नेपालको विकास र समृद्धिको प्रमुख साझेदार भारतः प्रधानमन्त्री प्रचण्ड


चार दिने औपचारिक भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको विकास र समृद्धिको प्रमुख साझेदार भारत भएको बताउनुभएको छ ।

आज बिहान हैदराबाद हाउसमा समकक्षी नरेन्द्र मोदीसहितको संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले दुई देशबीच व्यापार, पारवाहन, सम्पर्क सञ्जाल, लगानी, जलविद्युत् तथा ब्यापार, कृषि तथा सिँचाइ, रेल्वे, पुल, प्रशारण लाइन, पेट्रोलियम पाइपलाइन विस्तार, एकीकृत भन्सार जाँचचौकीका साथै अतिरिक्त हवाई प्रवेश जस्ता बहुआयामिक क्षेत्रलाई अझ बलियो बनाउने विषयमा छलफल भएको समेत सम्बोधनमा समेटनुभएको थियो ।

“प्रधानमन्त्रीका रूपमा मेरो यो चौथो भारत भ्रमण हो, नेपाल र भारतबीचको सम्बन्ध सदियौँदेखि सामाज र सांस्कृतिको बलियो जगमा बहूआयामीक रहँदै आएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले दुई देशको बीचको सम्बन्ध र सहयोगलाई अझ बलियो बनाउनका लागि लिनुभएको छिमेकी पहिलो नीति प्रशंसनीय छ ।’ प्रधानमन्त्रीले उल्लेख गर्नुभयो ।

“नेपालमा निर्माण भइरहेका जलविद्युत् परियोजना तथा अन्तरदेशीय प्रशारण लाइन निर्माणका विषयमा प्रधानमन्त्री मोदीसंग छलफल भएको र नेपालको जलविद्युत् क्षेत्र नेपालको आर्थिक उन्नती र ऊर्जा सुरक्षाको आधार मात्रै नभई यो वातावरण संरक्षणका लागि समेत महत्त्वपूर्ण छ’, प्रधानमन्त्री दाहालले भन्नुभयो ।

नेपालमा उत्पादिक जनविद्युत मध्ये वर्तमान समयमा भारतले खरिद गरिरहेको ४५० मेगावाट विद्युत्लाई बढाउँदै माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट उत्पादित ४५६ मेगावाट विद्युत् सहित १२०० मेगावाट विद्युत् आयात गर्ने प्रधानमन्त्री मोदीको सकारात्मक प्रतिक्रियाका लागि धन्यवाद समेत ज्ञापन गर्नुभएको थियो ।

सम्बोधनको क्रममा प्रधानमन्त्री दाहालले दीर्घकालीन विद्युत् व्यापार सम्झौताअन्तर्गत आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् नेपालबाट आयात गर्ने सहमति भएको बताउनुभयो । यो सन् २०२२ अप्रिलमा दुई देशका प्रधानमन्त्रीबीच भएको सहमतिका आधारमा सम्भव भएको बताउनुभयो ।

वहाँले नेपालबाट भारत हुँदै बंगलादेशसम्म दैनिक ५० मेगावाट विद्युत् पुर्‍याउनका लागि गरेको सहयोगको प्रशंसा गर्नुका साथै विद्युत् व्यापारका सन्दर्भमा नेपाल–भारत–बंगलादेशबीच छिट्टै त्रिपक्षीय सम्झौता हुनेमा कुरामा आफू विश्वस्त रहेको समेत अभिव्यक्त गर्नुभयो ।

प्रधानमन्त्री दाहालले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजना र ४८० मेगावाट क्षमताको फुकोट कर्णाली जलविद्युत् आयोजना निर्माणको सम्झौताले विद्युत् विकास र अन्तरदेशीय प्रसारण लाइनको विकासमा नयाँ सुरुआत भएको बताउनुभयो।

वहाँले दुई प्रधानमन्त्रीबीच तीन महिनाभित्र बहुउद्देश्यीय पञ्चेश्वर आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने र डिपिआर स्वीकृत भएको एक वर्षभित्र कार्यान्वयनको ढाँचा तयार गर्ने सहमति भएको जानकारी दिनुभयो ।

वहाँले टनकपुर नहरबाट नेपालतर्फको सिँचाइ, मनसुन सुरु हुनुअघि नै नेपालको तराई क्षेत्रमा हुनसक्ने बाढीको जोखिम न्यूनीकरणका लागि द्विपक्षीय संयन्त्रले काम गर्ने विषयमा छलफल भएको जानकारी गराए। उनले भारतसँगको व्यापार घाटा न्यूनीकरणका लागि निर्यातमा सहजीकरण गर्न आग्रह गरेको बताउनुभयो । वहाँले नेपालको जुटजन्य वस्तुको सामग्रीमा एन्टिडम्पिङ हटाउन आग्रह गरेको बताउनुभयो ।

व्यापार सहजीकरणका लागि एकीकृत जाँचचौकी र सुक्खा बन्दरगाहको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले यसमा सहजीकरणका लागि भारतसँग आग्रह गर्नुभएको थियो । वहाँले व्यापार र पारवाहनसम्बन्धी सम्झौता पुनरावलोकन गरिएको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले अन्तरदेशीय विद्युतीय भुक्तानीसम्बन्धी सम्झौताले दुवै देशका विद्यार्थी, व्यापारी, पर्यटक र तीर्थालुका लागि ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

मोतिहारी–अमलेखगञ्जसम्मको पेट्रोलियम पाइपलाइनलाई चितवनसम्म विस्तार गर्ने, भारतको सिलगुडीदेखि झापाको चारआलीसम्म अर्को पेट्रोलियम पाइपलाइन निर्माण तथा भण्डारण गृह निर्माण गर्ने विषयमा सम्झौता भएको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री दाहालले अतिरिक्त हवाई प्रवेश विन्दुका लागि आफूले छलफल गरेको र यस सम्बन्धमा भारतको सकारात्मक भाव पाएको बताउनुभयो । ‘भारत सरकारले नेपाल–भारत सीमा नजिक रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘इन्स्ट्र्युमेन्ट ल्यान्डिङ सिस्टम’ बाट उडानसम्बन्धी स्वीकृति दिएकोमा प्रशंसा गर्दछु । यसबाट सुरक्षित र पूर्णक्षमतामा हवाई उडान हुनेछ’, वहाँले थप्नुभयो । वहाँले नवनिर्मित भैरहवा तथा पोखरास्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतका विभिन्न शहरमा उडानको अपेक्षा रहेको समेत अभिव्यक्त गर्नुभएको थियो ।

प्रधानमन्त्री दाहालले दुई देशबीचको सीमाका विषयमा आफूहरूबीच द्विपक्षीय कूटनीतिक संयन्त्रका माध्यमबाट समाधानका लागि पहल गर्ने विषयमा छलफल भएको बताउनुभयो । वहाँले नेपालमा संयुक्त साझेदारीमा रासायनिक मलको कारखाना स्थापना गर्ने विषयमा पनि छलफल भएको बताउनुभयो।

भारत नेपालको नजिकको विकास र समृद्धिको साझेदार भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले नेपाल सन् २०२६ मा अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुने क्रममा रहेकाले भारतको निरन्तर सहयोगको अपेक्षा अभिव्यक्त गर्नुभएको थियो ।

सो अवसर प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालको सौहार्द्रपूर्ण भ्रमणका लागि निम्तो दिँदै आफू स्वागत गर्न आतुर रहेको बताउनुभयो ।


Loading comments...