भारतीय राजदूतावासस्थित स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रमा अषाढ पूर्णिमा विशेष कार्यक्रम मनाइयो


‘अषाढ पूर्णिमा’ को पावन अवसरमा भारतीय राजदूतावास, काठमाडौंले अन्तर्राष्ट्रिय बौद्ध परिसंघको सहकार्यमा मिति २०८० असार १८ गते दूतावासस्थित स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रमा संयुक्त रुपमा एक कार्यक्रमको आयोजना गर्यो । उक्त समारोहमा नेपाल सरकारका माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरी उपस्थित हुनुहुन्थ्यो । कार्यक्रममा नेपालका विभिन्न बौद्ध सम्प्रदाय र गुम्बाका प्रतिनिधिका साथै लुम्बिनी विकास कोषका पदाधिकारीहरुको सहभागिता थियो । कार्यक्रममा अन्तर्राष्ट्रिय बौद्ध परिसंघका सचिव खेन्पो छिमेद परिसंघ प्रतिनिधिको रुपमा उपस्थित हुनुहुन्थ्यो ।

बिहारको बोधगयामा बुद्धत्व प्राप्त गरेपछि भगवान बुद्धले उत्तर प्रदेशको सारनाथमा आफ्ना पहिलो पाँचजना तपस्वी चेलालाई दिनुभएको पहिलो उपदेशलाई आषाढ पूर्णिमाको दिन विशेष स्मरण गरिन्छ । यसलाई धर्म चक्रको पहिलो फन्कोको रुपमा चिनिन्छ । सो उपदेशमा भगवान बुद्धले ‘चार आर्य सत्य’ र ‘आर्य अष्टाङ्गिक मार्ग’ बारे बताउनुभएको थियो ।

कार्यक्रममा महायाना संघ र थेरावडा संघले भगवान बुद्धको प्रार्थना गरे । तत्पश्चात चार बौद्ध सूत्रको प्रार्थना गरियो ।

अन्तर्राष्ट्रिय बौद्ध परिसंघका सचिव खेन्पो छिमेदले कार्यक्रममा उपस्थित अतिथिलाई स्वागत गर्नुका साथै सो कार्यक्रमको महत्वबारे प्रकास पार्नुभयो । कार्यक्रममा माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री श्रीमती सुशीला सिर्पाली ठकुरीले बौद्ध धर्म भारत र नेपाललाई सदियौंदेखि जोड्ने बन्धनमध्येको एक भएको बताउँदै बाैद्ध र अन्य धार्मिक सर्किटकाे निर्माणले अाधुनिक समयमा भारत र नेपालबीचकाे सभ्यतागत सम्बन्धलाई सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो । सोही कार्यक्रममा बोल्दै दूतावासका नियोग उप–प्रमुख श्री प्रसन्न श्रीवास्तवले भगवान बुद्धले दिनुभएको शिक्षाको महत्वबारे चर्चा गर्दै भारत र नेपालमा रहेका बौद्ध धर्मका पवित्र स्थलहरुले दुई देशबीचको साझा सांस्कृतिक सम्पदालाई प्रतिबिम्बित गरेको बताउनुभयो ।

कार्यक्रममा लुम्बिनी गुम्बाक्षेत्रमा निर्माण हुने भारत अन्तर्राष्ट्रिय बौद्ध संस्कृति तथा सम्पदा केन्द्रको डिजाइन तथा विशेषताबारे तयार पारिएको भिडियो पनि प्रस्तुत गरियो । सन् २०२२ को मे महिनामा बुद्ध पूर्णिमाको अवसरमा भएको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणका क्रममा प्रधानमन्त्री मोदी र नेपालका पूर्व प्रधानमन्त्री श्री शेर बहादुर देउवाले संयुक्त रुपमा सो केन्द्रको शिलान्यास गर्नुभएको थियो ।

सो अवसरमा भारत र नेपालका विभिन्न धार्मिक महत्वका बौद्ध स्थलहरुको प्रदर्शनी पनि राखिएको थियो ।


Loading comments...