
‘नक्कली भुटानी शरणार्थी’ र अर्थतन्त्रमा यसको प्रभाव
११ जेष्ठ २०८०, बिहीबार ११:५५
नक्कली भुटानी शरणार्थी समस्या राजनीतिक प्रकृतिको रहेको र यसले राष्ट्रिय राजनीतिलाई मात्र प्रभावित गर्ने जस्तो देखिए पनि, यो अति जटिल प्रकृतिको मुद्दा भएकोले यसले राष्ट्रको अर्थतन्त्रलाई पनि प्रभावित गर्ने देखिन्छ र गर्ने पनि छ। यो जटिल मुद्दा अन्तर्राष्ट्रियजगत् र खासगरी अमेरिकाको सरोकारको विषयसमेत हुन पुगेकोले यो मुद्दाले अन्तर्राष्ट्रिय समुदायले नेपाललाई हेर्ने दृष्टिकोणमा निश्चितरूपमा परिवर्तन आउनेछ। खासगरी नेपालसँग आर्थिक कारोबार गर्दा अन्तर्राष्ट्रिय समुदायले नेपाललाई अबदेखि शङ्काको अति बलियो घेरामा राखेर हेर्नेछ, सजिलै विश्वास गर्नेछैन।
यो मुद्दाले नेपाललाई एक अति भ्रष्टाचारी राष्ट्रको रूपमा विश्वसामु परिचित गराएको छ। अन्तर्राष्ट्रिय वित्तीय संस्था र दातृ राष्ट्रहरूले नेपाललाई आर्थिक ऋण, अनुदान, सहयोग आदि उपलब्ध गराउँदा अब दशचोटि सोच्नेछन्। ज्यादै गम्भीर भएर र अति नै छानबीन गरेर कुनै आर्थिक सहयोग उपलब्ध गराउनेछन्। यो नेपाल र नेपालीहरूको लागि ठूलो लज्जाको विषय हो। त्यस कारण देशले नै लज्जाबोध गर्ने यो विषयलाई त्यतिकै सामसुम हुन दिनुहुँदैन। यस मुद्दाको गम्भीर र निष्पक्ष किसिमले अनुसन्धान हुनुपर्छ। र यो मुद्दामा आरोपितहरू दोषी ठहर भएमा उनीहरूलाई नेपालको कानूनबमोजिम कारबाई गर्नुपर्छ। कुनै मन्त्री वा प्रधानमन्त्री दोषी ठहर हुँदाको अवस्थामा सत्ता र शक्ति प्रयोग गरेर जोगिन खोजे उनीहरूलाई जोगिन दिनुहुँदैन। र यसका लागि राज्यका संयन्त्रहरूभन्दा बढी नागरिक समाज सचेत हुन जरुरी छ। अहिले राज्य निरीह भएको र राज्यका कार्यपालिका, न्यायपालिक र विधायिका भ्रष्ट नेताहरूको नियन्त्रणमा रहेकाले नागरिक समाज थप सचेत हुन जरुरी छ।

नेपालमा यसभन्दा पहिले पनि अनेक भ्रष्टाचारकाण्ड भएका छन्। नेताहरूले शक्ति र सत्ताको आडमा अनेक जघन्य अपराध गरेका थुप्रै उदाहरण छन्। तर नक्कली भुटानी शरणार्थी मुद्दा, जस अन्तर्गत नेपालीहरूलाई राज्यविहीन पारेर नक्कली शरणार्थी बनाउने कार्य भएको छ, त्यो आफैंमा अक्षम्य र महाअपराध हुन पुगेको छ। आफ्नो राज्य हुँदाहुँदै, व्यक्तिलाई राज्यविहीन पार्नु महाअपराध हो। राज्य भएको व्यक्तिलाई शरणार्थी बनाउनु महाअपराध हो। यस्तो महअपराध गर्नेहरूलाई दण्डित नगर्ने हो भने देशको न्याय प्रणाली र शासन व्यवस्थाबाट जनताको विश्वास समाप्त हुनेछ। देशमा अराजकता बढ्नेछ । राज्य भएको व्यक्तिलाई राज्यविहीन बनाउनेहरूले गरेको अपराध सामान्य होइन ।
नक्कली शरणार्थी बनाउनेहरूले कानून अनुसार सजाय पाउनेछन् वा छैनन्, त्यस उपर छलफल गर्नुपूर्व नेपालको वर्तमान राजनीतिक स्थिति, नेताहरूको द्वैध चरित्र र राजनीतिक दलहरूमाथि जनताको पूर्ण अविश्वास सम्बन्धमा विचार पुर्याउन आवश्यक छ।
