नेपाली तेक्वान्दोलाई अर्को लालमोहर, दिनेश शर्माले पाए अष्ट्रेलियाको ‘अन्तर्राष्ट्रिय राजदूत अवार्ड’


‘नेपाल तेक्वान्दो महासंघ’का अध्यक्ष दिनेश शर्मा अष्ट्रेलियाको तेक्वान्दो संस्था अन्तर्राष्ट्रिय तेक्वान्दो फेडरेशन(आइटिएफ) को ‘अन्तर्राष्ट्रिय राजदूत अवार्ड’ प्राप्त गरेका छन् ।

अष्ट्रेलियाको मेलबर्नमा २३ अप्रिल २०२३ मा सम्पन्न आइटिएफ, हल अफ फेम अवार्ड कार्यक्रमको पाँचौँ संस्करणका अवसरमा प्रदान गरिने विभिन्न विधाहरुमध्ये शर्मालाई उक्त अवार्ड प्रदान गरिएको हो ।

आइटिएफले लाइफटाइम योगदान पुरस्कार, अन्तर्राष्ट्रिय राजदूत पुरस्कार, उत्कृष्ट एथलीट पुरस्कारलगायत ४ अन्य विधाहरुमा विभिन्न देशमा आत्मरक्षा कलामा सर्वाधिक लोकप्रिय खेल तेक्वान्दोको क्षेत्रमा योगदान पुर्र्याएकाहरुलाई सम्मान गर्दै आएको छ ।

शर्माले अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आइटिएफ)को तत्वधान र युनाइटेड आइटिएफ तेक्वान्दो अष्ट्रेलियाको आयोजनामा मेलबर्नमा २२ र २३ अप्रिल २०२३ मा हुने तेस्रो ग्लोबल ओपन तेक्वान्दो च्याम्पियनसिप २०२३ को लागि नेपालको टिम प्रशिक्षकको जिम्मेवारी समेत सम्हाल्ने जानकारी दिएका छन् । निजगढ नगरपालिका ३ सिंगोल घर भएका शर्मा खेल, राजनीति तथा पत्रकारीतामा रुचि राख्छन् ।

लाइभमाण्डूसंगको कुराकानीका क्रममा शर्मा भन्छन्, “मैले जुन खेलमा जिन्दगी सुम्पिएको छु त्यस खेलको अन्तर्राष्ट्रिय संस्थाले मलाई यस अवार्डका लागि योग्य ठानेकोमा नेपाली तेक्वान्दोको उच्च मूल्यांकन भएको महशुस गरेको छु । खेल जीवनको प्रारम्भिक समय मलाई अहिले सम्झना आइरहेको छ । उतिखेर खेलकूलमा लाग्दा भविष्य हुन्न भन्ने घर तथा आफन्तको कुरालाई वेवास्ता गरी यही क्षेत्रमा नाम दाम पनि बनाए र सम्भावित अब्बल खेलाडी उत्पादन गरी उनीहरुले खेल मैं उज्जवल भविष्य देखून भनेर लागि परेको छु । यो अवार्ड घोषणाले मनमा शान्ति र खुशीको अनुभूती भएको छ ।”

शर्माले अगाडी थपे, “नेपालमा हामीले गरेको काम र तेक्वान्दोको श्रीवृद्धिमा हाम्रो सक्रियता देखेर विदेशी मास्टर तथा ख्याति बोकेका खेलाडीहरु अत्यधिक खुशी मान्छन् । धेरैले त नेपाल आउन मन लागेको कुरा मसंग गरे । यसले नेपालमा खेल पर्यटनमा एउटा ईँट थप्नसक्छ जस्तो लाग्छ । यही स्तरको अन्तर्राष्ट्रिय अवार्ड कार्यक्रम नेपालमा गर्ने योजना छ, यता साथीहरु पनि यो कुराले उत्साहित छन् । हेरौं देशका लागि यही क्षेत्रमार्फत् के के गर्न सक्छु, सबै कोशिस गर्नेछु ।”

शर्मा नेपाल एवं अन्तर्राष्ट्रिय स्तरमा मार्सल आर्टको प्रवद्र्धनमा सक्रिय रूपमा संलग्न छन् । उनी विश्व मार्सल आर्ट हल अफ फेमका निर्देशक र नेपाल राष्ट्रिय मार्सल आर्ट गेम्स महासंघका महासचिव हुन । उनी नेपाल फाइट क्लब र साङ्ग्रोक नेपाल तेक्वान्दोे एकेडेमीका अध्यक्ष र मुख्य प्रशिक्षक समेत हुन् ।

शर्माले मार्सल आर्टसँग सम्बन्धित धेरै अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा भाग लिएका छन । शर्माकोे तेक्वान्दो कोचिङ क्याम्प, अन्तर्राष्ट्रिय रेफ्री र प्रशिक्षक तालिमहरुमा समेत सक्रिय सहभागिता रहने गरेको छ । उनले संयुक्त राज्य अमेरिका, बेलायत, जर्मनी, ब्राजिल, दक्षिण कोरिया, इटाली र अन्य देशहरूमा आयोजित विभिन्न अन्तर्राष्ट्रिय मार्सल आर्ट कार्यक्रमहरूमा खेलाडी, प्रशिक्षक, रेफ्री र कार्यक्रम निर्देशकको रूपमा जिम्मेवारी सम्हालि सकेका छन् ।

मार्सल आर्टको क्षेत्रमा अतूलनीय योगदान पुर्र्याएका शर्मा यसअघि दर्जनौं राष्ट्रिय एवं अन्तर्राष्ट्रिय पुरस्कारहरूबाट सम्मानित भइसकेका छन् । शर्माले अमेरीका, बेलायत, जर्मनी, ब्राजिल, भारत लगायतका मुलुकबाट अन्तर्राष्ट्रिय पुरस्कारहरु हात पारिसकेका छन् ।


Loading comments...