अविस्मरणीय उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बन्नुहोस्
प्रधानमन्त्री पुष्पकमल दहालले हालै गरेको मन्त्रिमण्डल विस्तारमा हाम्रो जिल्लाबाट निर्वाचित सांसद रमेश रिजाल पनि परेका छन्। रिजालले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको रूपमा शपथ लिइसकेका छन्। यो स्तम्भकार पनि पर्सावासी भएकोले रिजाल मन्त्री भएकोमा हर्षित भएको त छ नै, रिजालले आफ्नो कार्यकालमा यस जिल्लाको लागि केही विशेष कार्यक्रमहरू ल्याउने छन् भनी आशावादी पनि भएको छ। सत्ताका लागि गरिने गठनबन्धनले रिजाललाई कति दिनसम्म मन्त्री भएर काम गर्ने दिने हो त्यो यथार्थलाई अहिले एकातिर पन्छ्याएर राखौं।
विकसित देशहरूमा नेता एवं उच्च प्रशासक (प्रधानमन्त्री, मन्त्री) हरूले आफ्नो एवं आफ्नो कार्यसँग सम्बन्धित क्षेत्रका जानकार एवं विज्ञहरूले लेखेका विभिन्न किसिमका सामाग्री एवं आलेखहरू अध्ययन गर्छन्। त्यति मात्र होइन, उनीहरू शिक्षित र अध्ययनशील पनि हुन्छन्। तर हाम्रो देशका नेताहरूमा त्यस किसिमले अध्ययन गर्ने परिपाटी बसिसकेको छैन। नेताहरूको अधिकांश समय सत्ता राजनीतिको लागि प्रयोग हुने दाउपेचको निर्माण एवं प्रयोगमा बित्ने गरेको हामीसँग दुःखद तथ्य छ। आशा छ मन्त्रीजी, तपाईंले त्यो परिपाटी भत्काउनुहुनेछ। आफ्नो चुनाव क्षेत्रका विज्ञ एवं जानकारहरूले के भन्दैछन्, के लेख्दैछन्, त्यस उपर ध्यान दिनुहुनेछ। यस्तो आग्रह गर्ने यो स्तम्भकार सम्बन्धित क्षेत्रको विज्ञ हो भन्न खोजेको भने होइन। यो स्तम्भकार निवेदक मात्र हो। मात्र आफ्नो विचार तपाईंसमक्ष राख्दैछ।
मन्त्रीजी, तपाईंलाई थाहा नै छ अहिले हाम्रो देशको आर्थिक स्थिति जर्जर हुन पुगेको छ। खासगरी तपाईंंले जिम्मेवारी पाएका क्षेत्रहरू उद्योग, वाणिज्य, आपूर्ति चिन्तनीय स्थितिमा छ। नेपालबाट विदेशतर्फ हुने निर्यातको सङ्ख्या र परिमाण दुवै उल्लेखनीय किसिमले वृद्धि गर्न सकिएको छैन। हाम्रो व्यापार बूढो गोरुजस्तो भएको छ, उठ्न सकिरहेको छैन। उद्योगको त कुरै न नगरौं।
तपाइ‘ स्वयंले नै पनि अनुभव गरेको देखेको कुरा हो, वीरगंज कुनै समयमा नेपालको आर्थिक राजधानी थियो। वीरगंज नेपालको व्यापारद्वार थियो, औद्योगिक नगरी थियो। वीरगंजमा चिनी कारखाना, कृषि औजार कारखाना, मोजा कारखाना, स्टिल कारखाना, कटन मिल, चुरोट कारखाना, सलाई कारखाना, बिस्कुट कारखाना, कत्थामिल थियो। समिल, राइस मिलहरू थिए। धान चामलको व्यापार गर्ने वीरगंजमा दर्जनौं ठूला व्यापारी थिए। वीरगंजले मात्र तत्कालीन धान चामल निर्यात कम्पनीको माध्यमबाट हजारौं क्विन्टल धान, चामल भारत, बङ्गलादेश, मरिसस तर्फ निर्यात गर्दथ्यो।