नेपालका राजनीतिक दलहरूको अहिलेको चरित्र अति नै अनौठो किसिमको छ। खासगरी परम्परागत दलहरू नेपाली काङ्ग्रेस, एमाले, माओवादी केन्द्र आदिको चरित्र अनौठो मात्र होइन, लज्जास्पद किसिमको छ, घिनलाग्दो छ। व्यक्तिगत र दलगत स्वार्थ छ भने यी दलहरूले एकअर्काको खुट्टा तान्ने गर्छन्। घोर आलोचना गर्छन्। पानी बार्छन्। तर सामूहिक स्वार्थ छ भने यी दलहरू एकअर्कासँग पानी र चिनीजस्तो गरेर मिल्छन्। देश र जनताका लागि होइन, यी दलहरूका लागि फाइदा हुने किसिमको विधेयक पास गर्नुपर्यो, सरकार बनाउनुपर्यो, शक्ति प्राप्त गर्नुपर्यो, नियुक्ति र पदहरू बाँड्नुपर्यो, भ्रष्टाचार गर्नुपर्यो भने यी दलहरू पानी र चिनीजस्तो नछुट्टिनेगरी मिल्छन्। कुन दलको नीति तथा कार्यक्रम के हो, सिद्धान्त र विचार के हो, कार्य पद्धति के हो छुट्याउनसमेत कठिन हुन्छ। यी सबै दल एउटै अनुहारका हुन पुग्छन्।
यी दल र यिनका नेताहरूले बनाएको विशेष किसिमको राष्ट्रिय परिस्थितिमा नक्कली शरणार्थी बनाउने अपराधीहरूले सजाय पाउँछन् भनी आशा गर्ने ठाउँ अति नै कम छ। नक्कली भुटानी शरणार्थी मुद्दाले सबै ठूला राजनीतिक दल र खासगरी एमाले, नेका र माओवादी केन्द्रलाई समान किसिमले प्रभावित गर्ने र यी दलका ठूला नेताहरूसमेत पनि यो मुद्दामा तानिने स्थिति रहेकाले यी दलहरूले नक्कली भुटानी शरणार्थी मुद्दाका दोषीविरुद्ध कारबाई गर्लान् भनी विश्वास त धेरै परको कुरा, आशा पनि गर्न सकिंदैन।
राष्ट्रको पहिचान र विश्वसनीयतामा आँच पुर्याउने यो मुद्दाका दोषीहरू पत्ता लगाउने, दोषीहरूलाई दण्ड दिने र अब आइन्दा यस्तो जघन्य अपराध हुन नदिनेतर्फ सचेत हुन सामान्य जनता र नागरिक समाजका अभियन्ताहरूले पहल गर्न आवश्यक छ। दलहरूले यो मुद्दा ढाकछोप गर्ने प्रयास गर्नेछन्। ढाकछोप गर्न पद र शक्तिको व्यापक दुरुपयोग गर्नेछन्। यी दलका नेताहरूका विगतका कार्यहरूले यस कुराको पुष्टि गर्छ।
न कुशल शासन, न कुशल नेतृत्व दिन सक्ने यी नेताहरूले जनतालाई नागरिकता त्यागेर शरणार्थी बन्न तयार हुने स्थितिमा पुर्याएका छन्। देश, शासन र नेताहरूबाट जनता यति बढी निराश हुन पुगेको छ कि ऊ आफ्नो देश त्यागेर शरणार्थी हुन तयार भएको छ। जनताको यस्तो चरम निराशा, नेपालको लागि इतिहासमैं पहिलोपटक देखिएको छ। यो गणतन्त्रले ल्याएको उपहार हो। यस विषयमा नेताहरू गम्भीर हुनुपर्ने हो तर भएका छैनन् र हुने पनि छैनन्। शक्ति र सत्ताका लागि जे पनि गर्न तयार रहने यी नेताहरूबाट त्यस्तो अपेक्षा पनि गर्न सकिंदैन। यी नेताहरूले राज्य शक्ति र राज्य सत्ताको चरम दुरुपयोग गरिरहेका छन्। शेरबहादुर देउवा, केपी ओली, पुष्पकमल दाहालबाट शक्ति र सत्ताको चरम दुरुपयोग भइरहेको छ।
