losar

आज तमु ल्होसार धुमधाम मनाइदै


अर्जुन भण्डारी
अर्जुन भण्डारी

ल्होसारलाइ लोसार, ल्होछार पनि भन्ने गरेको पाइन्छ । विशेषगरी हिमाली क्षेत्रको समुदायले मनाउने चाडपर्व हो । लोसार दुईवटा शब्द ‘लो’ + ‘सार’ मिलेर बनेको छ जस्को अर्थ भोट, भुटानी, शेर्पाली, डोल्पाली, इत्यादि भाषा अनुरुप ‘लो’ को अर्थ बर्ष र ‘सार’को अर्थ नयाँ भन्ने बुझिन्छ । खासगरी यो पर्व नयाँ बर्षको स्वागतका लागि मनाउने गरिन्छ ।

मुलतः गुरुड, शेर्पा, तामाड, तिब्बती, भोटे  आदिले धुमधाम संग मनाउने भएतापनि आजभोली नेपाली संस्कृतिका अन्य समुदायले पनि मनाउँदै आएको पाइन्छ ।

चिनियाँ समुदायवाट भित्रिएको अनुमान गरिएको यस पर्वलाई चिनियाँ भाषाको अधारमा मुसा (ज्यिवा), गाई (लअङ्), बाघ (ताग), विरालो (योस), गरुड (ड्रुग्), सर्प (ड्रुल्), घोडा (ता), भेडा (लुक), बाँदर (टे) चरा (ज्या), कुकुर (ख्यी) र सुँगुर (फग) गरी १२ वटा जनावरको नाम अनुसार प्रत्येक १२ बर्षमा दोहोरिएर पालो आउने गर्दछ । यसरी दोहोरीने चक्रलाइ ल्होहोखोर्लो भन्ने गरिन्छ ।

मानिसहरु सकिन आँटेको पुरानो बर्षको विदाइको लागि उनिहरु नयाँ वर्ष भन्दा अघि २-३ दिन अघि देखि नै लामाहरु आमन्त्रण गरी भब्य पुजाआजा गरी मनाउने गर्दछन ।

मानिसहरु ल्होसार भन्दा अगावै कृष्ण पक्षिय चर्तुदर्शीको दिन नौ प्रकारका विभिन्न गेडागुडीहरु मिलाएर थुक्पा बनाए घरका सम्पुर्ण जहान परिवार एकै स्थानमा भेला भएर रमाइलो गर्दै खाने गर्दछन । त्यसपछि आउँदै गरेको ल्होसारको लागि घर आगनहरु रंग तथा ध्वजा पतकाले सजाएर झिलिमिली बनाइन्छ । अनि विभिन्न खानाका परिकारहरु रोटी, फलफुल तथा गेडागुडीहरुले पनि सजाउने गरिन्छ ।

ल्होसारको विहान पख देवी देवताहरुलाइ पानी चढाएर यो बर्ष फलदायी होस भन्ने कामना गर्दै विभिन्न खानेकुराहरुको मिश्रण गरी बनाइएको पीठोको परिकार क्षेमर र अमृत खाने गरिन्छ । ठुला-बडासंग आर्शिवाद लिने पनि गरिन्छ । त्यस पछि दोश्रो दिन सार्वजनिक स्थलमा भेला भई एक आपसमा आ-आफ्ना मौलिक भेषभुषामा उभिएर मिठो मिठो भोजन आदान प्रदान गरी खाने गरिन्छ । यसरी शेर्पा समुदायमा ल्होसार १०-१५ दिन सम्म मनाउने गरिन्छ ।

ल्होसार मनाउँने समुदायका ज्योतिष शास्त्र अनुसार पुस महिनाको शुक्लपक्षको परेवा तिथिवाट नयाँबर्ष शुरु भएको मानिन्छ । यसै दिन देखि शुर्य दक्षिणाय सकिएर उत्तराणय तर्फ फकिर्ने गर्दछ ।

अवसरमा भूमण्डलमा भएका सिमेभूमे देवदेवी र नाग नागिनी, किरा फट्याङ्ग्राहरू पनि आफ्नो ठाउँ छोडेर अन्यत्र सरेर जान्छन् भन्ने विश्वास रहेको छ । त्यसबेला भौगोलिक बस्तुस्थिति अनुसार बर्ष फिर्ने हुँदा ल्होछार मान्ने गरिएको हो । वास्तविक बस्तुस्थिति यस्ता हुन् तापनि शेर्पा समाजले छयोठुल दुछेन (फागुणमा बुद्धले धार्मिक शक्ति प्रदर्शन गरी तैर्थीकलाई हराएको प्रातिहार्य दिवस पारेर लोसार चाड मान्ने गरेको पनि पाइएको छ ।)

ल्होसारका प्रकारहरु

तमू ल्होसार
विशेषगरी पुसको १५ गते मनाइने तमुल्होसार गुरुङ्ग जातिले मनाउने गर्दछन । गुरुङ्ग समुदायको पर्यावाची जनाउने शब्द तमु हो त्यसैले यसलाइ गुरुङ्ग हरुको पर्व पनि भनिन्छ । यो पर्व नेपाल तथा अन्य विभिन्न मुलुकहरुमा पनि मनाउने गरिन्छ । गुरुङ्ग समुदायको यस पर्वलाइ नयाँ वर्षको शुरुवातको दिन पनि बुझिने गरिन्छ ।

लोसारको अघिल्लो दिनको साँझमा वाटै यसलाइ मनाउने गरिन्छ । साँझमा पूजापाठ, भोजभतेर गरेपछि नाचगान गरी आधा रातमा (नयाँ वर्ष आयो) भन्दै नयाँ वर्षको स्वागत गरिन्छ । ल्होसारको दिन बिहानदेखि नै ढोग-भेट, शुभकामना आदानप्रदान गर्दै नाता कुटुम्बलाई बोलाएर भोज खुवाइ निकै उल्लासका साथ मनाइन्छ ।

उक्त दिनमा गुरूङ समुदायका मानिसहरू आफ्नै शैलीका भेषभुषामा सजिएका हुन्छन । महिलाहरुले शिरवन्दी, मखमली चोली, घलेक्क, पटुकी, छिट्को गुन्यु र मजेत्रो लगाउँछन भने पुरूषहरूले शिरमा टोपी, भोटो माथि भाङ्ग्रो र त्यसको साथमा कछाड अनि पटुकी पनि बाध्ने गर्दछन। अन्य जातीले जस्तै गुरूङ जातिहरूले पनि पर्वहरू मनाउने एउटा आफ्नै शैली रहेको छ, यी जातिहरूमा घाटु, सोरठी स्थानीय भाषामा चुड्का भनेर प्रचलित नाच कौडा नाच नाचेर आफ्ना परिवार, साथीभाईहरू संग रमाइलो गर्छन् ।

ग्याल्बो ल्होसार
यो पर्व बौद्ध धर्मालम्बीहरुको मुख्य चाड फागुन महिनामा पर्दछ । विशेषगरी शेर्पा जातिले मनाउने गरेता पनि यो पर्व अन्य विभिन्न जात जातिहरुले पनि मनाउँदै आएको पाइन्छ । ग्याल्बो ल्होसार फाल्गुण शुक्ल पक्षको प्रतिपदा तिथिमा मनाउने गरिए पनि यसको तयारी भने करिब डेढ महिना अघि देखि नै गरिन्छ।

‘ग्याल्पो’ भनेको राजा हो। यो पर्व शासक वर्ग वा राजाहरूले मानेको इतिहास पाइन्छ। कतै कतै मंगोल बादशाह जङ्गिच खानले विजयोत्सव मनाई सुरु गरेको पनि बताइन्छ। बौद्ध ग्रन्थअनुसार शाक्यमुनि बुद्धले फागुन शुक्लपक्षमा आफ्नो ऋद्धिशक्तिले ६ जना गैरबौद्ध साधुहरूलाई पराजित गरेको उल्लेख भएकाले विजयोत्सव मनाइएको प्रसंग पनि किंवदन्तीका रूपमा चलेको पाइन्छ।

तिब्बती पञ्चांगमा १२ जनावर, ५ धातु र २ लिंगअनुसार वर्षका नाम निर्धारण गर्ने विधान छ। यस नियमले १२० वर्षमा १ चक्र पूरा हुन्छ। आज तिब्बती पञ्चांगअनुसार खी लो (कुकुर वर्ष) सकिएर फग (सुँगुर वर्ष) २१४५ प्रारम्भ हुने दिन हो। यसर्थ धार्मिक विधिअनुरूप आज चरा वर्षलाई बिदा गरी सुँगुर वर्षलाई स्वागत गरिँदै छ।

विशेष तिब्बतियन, शेर्पा तथा योल्मो समुदायले मनाउने यस पर्वमा घर आगनमा सफा गरिसकेपछि गुथुक नौ प्रकारका गेडागुडी जस्तै चना केराउ भटमास मुला जौ चामल आँटा मकै आदि मिसाइ बनाएको परिकार भगवानलाइ अर्पण गरी आँफु पनि खाने पाहुना लाइ पनि खुवाउने गरिन्छ । यो पनि अन्यकुराहरु तमु ल्होसार जसरी नै मनाइने गरिन्छ ।
Losar

सोनाम ल्होसार
खासगरी सोनाम ल्होसार योल्मो र तामाङ्ग जातिका मानिसले मनाउने गर्दछन । यसको अर्काे नाम हो स्वनम ल्होसार । स्वनमको अर्थ हुन्छ पुण्य । त्यसकारण यसलाई पुण्य संवत्सर भनिन्छ । प्रत्येक वर्ष माघ महिनाको शुक्ल पक्षमा पर्ने प्रतिपदा तिथीको दिन मनाइने सोनाम ल्होछार र चिनिया नयाँ बर्ष एकै दिन मनाइन्छ । यो माघे सक्रान्तीको आसपास पर्दछ तर कहिलेकाँही ग्रहहरुको उतारचढावका कारणले मलमास भएको बर्षमा चाडपर्वहरुको तिथिमा पनि फेरवदल हुने भएकाले यसपाली भने केहि दिन पछि माघ २२ गतेको दिनमा सरेको छ । यो पर्व घर आगन लिपपोत गरी चोखो पारिन्छ र आँफु पनि नुहाएर पुजा गरिन्छ । अनि लामा पुरोहित वाट वा घरको मुलीबाट पुजापाठ गराइ गहुँको पिठो आकाशतर्फ उडाएर देवताको विजय र भुत प्रेतको हार होस भनि कामना गरिन्छ । अनि मान्यजनबाट आर्शिवाद लिँदै बाबरी रोटी, फुरौला, कन्दमुल आदि खाने पनि गरिन्छ ।

तोल ल्होसार
ल्होसार मध्येको सबैभन्दा पुरानो ल्होसार तोल ल्होसार हो । तोलको अर्थ  समयचक्र हुन्छ । त्यसकारण यस ल्होसारलाई समयचक्र संवत्सर पनि भनिन्छ । नेपालका हिमाली जिल्लाहरु हुम्ला, जुम्ला, डोल्पा, मुगु, मनाङ्ग र  तिब्बत तथा भुटानका मानिसहरुले पौष शुक्ल प्रतिपदाको दिनमा धुमधामका साथ मनाउने गर्दछन । विशेषगरी सोनाम ल्होसार जसरी नै मनाइने यो पर्वको दिन मात्र फरक हुने गर्दछ ।

पात्रो अनुसार अघिल्लो महिनाहरुमा बर्ष फेरिदै गर्दा कोङ्पो, तोला, सोनाम लोसार मनाउने गरिन्छ । ११ महिनामा कोङपो, १२ महिनामा सोनाम लोसार मनाउने गरिन्छ। ६० बर्षमा सोनाम ल्होसार र ग्याल्वो ल्होसार एकै दिनमा पर्ने गर्दछ ।

रमाइलो गरी ल्होसार मनाउनुहोला, नयाँ बर्ष तथा ल्होसारको शुभकामना ।


Loading comments...