ती उद्योगहरू कहाँ गए? किन गए? कसरी गए? यसबारे कहिले पनि विस्तृत अध्ययन भएन। कारण पत्ता लगाउने काम भएन। उल्टो नेपालतर्फ हुने आपूर्तिको परिमाण बढ्दै गयो। देश विदेश गएर, ज्यानको बाजी लगाएर, रगत पसिना बगाएर ल्याएको कमाइले चल्ने भयो। ‘रेमिट्यान्स’ नआएमा देशको अर्थतन्त्र धराशायी हुने स्थिति भयो। कृषिको त झनै स्थिति दयनीय छ।
विगतमा के भयो त्यो कुरा अब छाडि दिउँ, वर्तमानको कुरा गरौं।
तपाईं समग्र राष्ट्रको उद्योग, वाणिज्य र आपूर्ति क्षेत्रको कायापलट गर्नुहोस्। देशको आर्थिक स्थितिमा सुधार ल्याउनुहोस्। उद्योग क्षेत्रको विस्तार गर्नुहोस्। आपूर्ति कम गरेर निर्यात वृद्धि गर्नेतर्फ लाग्नुहोस् । उपरोक्त कार्यहरू तत्काल गर्नुहोस् भन्न खोजेको पनि होइन।
भन्न के खोजेको हो भने तपाईंको कार्यकालमा कमसे कम यस्तो वाणिज्य एवं आपूर्ति नीति निर्माण गर्नुहोस् जसले गर्दा पर्सा जिल्ला तरकारी र फलफूल उत्पादनमा आत्मनिर्भर हुन सकोस्। अन्डा, माछा र मासु उत्पादनमा आत्म निर्भर हुन सकोस्। तरकारी, फलफूल, मासु, माछा, अन्डा आदि भारतबाट ठूलो परिमाणमा आयात गर्ने स्थिति अन्त्य होस्।
कृषि मन्त्रालयसँग सहकार्य गर्नुहोस्। कम ब्याजदरमा कृषकहरूलाई कृषि ऋण उपलब्ध गराउने व्यवस्था मिलाउनुहोस्। कृषि मल, बीउ आदिको उपलब्धता सहज पार्नुहोस्। सिंहदरबार होइन, बढी समय पर्सा जिल्लाका गाउँहरूतिर बिताउनुहोस्। पर्सा जिल्लामा एक दुईवटा कृषक–सम्मेलनको आयोजना गर्नुहोस् र कृषकहरूले के के समस्या बेहोरिरहेका छन् ती कुराहरू बुझ्नुहोस्। कृषि क्षेत्रमा के के समस्या छन् र तिनको समाधान कसरी गर्न सकिन्छ भन्नेबारे कृषकहरूसँग राय लिनुहोस्। कृषि विज्ञानमा मास्टर र पिएचडी गरेका, तर माटो भने कहिले नछोएका विज्ञहरूभन्दा नित्य माटोसँग खेल्ने सामान्य कृषकहरूलाई कृषिका समस्या र समाधानबारे राम्रो जानकारी हुन्छ। कृषकहरूले कृषिबारे राम्रो जानकारी राखेका हुन्छन्।
अर्थ मन्त्रालयसँग समन्वय गर्नुहोस् र कृषकहरूलाई कम ब्याजदरमा र दीर्घकालका लागि कसरी कृषि–ऋण उपलब्ध गराउन सकिन्छ, त्यसबारे अर्थ मन्त्रालयका विज्ञहरूसँग परामर्श लिनुहोस्। कृषकहरूलाई दिइने ऋणको बीमा पनि गर्न सकिन्छ। त्यस्ता उपायको खोजी गर्नुपर्छ।
कृषकहरूले कृषि–ऋण लिएर उक्त ऋण कृषि कार्यमा उपयोग गरेका छन् कि छैनन् भनी थाहा पाउन स्वयंले पनि निरीक्षण गर्नुहोस्। कृषकहरूको घर दैलौमा पुग्नुहोस् उनीहरूको समस्या कुनै सहायकमार्फत होइन, स्वयंले सुन्नुहोस्।
कृषकहरूले लगाउने बालीको बीमा कसरी गर्न सकिन्छ भन्ने उपाय पत्ता लगाउन कृषि मन्त्रालयका विज्ञहरूलाई भन्नुहोस्। कृषकहरूको बालीको बीमा गर्ने व्यवस्था भएमा खराब मौसमबाट हुने बालीको क्षति–मारबाट कृषकहरूलाई जोगाउन सकिन्छ।
