आज सोहनलाल भैया आमासँग


झन्नै पचपन्न वर्षअघिको कुरा हो ;
विराटनगरको ठाकुरबाडी रोडस्थित सरस्वती हाई स्कूलमा पढ्ने दस वर्षे म स्कुल छुट्टी भएपछि घर फर्किँदै थिएँ ।

‘ए नानी, यता आऊ ।’ छेवैको एउटा दोकानबाट एक जना मानिसले बोलाएका थिए ।

‘लेऊ, यो यहाँ नारीमा बाँध त ।’ एउटा रातो पहेँलो रिबीनजस्तै धागो मेरो हातमा हालिदिएर उनले आफ्नो हात मेरा सामुन्नेमा पारेका थिए ।

म‌ैले एकै छिन अपरिचित उनको अनुहारमा हेरेकी थिएँ । त्यसपछि उनले भने झैँ त्यो धागो उनको नारीमा बाँधी दिएकी थिएँ । ‘तिमी आजदेखि मेरी बहिनी भयौ । यसलाई राखी भन्छन् । दिदी बहिनीले दाजुभाइको लम्बी उम्रको कामना गरेर यस्तो राखी बाँधी दिने चलन छ ।’ उनले मेरो हातमा एउटा बुनियाको लड्डु र दस रूपियाँको नोट पनि हालिदिँदै भनेका थिए । मैले राखी भन्ने कुरा जीवनमा पहिलो पटक सुनेकी देखेकी थिएँ । त्यसैले अचम्ममा परेकी थिएँ । जनैपूर्णिमाको दिन थियो । त्यसैले बिहानै पुरोहित बाजेले घरमा हामी सबैका हातमा डोरा त बाँधी दिनुभएको थियो । तर यस्तो राखी भन्ने पनि हुन्छ भन्ने त मलाई थाहै थिएन ।

हुनत त्यतिबेलासम्म मेरो माइती घरकै दुर्भाग्य स्वरूपको हाम्रो भाइ भनाउँदोको जन्म भएको पनि थिएन ।

जे होस् , स्कूलबाट भोकाएर भुत्तुक्क हुँदै घर फर्किएकी बालिकालाई लड्डुको स्वादले जिब्रो रसाएको थियो । अप्रत्यासित रूपले दस रूपियाँको नोट हातमा पर्नु मेरा लागि अर्को आश्चर्यको घटना थियो ।

‘अपरिचित मानिसले दिएको खानेकुरा नखानु, बेहोस पार्ने ओैषधी हालेको हुन्छ । बेहोस पारेर बम्बैमा लगेर बेचिदिन्छन् नि ।’ आमाले सम्झाउँदै भन्नू भएको सम्झेर मैले लड्डुले आकर्षित पार्दा पनि डराएर त्यस दोकानमा ती अपरिचितका सामुमा त खान सकिन । अनि लड्डुले लोभ्याइसकेकाले फाल्न पनि सकेकी थिइन । उक्त पैसा पनि लिनुहुने नहुने दोधारमा परे पनि आक्कल झुक्कल खाजा खाने दस पैसा पाउने मेरा लागि त्यतिबेलाको दस रूपियाँ धेरै ठूलो पैसा थियो । त्यसैले मैले पैसा पनि मुट्ठीमा कसेरै बोकेर दोकानबाट हिँडेकी थिएँ ।

नरबहादुरको भट्टी पसल नेर पुगेपछि पछिल्तिर फर्केर हेरेकी थिएँ र लड्डु र पैसा दिने मानिस नदेखेपछि ढुक्क भएर लड्डु खाएकी थिएँ । तर मुट्ठीमा कसेको बुनियाँको लड्डु हलुवा जस्तै भएको थियो । भोकको बेला अहिलेसम्म स्वाद सम्झने गरी त्यो लड्डु मीठो भएको थियो ।

कतिबेला घर पुग्नु र आमालाई सबै वृत्तान्त सुनाउनु भन्ने हुटहुटीले मेरा नङ्ग्री खुट्टा त्यतिबेला झनै जोडले चालेर म घर पुगेकी थिएँ ।

‘कताबाट ल्याइस् यत्रो पैसा ?’ आमाले मेरो हातको दस रूपियाँको नोट हेरेर मलाई शङ्काका आँखाले हेर्दै सोध्नु भएको थियो ।
त्यसपछि मैले आमालाई त्यसदिनको सबै बेलिबिस्तार लाएकी थिएँ । त्यसपछि भने ‘छोरीले चोरेकी रहिनछे’ भनेर आमा ढुक्क हुनुभएको थियो ।

बेलुकी बुबा फर्केपछि आमाले मेरा सबै कुरा बुबालाई सुनाउनु भएको थियो ।

मेरा बुबा गणेशप्रसाद शर्मा पनि त्यसबखत सरस्वती हाई स्कुलमा पनि पढाउनु हुन्थ्यो । त्यसैले भोलिपल्टै बुबाले मैले देखाएको आधारमा दोकानदारलाई भेटेर परिचय लिनु भएको थियो । अनि थाहा भएको थियो ती सुन दोकाने नै सोहनलाल भैया रहेछन् ।
‘राखी हामी पहाडेको संस्कार त होइन । तर सोहनलालले त्यति ठूलो आग्रह गरेकाले तैँले जनैपूर्णिमामा उसलाई राखी बाँध्ने गर्नु ।’ मेरा बुबाबाट पनि मैले अनुमति पाएकी थिएँ ।

सोहनलाल भैया भाइटीकामा पनि हाम्रा घरमा आएर हामी दिदीबहिनीसँग टीका लाउनु हुन्थ्यो ।

‘छोरीहरूको दाजु भएपछि सोहनलाल हाम्रो छोरै भयो । अबदेखि गहना बनाउनु परे सोहनलाल कै दोकानमा बनाउनु ।’ बुबाको यो आदेश पनि आफ्ना हातमा शक्ति हुञ्जेल आमाले पालना गर्नुभएको थियो ।

उनै सोहनलाल भैया आज आफ्नो रत्न विशेषज्ञ छोरो सुभास वर्मालाई साथमा लिएर आमाको दर्शनार्थ नइगृहमा आउनु भएको थियो ।

आफ्ना परिवारका पुराना ईष्ट आफूलाई भेट्न आएको पाउँदा आमाको मुहार हर्षले पुलकित भएको थियो । आमाको मुहारको ज्योत्सना वातावरणभरी फैलिँदा नइगृह जाज्वल्यमान बनेको थियो ।

(इन्दिरा प्रसाईको प्रकाशोन्मुख आत्मकथा ‘ आकाश खसेको छैन’ र ‘मेरी आमाको सुकेको खोला’बाट समेत)


Loading comments...