swastani

आजदेखि श्रीस्वस्थानी बर्तकथा प्रारम्भ


अर्जुन भण्डारी
अर्जुन भण्डारी

आज पौष शुक्ल पुर्णिमा सवै हिन्दु धर्मालम्बीहरुको घरघरमा श्री स्वस्थानी बर्तकथा बाचनको शुरुवात हुँदै छ । ३१ अध्यायमा प्रस्तुत यो कथा पौष शुक्ल पुर्णिमा देखि शुरु भएर माघ शुक्ल पुर्णिमा सम्म माघ महात्मे स्वरुप श्रीस्वस्थानी बर्तकथाको बाचन गरिन्छ । यस वर्तलाइ हिन्दुहरुले गर्ने सवै भन्दा कठोर बर्तको रुपमा पनि लिने गरिन्छ ।

मलमासको बर्षमा ग्रहहरुको स्थानमा उतारचढावका कारणले गर्दा तिथिमितिहरुमा केहि फेरबदल हुने र फलस्वरुप चाडपर्वहरुको मितिमा पनि असर गर्ने हुन्छ । जस्को असर श्रीस्वस्थानीमा पनि प्रत्यक्ष परेको पाइन्छ । त्यसैले पौष महिना देखि प्रारम्भ हुने श्रीस्वस्थानी बर्तकथा यसपाली माघ महिना देखि शुरुवात भएको पाइन्छ ।

यो बर्त तथा उपवास अन्य बर्त तथा उपवास भन्दा बेग्ले भएको भान हुन्छ, किनभने अरु बर्त उपवासमा यसरी कथा बाचन तथा श्रवण गर्ने कुरा हुँदैनन र यति धेरै एक महिना लामो बर्त पनि हुँदैन । कथामा पनि उल्लेख गरिएको छ, कथा बाचन गर्नू आँफु सुन्नु अरुलाइ पनि सुनाउनु, यदि सुनाउने ब्यक्ति नभए कोठामा भएका खाट, पिर्का जस्ता समाग्रीलाइ भए पनि सुनाउनु ।
swastani barta
श्रीमद्भागवत गीतामा भगवान श्रीकृष्णले अर्जुनलाई कथा सुनाए जस्तै यस श्रीस्वस्थानी बर्तकथाको प्रसंगमा पनि दुईजना शुत्रधार भगवान महादेवका ज्येष्ठ सुपुत्र कुमारजी र अगस्त्य मुनी ऋषि विचको सम्बादमा रहेको छ । कथाको मुख्य पात्रको रुपमा कैलाश निवासी श्री महादेवलाई लिइएको छ भने भगवान विष्णु, श्री गणेश, हिमालय पुत्री पार्वती, दक्ष प्रजापति, सतिदेवी, गोमा ब्राह्मणी, नवराज आदिलाइ अन्य पात्रको रुपमा प्रस्तुत गरिएको छ ।

बार्षिक रुपमा बाचन गरिने स्कन्दपुराणको केहि अंश श्रीस्वस्थानी बर्तकथा सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले आफ्नो श्री महादेवलाइ पति स्वरुप प्राप्त गरुँ भन्ने उद्देश्यका साथ श्रीस्वस्थानीको बर्त बसेको र उनको मनोकामना पुर्ण भएको विस्वासमा श्रीस्वस्थानी कथाको प्रारम्भ भएको विस्वास गरिन्छ ।

कथाको शुरुवातमा पृथ्वीको उत्पत्तिसंगै शिवजीको दक्ष प्रजापति पुत्री सतिसंगको विवाह र त्यसपछि सतिदेवी दक्षप्रजापतिको यज्ञको अग्नी कुण्डमा हाम फाली देहत्याग अनि शिवजीको उक्त प्राण विनाको शरिरसंगको मायाको प्रसंगमा एक पति पत्नीको प्रेम सम्बन्धको विशिष्ट कलात्मक र मार्मिक ढंगवाट प्रस्तुत गरिएको छ । कथामा सतिदेवीको विभिन्न स्थानमा अंग पतन भएको र उक्त स्थानमा स्थापना भएका पिठहरुको उत्पत्ति बारेमा पनि जानकारी गराइएको छ ।

पछि हिमालयकी पुत्री पार्वती श्रीमहादेव पति पाउँ भनि वर्त बसेकाले विवाह भएको प्रसंग उल्लेख गरिएको छ भने गोमा ब्राह्मणीको विवाह प्रसंग र उनको कष्टपुर्ण जिवनको बारेमा निकै भावनात्मक र मार्मिक तवरले प्रस्तुत गरिएको छ । यस कथा प्रसंगमा भने यदा-कदा बाल विवाह, अनमेल विवाह भएको भान हुन्छ ।

कथामा भगवान महादेव, पार्वर्ती, सतिदेवी, श्री स्वस्थानी देवी आदिको प्रसंसा भने निकै खुलेर गरिएको छ । जस्मा श्री स्वस्थानीको ब्याख्या सुनको जस्तै दिब्य पित वर्ण भएकी, तीन नेत्र भएकी, कमल पुष्पझैं प्रसन्न मुख मण्डल भएकी, विविध आभुषण हरुले शोभायमान भई सिंहासनमा विराजमान भएकी, खड् ,चर्म र नीलोत्पल धारण गरेकी, चारबाहु भएकी जस्ता शब्दहरुले परिचय गराइएको छ ।

