
जोरपाटीको इतिहास
बौद्ध जोरपाटी भनेर लोकप्रिय रूपमा चिनिने स्थान काठमाडौँको रहँदै आएको छ। बाक्लो बस्ती बसिसकेको स्थानको ५० वर्ष अगाडी भने मानव बस्ती नै नभेको खेती गर्ने कृषि भूमी थियो। त्यो बखतमा काठमाडौँ उपत्यकालाई ‘नेपाल खाल्डो’ भनेर चिनिन्थ्यो। भारत-नेपाल-तिब्बत व्यापारिक मार्गमा नेपाल खाल्डो केन्द्रमा पर्ने हुनाले यो स्थान आर्थिक रूपले सम्पन्न बन्न पुगेको हो। यहाँका आदिवासी नेवाःहरू तिब्बतको ल्हासा देखि अझै पर मङोलिया सम्म पुगेर व्यापार व्यवसाय चलाउँथे भने तिब्बतीहरू पनि व्यापारको सिलसिलामा नेपाल झर्ने गर्थे।
त्यही मार्गको एक अंशमा जोरपाटी पनि पर्थ्यो। पशुपती, जयबागेश्वरी, चाबहील क्षेत्रको एउटा सिङ्गो ऐतिहासिक बस्ती ‘ग्वल देय्’ हुँदै खास्ति चैत्य अर्थात् बौद्ध स्तूप हुँदै सक्व निस्केर तिब्बत जाने गर्थे। त्यसै मार्गमा खास्ति चैत्य(बौद्ध स्तूप) र सक्व बस्ती बीचमा कुनै मानव बस्ती थिएन। जङ्गल र कृषि भूमीको दोसाँझमा दुईवटा फल्चा बनाइएको थियो। विश्वमा विभिन्न सभ्यताहरूको आफ्नै प्रकारको वास्तुकला मध्ये नेवाः सभ्यताको पनि आफ्नै विशिष्ट किसिमको वास्तुकला विकास भएको छ। यसैमा ‘फल्चा’ भन्नले पैदल यात्रु र बटुवाहरूलाई भारी बिसाउन, आराम गर्न, घाम पानी हावा छल्नका निम्ति बस्ती बीच बीचमा वा बस्ती बाहिर यस्ता ‘फल्चा’हरू निर्माण गरेका हुन्छ।
खास्ति चैत्य तिब्बत-नेपाल व्यापार मार्गमा महत्वपूर्ण स्थान लिइन्थ्यो। त्यसैले यसको बारेमा तिब्बती इतिहासमा धेरै चर्चा गरिन्छ। त्यही चैत्य(स्तूप)बाट केही कोष ताढा दुईवटा फल्चा बनाइएका थिए। नेपालभाषमा ‘ज्वः’ भन्नले ‘जोडी’ हुन्छ। त्यसैले त्यस ठाउँको नाम ‘ज्वःफल्चा’का रूपमा रहन गयो। राणा कालको सुरुवातसँगै नेपालका विभिन्न भेगमा भएका स्थानीय भाषाका स्थाननामहरू परिवर्तन गरिन थालियो। यसै क्रममा ‘ज्वःफल्चा’को नाम परिवर्तन गरी ‘जोरपाटी’ राखिएको थियो भने बस्ती विकासका क्रममा सोही नाम लोकप्रिय हुँदै गयो। अझ पनि नेवाः समुदायका ज्येष्ठ नागरिकहरू यस स्थानलाई ‘ज्वःफल्चा’ भनेर भन्दछन्।
source : The Heritages of Nepal