पोलहरुको अब्यवस्थित तारले शहरलाई आगलागीको जोखिममा पारेको छ: मेयर बालेन


शहरका पोलहरुमा तारको अवस्था कस्तो छ भनिरहनु नपर्ला । त्यसमा हजारौँ मिम बनेका छन्, ट्रोल भएका छन् । भौतिकरुपमा तिनले शहरलाई अव्यवस्थित बनाएका छन् भने आगलागीको जोखिम पनि बढाएका छन् । गतबर्षमात्रै अव्यवस्थित तारहरुको कारण ५३ ठाउँमा आगलागी भएको तथ्यांक छ ।

यसलाई व्यवस्थित बनाउन, एकिकृत विकासका लागि सम्बन्धित कानुन बनाउन आग्रह गरेको धेरै भइसकेको थियो । त्यसतिर कुनै सुनुवाइ नभएर हामीले १५ दिन पहिले सडकको पोलमा रहेको तारको व्यवस्थापन गर्न भनेर सूचना जारी गरेका थियौँ । यसबिच पनि यो समस्या सुनुवाइ होला भन्ने आश थियो तर त्यसको विपरित त्यो तार व्यवस्थापन गर्दा इन्टरनेट लगायत सेवा अवरुद्ध हुन सक्ने कारणदेखि यस्तो कार्य नगर्न आदेश प्राप्त भयो ।

समस्यालाई यथावत राखेर हामीले व्यवस्थित र सुन्दर महानगर प्राप्त गर्न सक्दैनौँ । आगलागीको जोखिम कम गर्न र व्यवस्थापन गर्न काठमाण्डौ महानगर आफ्नो अधिकारभित्र रहेर कार्य गर्न तत्पर छ । शहर व्यवस्थित, सुन्दर बनाउन तथा नागरिकको जनधनको सुरक्षाको लागि हामी क्रियाशील छौँ । यसमा कतिपय अवस्थामा तत्कालका लागि कसैलाई असुविधा पुगेमा हामी खेद प्रकट गर्दछौ ।


Loading comments...