पर्सा जिल्लाका कृषकहरूले उत्पादन गरेका वस्तुहरू पर्सा जिल्लाभित्र नै खपत हुने स्थिति हुनु राम्रो हो। यदि त्यस्तो नभएमा उनीहरूले उत्पादन गरेका वस्तु बिक्री गर्न बाह्य बजारको खोजी गर्नुपर्ने हुन्छ। बाह्य बजारको खोजी गर्नुपर्ने स्थिति आएमा, आफ्नै पहलमा बाह्य बजार खोज्ने कार्य गर्नुहोस्। आफ्ना संयन्त्रहरूको प्रयोग बाह्य बजार खोज्न प्रयोग गर्नुहोस्।
बढी समय मन्त्री क्वाटर र सिंहदरबारमा आसेपासेहरूसँग घेरिएर बस्नुभयो भने अर्को चुनाव तपाईंको लागि प्रतिकूल हुन सक्छ तर बढी समय पर्सा जिल्लाका गाउँहरूमा कृषक, व्यापारी, उद्योगपति र आपूर्तिकर्ताहरूसँग बिताउनु भयो भने अर्को चुनावमा तपाईंको विजय पुनः निश्चित हुनेछ। तपाईंका कामहरूले मतदाताहरूलाई तपाईंलाई भोट दिन बाध्य पार्नेछ।
सधैं र बढी काठमाडौं (केन्द्र) मा बस्ने परम्पराको अन्त्य गर्नुहोस्। आफ्नो कार्य क्षेत्र वीरगंज र पोखरियालाई बनाएर आफ्ना कार्यहरू जिल्लामा नै केन्द्रित गर्नुहोस्। विकासको पुरानो मोडेल (केन्द्रमा बसेर निर्देशन दिने) परिवर्तन गर्नुहोस्।
आफ्नो वरिपरि केवल कार्यकर्ता मात्र होइन, विज्ञहरू पनि राख्नुहोस्। उनीहरूसँग नियमित सल्लाह माग्नुहोस्। उनीहरूलाई पनि गृह–कार्य दिनुहोस् र गृह–कार्य गरे–गरेनन् त्यस उपर निगरानी राख्नुहोस्।
तपाईंको कार्यकालमा केवल पर्सा जिल्लालाई एक ‘पाइलट प्रोजेक्ट’ को रूपमा लिनुहोस्। त्यस्तो गर्न सकिन्छ। तपाईंका योजनाहरूले पर्सा जिल्लामा सफलता पायो/पाएन त्यसको मूल्याङ्कन गर्नुहोस्। पर्सा जिल्लालाई तरकारी, फलफूल, माछा, मासु, अन्डा उत्पादनमा आत्मनिर्भर तुल्याउन सकिने सम्भावनाको परीक्षण त्यस किसिमको पाइलट प्रोजेक्टको प्रयोगबाट पनि थाहा पाउन सकिन्छ।
रिजालजी, तपाईं मन्त्री भएको खुशी रोक्न सकिनँ र त्यो खुशीलाई यस किसिमबाट अक्षरको रूपमा व्यक्त गरें। हामीलाई आशा होइन, विश्वास छ, तपाईं मन्त्री भएको समय पर्सा जिल्लाले कृषि, उद्योग, वाणिज्यको क्षेत्रमा अवश्य पनि केही सुधार भएको देख्नेछ। अनि तपाईं हाम्रा लागि एक अविस्मरणीय उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बन्नुहुनेछ।
एकै व्यक्ति पटकपटक र दर्जनौंपटक मन्त्री भएका छन्। सदा केवल शक्ति र सत्ताको लागि दौडेका छन्। आफ्नो चुनाव क्षेत्र र समग्र राष्ट्रको आर्थिक विकासमा भने ध्यान दिएका छैनन्। राजनीति आरम्भ गरेको छ महीनाभित्र मन्त्री भएका छन्। तर तपाईंले लामो समय राजनीतिमा बिताउनुभएको छ। राजनीतिमा लागेको चार दशकपछि बल्ल मन्त्री हुनुभएको छ। यसबाट के प्रस्ट हुन्छ भने तपाईं सत्ताको दौडमा खासै लाग्नुभएको छैन। जिल्लाको विकासलाई महत्व दिनुभएको छ। यस कारणले पनि तपाईं समक्ष आफ्ना विचार राख्न मन लाग्यो।
मन्त्रीजी, तपाईंको कार्यकाल सुखद र सफल होस्।