dhaka tipi

ढाका टोपीको नेपाली कथा


पारिजातको शिरिषको फुल पढ्दा एउटा वलवान गोर्खाली सुयोगवीर अनि उसको यूद्धका अनुभवहरु छरपष्ट हुन्छ । बन्दुकको नाल, मान्छेको शवहरु, यूद्धको आहत अनि यूद्धपछिका राहत धेरै कुराहरुमा एउटा नेपाली अनि उसको नेपालीपना घुमिरहेको पाईन्छ ।
शिरिषको फूल एउटा विम्ब हो जो भ्रमरचुम्बनमा ओइली झर्दछ अनि ढाका टोपी त्यस्ता धेरै वास्तविक चरित्रहरुको गर्वको प्रतिक हो जसमा सैयौं नेपाली पुस्ताहरु लुटपुटिएका छन् ।अब कुरा गरौं ढाका को । ढाका अर्थात बंगलादेशको राजधानी अनि के यो नेपाली ढाका टोपीको इतिहास गएर बंगलादेशको ढाका संग ठोकिन्छ त?

ढाका वास्तवमा बंगदादेशको राजधानी ढाका बाट मगाइएको या आयात गरिएको कपडा बाट बन्ने भएर नाम दिएको हो भन्ने एकथरि मत छ । १०० वर्ष भन्दा अघिको तत्कालिन नेपालको इतिहास अनि परिवेश संग ढाका लाई धेरैले जोडेको पाइन्छ । सन् १९५० मा सर्वप्रथम बंगलादेशबाट भारत आएका बंगालीहरु बाट किनेर ढाकाको कपडा पाल्पा ल्याएको कथन पनि छ । सुस्तरि त्यो प्रविधी अनि कपडा काठमाडौं  आयो भन्ने तथ्य पनि पत्यारिलो नै छ । क्रमश ढाका तेह्रथुम, भोजपुर लगायत देशैभरि फैलिएको पनि बताइन्छ ।
हुन त ढाका रंग नभएपनि भादगाँउले खाले कालो ढाका कै आकार र स्वरुपको टोपी भानुभक्त आचार्यको पालामा तनँहुमा पनि चलनमा भएको पाइन्छ । आदिकवीको टोपी लगाउने तरिका अझै पनि सिको गरिन्छ र कालो भादगाँउले टोपी र सर्लक्क कालो टिका उतिबेलै देखिको नेपाली निधारको श्रृगांर हो ।

उता राणा प्रधानमन्त्री जगंवहादुर राणाको पालासम्म नेपालको राष्ट्र पोशाक भनेंर खासै कुनै पोशाक नतोकिएको र उनी वेलायत जाँदा जाडोमा बंगालीहरुले ईस्टकोट र टोपी लगाएको देखेर ढाकाटोपी र ईस्टकोट लगाई नेपाल फर्केको र एवं रितले देशमा ढाकाको चलन आएको पनि एकथरिको तथ्य छ । जंगवहादुरले जहाजको चालक दलका सदस्य बंगालीसंग ढाकाको टोपी र ईस्टकोट किनेको पनि बताइन्छ । सन् १८४० ताका जंगवहादुर वेलायतमा रहँदा उन्ले ढाकाको कपडा लिएको र दौरासुरुवाल माथि त्यो कपडा लाउन उन्लाई दिइएको सुझाव वमोजिम उन्को दौरासुरुवाल माथिको ईस्टकोट र ढाकाटोपी थपिएको पनि बताइन्छ । पछि सन् १८८५ मा बिरशम्सेरको पालमा दौरासुरुवाल, ढाका टोपी र कोटलाई नेपालको राष्ट्रिय पहिरन बनाइएको इतिहास छ । राजा महेन्द्रको पञ्चायत कालमा पनि कालो टोपीलाई सरकारी सेवाका सबैलाई लगाउने ठाडो आदेश भएको देखिन्छ । नेपाली ढाका टोपी बुनाईका कुरामा भनें हामीले कारागारका बन्दीहरु अनि भुटानी शरणार्थि क्याम्पबाट गएका दशकहरुमा सर्वाधिक धेरै ढाका बुनेर आउने गरेको पाइन्छ । अब भुटानी शरणार्थिहरुको तेश्रो मुलुकमा बहिर्गमन संगै शरणार्थि क्याम्पवाट ढाका त आउन बन्द जस्तै भइसक्यो तथापि कारागारका बन्दीहरुले बुनेका अधिकांश ढाकाका सामाग्री बजारमा देखिन्छ ।

ढाका कपडा मात्र नभई त्यसको बुट्टाको ज्यामितिय स्वरुप पनि हो । अहिलेको नेपालमा ढाकाको बुनाई र कपडाको व्यवसाहिकरणमा ध्यान दिइएको पटक्कै पाइन्न, नेपाली पसिना र श्रमले बुनेको ढाकामा नेपाली पना जाजवल्यमान रहन्छ । सगरमाथाको आकारमा ढलक्क ढल्किएको ढाका नेपाली शिरको प्रथम पहिचान हुन पर्दछ ।

ढाका कपडा जम्दानी सारीको सप्कोको बुट्टा अनि कपडाको निर्माण प्रक्रियामा आधारित भएको पनि तथ्य छ । भारतका मुगल राजाका सन्तती अनि नेपाली राजारजौटाहरु ले पनि ढाकाको कपडा आफ्नो शान अनि मर्यादासंग जोडेको बिभिन्न पुस्तक अनि ईतिहासकारले कोरेका छन् । धेरै समय ढाका कपडा धनी अनि सभ्रान्त परिवारको शान मात्र भए पनि अब ढाका कपडा एउटा सभ्यताको शिर भएको छ । ढाका बिना नेपाली ज्यान, शिर, कामकार्जे अनि नेपालीपना नै अधुरो छ । उता बंगलादेशको ढाका शहरको नाम नै त्यहाँ रहेको ढाकेश्वर मन्दिरका कारणले राखिएको पनि तथ्य छ ।

तथ्य जे सुकै होस्, ढाकाको कपडा हाम्रो शान हो । विश्वयूद्धका सिपाहीको पसिना पुछ्न फकल्याण्ड देखि म्यानमार लगायत धेरै ठाँउमा नेपाली हात संगै पुगेको ढाका आज जता जता नेपाली छन् त्यता त्यता पुगेको छ । ढाकाको कपडामा भएको विविध रगंहरुले नेपालीपनको अद्भूत समायोजन अनि सकंलन जनाँउदछ ।

हरेक वर्ष जनवरी १ तारिखका दिन अनौपचारीक रुपमा ढाका टोपी दिवस मनाउने एउटा चलनको थालनी यूवा पुस्ता ले गरेको छ । सामाजिक सञ्जालको प्रचलनसंगै यो समान धारणा र नेपालीपनाको परिचयको साटासाट पनि हो ।
नयाँ ईस्वीसंवतको शुभकामना दिइरहँदा हाम्रो मौलिक ढाका टोपी लाई ढलक्क ढल्काउने पो हो कि ?

लाईभमाण्डु


Loading comments...