तुलसी

यस्तो छ, सर्वगुणकारी तुलसीको महिमा


अर्जुन भण्डारी
अर्जुन भण्डारी

हिन्दु धर्म अनुसार तुलसीको विरुवालाइ एक पवित्र विरुवाको रुपमा लिने गरिन्छ । सवै भन्दा बढि अक्सीजन प्रदान गर्ने तुलसीको विरुवाले रातको समयमा पनि अक्सिजन प्रदान गर्न सक्दछ । तपाँइको घर आगनमा तुलसीको  विरुवा रोप्नु भएको छ त ? आउनुहोस तुलसीको विरुवाको महत्वको बारेमा केहि कुरा गरौँ ।

जस्को घर आगनमा तुलसीको विरुवा हुन्छ त्यसको  घरमा देवी देवताहरुको बास हुने  र तुलसीको विरुवा नभएको घरमा यमदुतहरु सहजै पुग्ने  भन्ने विश्वास रहेको छ । तुलसीको विरुवालाइ प्राय घरको अगाडी निर्जला एकादशीको दिनमा मठ बनाएर रोप्ने कार्य गरिन्छ । जस्ले गर्दा घरमा कलियुगका पाप फैलिँदैन भन्ने विश्वास रहेको छ ।

स्कन्द पुराणमा  तुलसीको विरुवाको उत्पत्तीको बारेमा उल्लेख भए अनुसार एक जना जालन्धर नाम गरेका दैत्यले देवताहरुलाइ निकै कष्ट प्रदान गरेका थियो ।  पत्नी सत्यताको प्रभावले उ शक्तिशाली थियो । उ माथि देवताहरु विजय प्राप्त गर्न असमर्थ भएका थिए । त्यसपछि देवताहरु भगवान शिवको घरमा पुगे र जालन्धरको आतंक अन्त्य गर्न विन्ती गरे । त्यसपछि भगवान शिवले जालन्धर संगको युद्धको आज्ञा दिनुभयो । युद्धको सवै तयारी भयो । जालन्धर पनि लडाइमा सामेल भए । पत्नीको सत्यताको प्रभावले जालन्धरलाइ हराउन देवताहरु असमर्थ भए । त्यसपछि भगवान विष्णु जालन्धरको रुप धारण गरी जालन्धर पत्नी बृन्दाको सत्यता नाश गरे । बृन्दाको पति-ब्रता धर्म नाश गरिसकेपछि भगवान शिवले जालन्धरको बध गरी देवताहरुको मुक्ती गर्नुभयो । भगवान विष्णुले छल गरेको थाहा पाएर जालन्धर पत्नी बृन्दाले भगवान विष्णुलाइ झार हुनु परोस भनि श्राप दिइन त्यसै बेला भगवान विष्णु  तुलसीको विरुवा हुनु परेको  थियो ।

यहि धार्मिक किम्बदन्ती अनुसार साक्षात विष्णुको रुपमा तुलसीको विउलाइ आषाढ शुक्ल एकादशीको दिनमा विजरोपण गर्ने परम्पराको थालनी भएको विश्वास गरिन्छ । आषाढ शुक्ल पक्षको हरिशयनी एकादशीको दिनमा तुलसी रोपण कार्य गरि भएको चर्तुमासको आरम्भ हरिवोधनी एकादसीको दिन तुलसीको विवाह गरी फूलमाला सहितको लठ्ठोलाई नदि तारेपछि समाप्त हुने गर्दछ । यस समयाबधिमा भगवान विष्णु निन्द्रामा हुने र कार्यको फल प्राप्ती नहुने भएकाले विवाह, बर्तबन्ध, गृह प्रवेश, आदी मांगलिक कार्यहरु गरिँदैन । तुलसीको पात, जरा, काण्ड लगायत सवै भागहरु बहु-उपयोगी मानिन्छन। तुलसीको काण्डलाइ मन्जरी भनिन्छ । जस्को माला बनाउने देखि विभिन्न उपयोगी कार्यहरुमा प्रयोग गर्न सकिन्छ ।

