मेरी उनी र मेरो जन्मदिन


subash Bhandari
सुबास भण्डारी

घडीका सुईहरुलाई थकाई लागे जस्तो लाग्दैथियो, ती सुईहरु निकै विस्तारै चल्दै थिए । तर आज म निकै उत्साहित छु, तिम्रो प्रतिक्षामा मेरी नानु । आज नयाँ आशा अनि विश्वासका साथ तिम्रा बाटाहरु सजाएको छु , अनि साझको बत्तिले देखिने पर सम्म मेरा आखाँ निरन्तर तिम्रो आगमनको दृश्य हेर्न निकै आतुर छन, अनि मेरो मन तिमीलाई स्वागत गर्ने हतारिरहेको छ, निकै बेजोड सँग धडकिएको छ , लागिरहेको छ केही समयमा बाहिर निस्कने छ तिम्रो लागि । मेरा हातहरु तिम्रीसँगको मिठो अकमालाको लागि सलबलाउदै छन । ओठहरु तिमीसँगको मिठा मिठा कुराहरुको लागि निकै उत्साहि छन । अनि कानहरु निकै तमतयार अवस्थामा छन, तिम्रा शब्दहरु सुन्नका लागि । आज म अनि मेरो सम्पुर्ण शरीर नै तिम्रो प्रतिक्षामा रहेको छ ।

रातको आकाश यति रमाइलो हुदो रैछ, मलाई आज भन्दा पहिला किन याद भएन , किन लागेन । साच्ची जुनकिरी सरी टिलपिल गरिरहेका ताराहरु हेरिरहनुमा यति रमाइलो म पहिलोपटक महसुस गर्दे थिए । नजर जुन तिर गयो , पुर्णिमाको दिन पुरा जुन, त्यो जुन , जुन जुनले रातको त्यो पललाई निकै सान्ैर्दय बनाएको थियो । मानिसहरु यति सुन्दर जुनको किन खुलेर प्रशंसा गर्न खोज्दैनन , जुनमा दाग छ रे । किन त्यो जुनको दागको बढि कुरा हुन्छ । त्यो जुनको दाग होइन त्यही जुन हो ।

म जुनसँग तिम्रो बारेमा कुरा गरिरहेको छु , जुनलाई भन्दैछु मेरी जुन पनि आउँदैछिन । आज जुनको घमण्ड तोडिने पक्का पक्की थियो । जुनमा त्यो डर म स्पष्ट देख्दै थिए, त्यसैले समय समयमा जुन बादल पछाडि लुकेर सोचिरहेको हुन्थ्यो के अर्को जुन पनि छ होला र ? के म भन्दा पनि सुन्दर होला र? आज तिमीलाई देखेपछि जुनका आँखाबाट आशु भनेर पानी बर्सने निश्चित थियो । तिमी अनि तिम्रा आँखा अनि त्यो मुस्कानसायद उसलाई पनि हेर्नु थियो होला अनि आफु र मेरी जुन सँग दाजीनु थियो होला । वास्तवमा कुन जुनको बढि चमक छ अनि को छ बढि सुन्दर । त्यो जुनलाई मेरी जुनले जुन सुकै हातलमा जित्ने पक्का थियो । मैले यस्तो सोचीरहदा जुनलाई जुनप्रकारको पिडा भएको थियो होला त्यो सायद निकै पिडादायक थियो । मेरो आशय जुनलाई पिडा पु¥याउने थिएन, म त मात्र तिम्रो बारेमा कुरा गरिहेको थिए ।
म आँज एउटा सुन्दर भविष्यको शुरुवातको लागि निकै खुसी थिए । म मेरो जन्मदिनको यो अवसर तिमीसँग बाडन चाहान्थे, अनि यो पुरा जिन्दगी तिम्रै लागि । हो आज म तिम्रीसँग यो जिन्दगीको यात्राको अन्तयसम्मको लागि सँगै हिड्ने प्रस्ताव गर्ने छु । दुई वर्षको यो सम्बन्ध पश्चात, मैले महसुस गरेको छु तिम्रो बिना म निकै अधुरो छु । अनि यो यात्रा तिमीसँग म सहजै पुरा गर्न सक्छु ।

थाहा छ, आज भान्छा मा मेरा हातहरु तिमीलाई खुवाउने भनेर निकै क्रियाशिल भए । जानी नजानी तिमीलाई मन पर्ने चिकेन गे्रबी बनाए, अनि तिमीलाई मिठो लाग्ने मुलाको अचार पनि , बिन्ती नहास्नु ल तिलको छोप हालेर । पहिलो पटक होला मैले यति समय लगाएर भान्छामा खाना बनाएको । तिमीलाई ती सारा परिकार आफैले बनाएको भनेर सुनाउन निकै आतुर थिए । नुन, मसला के लागेन तिम्रो कमेन्ट सुन्न म चाहिरहेको थिए ।

तिमी घरबाट निस्किए पछि फोन त गर्नु पथ्र्यो नि । हेर्नु त फोनमा कति घण्टी आएको थियो । फोन त उठाउनु पर्ने हो नी । कसैले फोनको उत्तर नदिदा दुख लाग्छ नि । एस एम एस त गर्नु पर्ने नि ।
तर,
तिमी यति हतार हतार गरी नआएको भए हुने थियो । मलाई त तिमी आए मात्र पुग्थ्यो के यि बर्थ डे केक, अनि यि फुलका गुच्छाहरुको कुनै जरुरी थिएन । यो जुत्ता चाही किन ल्याएको नि ? मेरो जुत्ता पुरानो भएर हो । केही त जवाफ देउ ?
रातको समयमा निकै होसियार भएर हिडनु पर्नेे , बाटो बनाउदै भत्काउदै गर्ने, खाल्डाखुल्डीले भरिएका बाटोहरु निकै होसियारी अपनाउनु पर्ने, ठेकदारले ठेक्का लिएपछि समय थप गरी टालटुल पर्दौ रहेको संरचनामा ध्यान दिनु पर्ने थियो । हिड्दै गर्दा फोनको घण्टी बज्यो भन्दैमा उठाउन नखोज्नु पर्ने थियो । तिमी पनि निकै खुसि थियो,होला है मेरो जन्मदिन मनउानको लागि । भन न कती खुसी थियौ । तिमी हतार हतार नआउनु पर्ने थियो हतार हतार साझँको बेला अनि बाटो काटदै गर्दा , त्यो निर्दयी टिप्परले तिमीलाई धक्का नदिनु पर्नै थियो ।
तिम्रो शरीरमा चोट नलाउनु पर्ने थियो, तिमी आजको दिन नरुनु पर्नै थियो, तिम्रो आखाबाट आशु नचुनु पर्ने थियो । हतार हतार अस्पतला लैजादै गर्दा तिम्रो ओठबाट शब्द ह्याप्पी बर्थडे नआउनु पर्ने थियो , अनि त्यही शब्द तिम्रो अन्तिम शब्द नहुनु पर्ने थियो । मेरो जन्मदिन तिम्रो अन्तिम दिन नहुन पर्ने थियो ।


Loading comments...