नक्कली भुटानी शरणार्थी मुद्दाका दोषीहरूलाई कारबाई यी दलहरूले गर्लान् भनी आशा गर्ने ठाउँ नरहेकोले जनताले नै ठोस भूमिका खेल्न आवश्यक छ। खासगरी नागरिक समाजका अगुवाहरूले सरकार, दल र उपल्ला नेताहरूलाई यस मुद्दाका दोषीहरूविरुद्ध कारबाई गर्न दबाब दिन आवश्यक छ। यस मुद्दाका दोषीहरूलाई कारबाई गर्न यी नेताहरूलाई बाध्य पार्न नागरिक समाजका अभियन्ताहरूले शान्तिपूर्ण विरोध गर्न, प्रदर्शन गर्न, आमसभा गर्न आवश्यक छ। यस्ता कार्य गरेर दोषीहरूविरुद्ध कारबाई गर्न बाध्य पार्न अति आवश्यक छ। यी नेताहरूलाई उनीहरूको स्वेच्छामा छाड्ने हो भने दोषीहरूलाई कारबाई गर्नेछैनन् भन्ने कुरा निश्चित छ।
यो मुद्दाले नेपालको गरीबीसँग पनि सरोकार राख्छ। नेता, सरकार, मन्त्री र प्रधानमन्त्री नै पनि गम्भीर प्रकृतिको अपराध (देशको नागरिक बिक्री गर्ने) कार्यमा लागेको देशमा अन्तर्राष्ट्रिय लगानीकर्ताहरूले पनि लगानी गर्न चाहँदैनन्। लगानीकर्ताहरूले आफ्नो पूँजी सुरक्षित र सुशासन भएको मुलुकमा लगानी गर्न खोज्छन्। सुरक्षा र सुशासन भएका युरोपका देशहरूमा जुन अनुपातमा अन्तर्राष्ट्रिय लगानी भएको छ, त्यसको तुलनामा अफ्रिकाका भ्रष्टाचारमा लिप्त र सुशासन नभएका देशहरूमा ज्यादै कम भएको छ। कुनै पनि राष्ट्रिय वा अन्तर्राष्ट्रिय लगानीकर्ताले अहिले सुडान, इथियोपिया, सोमालियाजस्ता सुशासन नभएको र अति भ्रष्टाचारले आक्रान्त देशमा लगानी गर्नेछैन। यी र यस्ता अनेक कारणले गर्दा नक्कली भुटानी शरणार्थी मुद्दाका दोषीहरूले सजाय नपाउने हो र नेपालमा सुशासन नरहेको सन्देश अन्तर्राष्ट्रिय समुदायमा जाने हो भने अन्तर्राष्ट्रिय लगानीकर्ताहरूले लगानी गर्नेछैनन्। र यसबाट नेपालको आर्थिक स्थिति निश्चितरूपमा प्रभावित हुनेछ।
अन्तर्राष्ट्रियजगत्मा नेपालको पहिचान असल तुल्याउन भ्रष्ट नेताहरूलाई नेपालको राजनीतिबाट सदाका लागि बिदा गर्न आवश्यक छ। यी दुई/चार नेताहरू को हुन् भन्ने कुरा जगजाहेर छ।
जनता जस्तो छ, त्यसै अनुसार नेताहरू उत्पादन हुने भएकाले सर्वप्रथम त हामीले हाम्रो समाजलाई नै सही दिशामा रूपान्तरण गर्न आवश्यक छ। सम्पूर्ण समाजलाई भ्रष्टाचारविरोधी बनाउन आवश्यक छ । सम्पूर्ण समाजलाई असल नेताहरूलाई चुनावमा विजयी गराउने मनस्थितिमा पुर्याउन आवश्यक छ। माटो राम्रो भए मात्र बाली सप्रन्छ। भ्रष्ट समाजबाट असल नेता कहिले उत्पादन हुन सक्दैन। यस तथ्यलाई मनन गर्न अति आवश्यक छ।
नक्कली भुटानी शरणार्थी मुद्दाको जरा हाम्रो समाजको भित्री तहसम्म फैलिएको छ। र समाज सुधार भने समाजले नै गर्ने हो। हामीले नै गर्ने हो।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ठूला अस्पतालहरुमा लक्षित वर्ग निःशुल्क उपचार अवस्थाको अनुगमन सुरु गरेको छ । यस क्रममा स्वास्थ्य विभागका
काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार
भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको राष्ट्रपति भवनमा
भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको