा जन्मेका शेर्पाको आरोहण क्षेत्रमा उपलब्धि, योगदान र हिमालप्रतिको मायाको उच्च सम्मान स्वरूप उनलाई सद्भावना दूत नियुक्त गरिएको हो ।

‘युरोपको ६०–७० प्रतिशत जैविक विविधताको खानीका रूपमा प्रसिद्ध ग्रान सासो एण्ड मोन्टी देल्ला नेशनल पार्क दुई हजार चौध वर्गमिटरमा फैलिएको छ । यो युरोपका सबैभन्दा ठूला राष्ट्रिय निकुञ्जमध्येको एक हो, जहाँ इटालीको सबैभन्दा अग्लो हिमाल ग्रान सासो अवस्थित छ । फुर्वासँगको हाम्रो हिमाली साइनो हो । सन् २०१५ को महाभूकम्पपछि फुर्वा ‘भिजिट नेपाल टु हेल्प नेपाल’ अभियानका सिलसिलामा वहाँ इटालीमा आउनुभएको थियो, त्यहीँबाट हाम्रो सहकार्यको शुभारम्भ भयो।’ अध्यक्ष नभारोले भने, ‘डाभिडे तथा एक्स्प्लोरा नुनाट इन्टरनेशनलसँगको सहकार्यमा फुर्वाले रोल्वालिङ र सगरमाथालाई जोड्ने टासीलाप्चा पासमा भिया फराटा निर्माण गरी पर्यटन पूर्वाधारको नमुना स्थापित गर्नुभयो । उच्च हिमाली क्षेत्र रोल्वालिङमा न्यून अक्सिजन भएको वातावरणमा पनि अनुकूलन भएका शेर्पा समुदाय तथा हिमाली जनावरहरूको वैज्ञानिक अध्ययन अन्वेषण गर्नुभयो । सबैभन्दा महत्त्वपूर्ण पक्ष हिमाली पर्यावरणको संरक्षण गर्न तथा जनचेतना जगाउन हिमाली आवाज बनिरहनुभयो । आफ्नो गाउँ ठाउँ र हिमाललाई यस्तरी माया गर्ने वहाँलाई सद्भावना दूतका रूपमा पाउनु हाम्रा निम्ति गर्वको कुरा हो ।’

ग्रान सासोका राजदूत तथा एक्स्प्लोरा नुनाट इन्टरनेशनलका अध्यक्ष डाभिडे पेलुज्जीले नेपाल आउँदा घरमा आए जस्तो महसुस हुने गरेको बताए। ‘फुर्वा र रोल्वालिङ बासीसँग मित्रता गाँसेको १२ वर्ष भयो । जतिपटक नेपाल आउँदा पनि आफ्नै घरमा आए जस्तो महसुस हुन्छ । म सबै नेपालीहरूलाई यस आत्मीयता तथा सौहार्दताका निम्ति धन्यवाद दिन चाहन्छु । फुर्वा सद्भावना दूत हुनुले यो माया, मित्रता तथा भातृत्व अझै प्रगाढ बन्नेछ ।’

‘दोलखाको विकट गाउँको हिमाली छोरो फुर्वा, देशको गौरवलाई इटाली सरकाले गरेको यस सम्मानले आफ्नो कामप्रति दत्तचित्त भएर बहुजन हित र सुखका निम्ति समर्पित रहने हो भने देशभित्रै पनि केही गर्न सकिन्छ भन्ने सुन्दर नमुना प्रस्तुत गरेको छ ।’ उपमेयर अनिता लामाले भनिन्, साथै उनले इटालीका अतिथिहरूलाई शिवपुरी राष्ट्रिय निकुञ्जको प्रवेशद्वार, प्राकृतिक , सांस्कृतिक तथा धार्मिक सम्पदाले सजिएको बुढानीलकण्ठ नगरपालिका घुम्न आमन्त्रण समेत गरिन् ।

के.पी. ओली पत्नी शाक्यले इमानदार, साहसी र सोझो फुर्वा तेन्जिङ शेर्पाजस्ता प्रतिभाहरू देशैभरि रहेको तथा त्यस्ता लुकेर रहेका प्रतिभालाई खोज्ने, संरक्षण गर्ने र नेपालको गर्व बनाउने फाउण्डेशनको बेजोड कार्यको प्रशंसा गरिन् । पूर्व मन्त्री गुरुङले नेपाल र नेपालीको तर्फबाट इटालियन नेशनल पार्कलाई धन्यवाद ज्ञापन गर्दै खुसी व्यक्त गरे । उनले भने ‘फुर्वा र मेरो, हामी दुवैको घर गौरीशङ्कर गाउँपालिका हो । वहाँको मेहनत र सफलताले हामीले वहाँलाई रोल्वालिङ गाउँको हिउँचितुवाकै रूपमा चिन्नुपर्छ । फुर्वालाई इटाली सरकारले गरेको यो सम्मान हामी नेपालीहरूको निम्ति सम्पत्ति हो ।’

फाउण्डेसनका संस्थापक निर्देशक निर्मल श्रेष्ठले फुर्वाको सफलतामा देशले नै गर्व गर्नुपर्ने बताए । ‘यसले शेर्पा जातिको मात्र नभएर नेपालकै नाम उचो बनाएको छ ।’ उनले भने । फाउण्डेसनका सञ्चालन निर्देशक अनुप कुमार बरालले फुर्वाले सानो उमेरमा नै देशको लागि महत्त्वपूर्ण योगदान दिएको र उल्लेखनीय कार्य गरेको बताए । त्यस्तै, फाउण्डेसनकी राष्ट्रिय–अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशक सुनिता दुलालले फुर्वाको यो सफलता नेपाल र शेर्पा जातिको अदम्य साहस, बहादुरी र पहिचानलाई अन्तर्राष्ट्रिय जगतसँग जोडने सेतु बन्ने बताइन ।

‘मैले जत्ति पनि काम गरेँ, केही रेकर्ड राख्छु वा केही पुरस्कार पाउँछु भनेर गरिनँ । साँच्चै भन्दा कहिल्यै त्यस्तो सोच पनि आएन । हिमाल चढ्नु सुरुमा बाध्यता थियो, त्यसपछि आवश्यकता र अहिले पेसा बन्यो । एकोहोरो आफ्नो काम गरिरहँदा यसरी समय समयमा अप्रत्याशित–अनपेक्षित फल पाउँदा साह्रै भाग्यमानी महसुस हुन्छ र अझै राम्रो काम गर्छु भन्ने जोस आउँदो रहेछ ।’ नवनियुक्त सद्भावना दूत शेर्पाले खुसी व्यक्त गरे ।

सद्भावना दूतका रूपमा शेर्पाले पार्क प्राधिकरण मार्फत संस्थागत रूपमा नेपालको भौगोलिक, सांस्कृतिक, प्राकृतिक तथा धार्मिक विविधताको प्रवर्द्धन गर्न इटाली तथा युरोपमा थप भिजिबिलिटी प्राप्त गर्नेछन् । साथै, सद्भावना दूत भएसँगै शेर्पा, पर्यावरण तथा वातावरण सम्बन्धी अध्ययन गर्ने विश्व वैज्ञानिक समुदायको एक हिस्सा बन्नेछन् । यसले सिङ्गो नेपालकै पर्यटन प्रवर्द्धन र हिमाली पर्यावरण र वातावरणको संरक्षणमा बलियो टेवा मिल्नेछ । सद्भावना दूतका रूपमा शेर्पाले ग्रान सासो एण्ड मोन्टी डेला लागा नेशनल पार्क र नेपालका राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्रहरुबीच सहकार्य गरी हरित गृह प्रभाव (ग्लोबर वार्मिङ) को अध्ययन अनुसन्धानजस्ता महत्त्वपूर्ण कार्य गर्न सम्पर्क स्रोतको भूमिका निर्वाह गर्नेछन् ।

शेर्पाले हालसम्म १५ पटक सफल सगरमाथा आरोहण गरिसकेका छन् । ड्रिर्मश डेन्टिनेशन ट्रेक्स एण्ड एक्सपिडिशन प्रा.लि. का सञ्चालक उनी विगत दुई दशकदेखि पर्वतारोहण क्षेत्रमा कार्यरत छन् । कम उमेरमा धेरै पटक सगरमाथा आरोहण गर्ने आरोहीका रूपमा ख्याति कमाएका उनी यसअघि युवा प्रतिभा पुरस्कारबाट सम्मानित भएका थिए । एकै परिवारका आठ जना र चार दाजुभाइ एकै पटक सगरमाथा आरोहण गरेको उनको परिवारलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डस्ले ३ विश्व कीर्तिमानको उपाधि प्रदान गरेको छ ।

कार्यक्रममा रोल्वालिङ गाउँ र सगरमाथा क्षेत्र जोड्ने नेपालकै सुन्दर र विकट टासीलाप्चा पासमा सन् २०१७ र सन् २०१९ मा स्टिल केबलको बाटो भिया फराटा निर्माण गरेबापत एक्स्प्लोरा नुनाट इन्टरनेशनलका सबै सदस्यहरूलाई सम्मान समेत गरिएको थियो । साथै, रोल्वालिङस्थित बेदिङ स्कुलका निम्ति ७ थान ल्यापटप फाउण्डेशनका संस्थापक निर्देशक निर्मल श्रेष्ठलाई हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ठूला अस्पतालहरुमा लक्षित वर्ग निःशुल्क उपचार अवस्थाको अनुगमन सुरु गरेको छ । यस क्रममा स्वास्थ्य विभागका

काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको राष्ट्रपति भवनमा

भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको