गणतन्त्र या राजतन्त्र कुन ठीक: नरेन्द्रराज प्रसाई


उहिले राजालाई सामन्त भनिन्थ्यो । अर्थात् सामन्त भनेका नै राजा हुन्थे र राजा भनेकै सामन्त मानिन्थ्यो । अनि त्यो जातसँग मानवता पनि न्यून नै हुन्थ्यो । उनीहरू जनतालाई जुत्ता ठान्थे र तिनलाई कुल्चेर नै हिँड्थे । सरकारी कामकाजमा सबै पदाधिकारी उनैका रगतको साइनो पर्ने मात्रै हुन्थे । त्यही सामन्तको विकसित रूप नै राजा हो ।

पछिल्ला चरणमा राजाबाट राष्ट्र र जनतामाथिको बिघ्नबाधा हट्तै जान थालेको थियो । सामन्त पदै शिष्ट, सभ्य र मर्यादित हुन थाल्यो । अन्तत: राम्रो काम गर्न थालेपछि सामन्तलाई राजा भन्न थालियो । अनि सामन्त पद जनभावनाबाटै लोप हुन थाल्यो ।

लेखकः नरेन्द्रराज प्रसाई

नेपालको सन्दर्भमा राजाहरू जनप्रेममा पनि गाँसिन थाले । राजा भनेका देश र जनताका रक्षक कवचमा नै अनुवाद हुन थाले । अन्तत: राजा लोकप्रिय पनि हुन थाले । राजाहरूका पनि राजा अर्थात् पृथ्वीनारायण शाहले नेपाल राष्ट्रको नै एकीकरण गरिदिए ।

२००७ सालपछि र खास गरेर २०१७ सालपछिका आधुनिक नेपालका राजा अथवा श्री ५ को सन्दर्भमा भन्नुपर्दा राजाहरू जनताका सच्चा प्रतिनिधि देखिए भने २०४६ सालपछि र त्यसपछिका गणतान्त्रिक नेताहरू सामन्तमा अनुवाद हुन थाले ।

राजाले आफ्ना भारद्वार, पत्नी, छोरा, बुहारी, छोरी, बहिनी, ज्वाइँ, चेला, साला, साली, भान्जा, भान्जीलाई उपप्रधानमन्त्री, मन्त्री, माननीय, राजदूत, त के कुरा कुनै पदै दिएको इतिहास छैन । तर २५० वर्षको राजतन्त्र मासेर ओहोदामा पुगेका प्राय: प्रधानमन्त्री एकाएक सामन्तमा अनुवाद भइदिए । कतिसम्म भने उनीहरूले जनता माने जुत्ता र जुत्ता माने जनता हुन् भन्ठाने ।

हो कि होइन ? भन्नुहोस् त !

अब नेपालमा राजा ठीक हुन् या सामन्त नै सही हुन् भन्ने प्रश्न नै आज हामी माझ तेर्सिएको छ ।

यदि कुनै दिन पारस शाहलाई चाहिँ राजा बनाइन्छ भने राजतन्त्रको विरोधमा देशै राँके जुलुसमा उभिने छ र म पनि त्यही जुलुसमा सक्रिय सहभागी हुने छु ।


Loading comments...