तुलसी रोप्ने स्थान/समय
तुलसी हरिबोधिनी एकादशीमा विशेष पुजा-आजा गरी विधिवत रुपमा रोप्ने कार्य गरिन्छ । बास्तुशास्त्रको अनुसार तुलसीको बोटलाइ घरको दक्षिण पुर्व दिशामा रोप्नु सर्वाेत्तम मानिन्छ । जस्ले गर्दा पुर्वबाट पश्चिम बहने हावाको माध्यमबाट सहजै घरभित्र अक्सिजन प्रवाह हुन्छ । अक्सिजनको सहज रुपमा प्रवाह भएमा शारीरिक तन्दुरुस्ती हुने, तिक्ष्ण बौद्धिक क्षमता हुने, लामो आयु हुने कुरा बैज्ञानिकहरुले पत्ता लगाएका छन ।

तुलसीमा जल चढाउँदा हुने फाइदाहरु

जल चढाउने मन्त्र:
महाप्रसाद जननी, सर्व सौभाग्यवर्धिनी
आधि व्याधि हरा नित्यं, तुलसी त्वं नमोस्तुते।।
तुलसीको विरुवामा दैनिक विहान जल चढाउनु निकै उत्तम मानिन्छ । विहान पख तुलसीमा जल चढाउनाले उदाउँदो शुर्यको किरणहरु पानीको फोकासंग परार्वतन भइ मानिसको शरिरमा आवस्यक पर्ने किरणहरुमा परिणत भइ मानव शरिर र मस्तिष्कमा निकै फाइदा पुग्ने कुरा बैज्ञानिकहरुले बताएका छन ।

तुलसीको पत्ता टिप्दा उच्चाहरण गरिने मन्त्र
ॐ सुभद्राय नमः
ॐ सुप्रभाय नमः
मातस्तुलसि गोविन्द हृदयानन्द कारिणी
नारायणस्य पूजार्थं चिनोमि त्वां नमोस्तुते ।।
तुलसी

तुलसी सम्बन्धी केहि नियमहरु

  • एकादशी, आइतवार र मंगलबार तुलसीको पात टिप्न बर्जित गरिएको  छ ।
  • यदि घरमा बास्तुशास्त्र सम्बन्धी दोष भएको खण्डमा कुनै न कुनै समस्या आइरहन्छ । त्यस्तो भएरहेमा तपाइको घरको दक्षिण पुर्वमा तुलसीको विरुवा रोप्नु राम्रो हुन्छ ।
  • यदि तुलसीको विरुवा सुक्यो भने नजिकैको खोला वा कुवामा लगेर सारीदिनु पर्दछ । यदि सक्नु हुन्छ भने तुलसी भएको गमला हटाइ विरुवालाइ माटोमा गाडीदिनु पर्दछ ।
    तुलसी

तुलसीको स्वास्थ्य सम्बन्धी केहि उपयोगिताहरु
आयुर्वेदमा तुलसीलाइ शिर्ष स्थानमा लिइएको छ  । यस्को प्रयोग गरी विभिन्न थरीका औषधीहरु बनाउन सकिन्छ । तुलसीमा कफबाथ नाशक, दुर्गन्ध नाशक, ज्वरो नाशक, स्वेत कारक, शोध नाशक, रक्त सोधक आदी गुणहरु रहेका हुन्छन ।

टाउको दुखाई
टाउको दुखेको बेला निधारमा तुलसीको रस लगाउने र मेरुदण्डमा पनि यसको रस लगाएर केही समय टाउकोमा हलुका मालिस गर्दा टाउकोको दुखाइ कम हुन्छ ।

खोकी
अदुवाको रस, तुलसीको रस र मह मिसाई चाट्ने गर्दा सुख्खा खोकी ठीक हुन्छ । खकार बढी आउने खोकीमा पनि दिनको ३–४ पटक तातो पानी पिएर अन्तमा बिस्तारै चाट्दै उक्त रस खाँदा खोकी निको हुन्छ ।

छाती दुखेमा
तुलसीको पात र तोरीको तेल मिसाई पकाउने र त्यसलाई छातीमा, ढाडमा लगाइ मालिस गर्नाले छातीको दुखाइ कम हुन्छ । दुखाइ के कस्तो छ त्यसको कारणको पनि उपचार गर्नुपर्दछ ।

पेट सम्बन्धी समस्या
तुलसीको पात नियमित प्रयोगले ग्याष्टिकको समस्यामा कमि आउँछ । कलेजोको रोग भएमा नित्य खाली पेटमा तुलसीको चिया पिउने एवं तुलसीको रस १–२ चम्चा बिहान बेलुका खाने वा तुलसीको पात सफा गरेर १–२ वटा दिनहुँ खाने गर्दा कलेजोको रोगमा लाभ हुन्छ । पेटको अपच एवं अजीर्णको समस्यामा तुलसीको रसमा सूठो ‘सुकेको अदुवा’ मिसाई खानाले फाइदा गर्दछ । बच्चाहरुको पेट बिग्रिएमा पनि यस्तो गरेमा लाभ मिल्दछ ।

खानाको अरुचि
तुलसी एवं अदुवाको रस बराबर मिसाई भोजनको पूर्व १ चम्चा खाने गर्दा खानाको अरुचि हट्दछ । तुलसीको बीउमा थोरै पिप्ला र मह मिसाइ दिनको ३–४ पटक चाट्नाले भोक जाग्दछ ।

स्वप्नदोष
तुलसीको डाँठ एवं पातलाई पानको पातमा मिसाएर खाने गर्दा स्वप्नदोषमा लाभ हुन्छ ।

दाँत दुखेमा
तुलसीको पातको रस र कपूर तताएर मुखमा च्यापिराखेमा दाँत दुखाइ कम हुँदै जान्छ ।

डण्डीफोर, दाग र पोतोमा
तुलसीको पात वा जरा लाइ मसिनो गरी पि सेर  त्यस को लेदो मलमको रुपमा अनुहारमा लगाएर आधा एक घण्टापछि पखाल्ने गर्दा अनुहार सफा र चम्किलो हुन्छ ।

दुर्गन्धित श्वास
खाना वा खाजा खाएपछि मुखमा तुसलसीको पात राखेर धेरैबेर खेलाउँदै चपाउने चुस्ने गर्दा स्वास वा मुख गनाउने समस्याबाट छुटकारा पाउन सकिन्छ ।

घाउ खटिरा
तुलसीको पात र बेसारको धूलोलाई मिसाएर बनाएको घोल घाउ खटिरा एवं काटेको ठाउँमा लगाउँदा शीघ्र लाभ मिल्दछ । तुलसीको पातको रस घाउ खटिरामा लगाउँदा छिटो सञ्चो हुन्छ । काटेको घाउमा सफा गरी तुलसीको रस राखेमा रगत थाम्न मद्दत मिल्छ भने घाउ संक्रमण हुनबाट वचाउँछ । तुलसीको बीउ, नीमको पात र बेसारको घोललाइ तेल एवं पानी मिसाई पकाउने, पानी सुकिसकेपछि बाँकी रहेको लेदोलाई घाउ खटिरामा लेपन गर्दा चिलाउने, दुख्ने, पोल्ने कम हुन्छ ।

वान्ता एवं वाकवाकी
तुलसी, अदुवा र कागतीको रस बराबर मिसाई केही मात्रा महसमेत राखी चपाउनाले वान्ता रोकिन्छ एवं वाकवाकी लाग्ने पनि शान्त हुन्छ । तुलसीको रसमा अलैचीको धूलो मिसाई खाएमा वान्ता रोकिन्छ । तुलसीको रसमा दालचिनीको धूलो मिसाएर चाटेमा पनि वान्तामा लाभ हुन्छ ।

शीघ्र स्खलन
तुलसीको डाँठलाई कुटेर पानको पातमा राखेर १ चम्चा महसमेत मिसाएर खाँदा शीघ्र स्खलनमा कमी हुन्छ । तुलसीको बीउलाई पानको पातमा बेरेर खाँदा पनि यस समस्यामा फाइदा गर्छ । तुलसीको जरा सफागरी भिजाउने र उक्त पानी दिनहुँ १–२ गिलास पिउने गर्नाले फाइदा गर्दछ ।

नपुंसकता एवं लिङ्ग शिथिलता
तुलसीको बीउ र सख्खर बराबर मिसाई सानो डल्लो बनाउने र प्रत्येक दिन बिहान बेलुका उक्त सानो डल्लो खाने र लगतै आधा लिटर दूध ‘सम्भव भएसम्म गाईको दूध’ एवं २ चम्चा मह मिसाई पिउने । करिब ४–५ महिनासम्म यसरी सेवन गर्ने । यसले गर्दा नपुंसकता एवं लिङ्ग शिथिलता समस्या ठीक हुनसक्छ ।

यस्तै अनेक थरीका विशेषता तथा गुणहरुले गर्दा तुलसी निकै महत्वपुर्ण रहेको छ । घरमा तुलसी रापेर यसवाट हुने फाइदाहरु ग्रहण गर्नुहोला ।

हरिबोधिनी एकादशीको बारेमा हेर्न तलको लिंकमा क्लिक गर्नुहोला ।


Loading comments...