बुढानीलकण्ठ धर्मशालाको उद्घाटन


नेपालका सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवले काठमाडौं जिल्लाको बुढानीलकण्ठ नगरपालिका–३ मा निर्मित बुढानीलकण्ठ धर्मशाला (अतिथि गृह) को मिति २०८० आषाढ २० गते उद्घाटन गर्नुभयो । बुढानीलकण्ठ मन्दिरका मठाधिस स्वामी निगमानन्द, प्रतिनिधिसभा सदस्यहरु गगन कुमार थापा र प्रदिप पौडेल, भारतीय राजदूतावास, काठमाडौंका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तव, गुठी संस्थानका प्रमुख डा. शिवराज पण्डित, बुढानीलकण्ठ मन्दिर समितिका प्रतिनिधि तथा नेपाल सरकारका र भारतीय राजदूतावासका पदाधिकारीको सो उद्घाटन समारोहमा उपस्थिति थियो ।

भारत सरकारको करिब नेरु ५ करोड अनुदान सहयोगमा सो धर्मशालाको निर्माण भएको हो । नेपालको सांस्कृतिक सम्पदा क्षेत्रमा भूकम्पपछिको पुनर्निर्माण अनुदान अन्तर्गत यो परियोजनाको निर्माण भएको हो । २०७२ सालको भूकम्पले क्षति पुर्याएका सम्पदाहरुको संरक्षण एवम् पुनर्निर्माणका लागि पुरातत्व विभागले तयार पारेको आधारभूत निर्देशिका बमोजिम बुढानीलकण्ठ मन्दिरको पुनर्निर्माण भएको हो । केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन तथा आवास) र शहरी विकास तथा भवन निर्माण विभागले यस परियोजनाको कार्यान्वयन गरेको हो ।

नवनिर्मित यस साढे तीन तल्ले धर्मशालाले बुढानीलकण्ठ मन्दिरमा आउनहुने हजारौं तीर्थयात्रीलाई सेवा दिेनेछ । नेपालको पवित्र साँस्कृतिक एवम् धार्मिक स्थलहरुमध्येकै एक मानिने बुढानीलकण्ठ मन्दिरको ठूलो महत्व रहेको छ ।

यस परियोजनाले नेपालसँग भारतको लामो समयदेखि रहिआएको विकास साझेदारीलाई प्रतिबिम्बित गर्नुका साथै नेपालमा भूकम्पपछिको पुनर्निर्माण कार्यमा नेपाल सरकारले गरेको प्रयासको कदर गर्दछ ।

उद्घाटन समारोहमा बोल्दै उपराष्ट्रपति यादवले भूकम्पपछिको पुनर्निर्माणमा भारत सरकारले पुर्याएको सहयोगको सराहना गर्नुभयो ।

भारत सरकारले नेपालको सातवटा जिल्लामा रहेका २८ वटा सांस्कृतिक सम्पदा क्षेत्रको संरक्षण गर्ने प्रविबद्धता गरेको छ । यसका अतिरिक्त भूकम्पपछिको पुनर्निर्माण अनुदान अन्तर्गत भारत सरकारले गोरखा र नुवाकोट जिल्लामा ५०,००० वटा निजी घर पुनर्निर्माण, आठ जिल्लामा ७१ वटा शैक्षिक संस्था र १० जिल्लामा १३२ वटा स्वास्थ्य सुविधा पुनर्निर्माणका लागि सहयोग प्रदान गरेको छ ।


Loading comments...