श्री स्वस्थानी बर्त कथाको प्रसंगमा बाल्यकालको कुरा गर्दा यो कथा बालबालिकहरुकोे लागि पनि निकै उत्साह तथा चाखपुर्ण हुने गर्दथ्यो । प्रसादी तथा नैबेद्यको रुपमा राखिने मिठा अनि गुलिया फलफुल तथा मिठाइहरु जस्तैः उखु, सखरखण्ड, मिठाइ, मेवा, सुन्तला, स्याउ, बदाम, चिनी आदी प्रमुख आर्कषणका पक्ष हुन भने पृथ्वीको उत्पत्ति, देवता राक्षसहरुको युद्ध, अनि महादेव पार्वती र सतिदेविको प्रेम प्रसंग अर्को आर्कषण हुन ।

बच्चा अवस्थामा आफ्नो घरमा कथा सुनिसकेपछि अरुको घरमा पनि कथा सुन्न भनेर गइन्थ्यो अनि प्रसादको आनन्द लिएर आइन्थ्यो । बच्चा उमेरमा साथिहरु भेला भएर आफ्नो घरमा बेलुका बनाइने नैबेद्यको बारेमा कुरा गरिन्थ्यो जस्ले कथा सुन्ने बहाना सृजना गर्दथ्यो । कहिले काँही कथा बाचक आँफु स्वयं बन्नु पथ्र्यो जस्ले गर्दा बाक्य बाचन कलामा केहि निखार ल्याउन सकिन्थ्यो ।

श्री स्वस्थानी बर्तकथा नेपालकै सेरोफेरोमा रहेर लेखिएको पाइन्छ । जस्मा मुक्तिनाथ, गुहेस्वरी, स्लेष्मान्तक वन, शाली नदि, पशुपति आदि स्थानहरुको चित्रण गरिएको पाइन्छ । पहिलेका पुराना हिन्दी पुस्तकहरुमा तुलनामा आजभोलीका नेपालको तिर्थ स्थल कम मात्रामा प्रस्तुत गरिएको पाइन्छ । त्यसैले केहि बर्ष यता नेपाली पुस्तकहरुमा नेपाली तिर्थ स्थलहरु समाबेश गरिएको पुस्तकहरु बजारमा आएको पाइन्छ । श्रीस्वस्थानी बर्तकथाको समयमा काठमाण्डौका शालीनदिमा विशेष मेला लाग्ने गर्दछ ।

श्रीस्वस्थानी बर्तकथाका नियमहरु
प्रक्रिया पुरा नगरी गरेको कर्मले फल प्राप्ती नहुन पनि सक्छ त्यसैले यस वर्त प्रारम्भ गर्नु भन्दा अघि यी कुराहरुमा पनि ध्यान दिनु जरुरी छ । प्रतेक वर्ष पौषशुक्ल पूर्णिमाका दिन देखी यस ब्रतको सुरुवात हुन्छ । पूर्णिमाको अघिल्लो दिन अर्थात चतुर्दशीको दिन देखी नै दुबै हात खुट्टाका नङ्हरू काटी, पवित्र भएर हविष्य (दुध दहि, जौं, गौं चामल, तिल घ्यू, सख्खर इत्यादी सात्वीक पदार्थहरू) भोजन ग्रहण गरी श्री स्वस्थानी माताको स्थापना–पूजा गर्ने ठाउँ को सरसफाई लिपपोत इत्यादी गर्नु पर्छ । ब्रत गर्नेले त्यसै दिन देखी ब्रत नसकिदा सम्म पलङ् र खाटको प्रयोग त्याग गरी भुइमा शयन गर्नु पर्दछ । दिनमा एकछाक मात्र सात्विक भोजन गर्नु पर्दछ । ब्रत नसकिदा सम्म ब्रतालु पुरुष भए रौं काट्न पनि हुदैन । त्यसै दिनदेखि ब्रह्मचर्य को पालन गर्नु, शुद्घ धोएका बस्त्रहरू मात्रै लगाउनु, शौच गरेपछि जलको प्रयोगले सफाई गर्नु, सात्विक भाव मात्र हृदयमा राख्नु ब्रतका अनिबार्य नियमहरू हुन् ।

आठ पत्र भएको कमलको वरिपरी क्रमशः वैष्णवी, ब्राह्मी, माहेश्वरी, कौमारी, बाराही, इन्द्राणी, चामुण्डा र महाकालीको स्थापना गरी पूजा गर्नु पर्दछ । प्रतेक दिन बिहान दिप गणेश र कलश को पूजा गर्नुका साथै माथी उल्लेख गरिएका अष्टमात्रिका र श्री स्वस्थानी माताको पूजा आचमन, पाद्य, पंचामृत, चन्दन, धूप, दिप, नैबेद्य, बस्त्र, भेटी, सुपारी, सिन्दुर, अबिर, सौभाग्यद्रब्य , सेलरोटी, हलुवा इत्यादीले पुजा गर्नु पर्दछ । पूजा पछी दुबै हातमा फूललिई हात जोडी श्री स्वस्थानीमाताको निम्न मन्त्रले ध्यान गरि साष्टाङ्ग दण्डवत् गर्नु पर्दछ ।

कथा आरम्भ गर्नु भन्दा पहिले प्रारम्भ मन्त्र र कथा भनिसके पछि समापन मन्त्र बाचन गरिन्छ । समापन मन्त्र पश्चात् धूप, दिप, फूल, चन्दन, अक्षता र भेटी चढाई पुस्तकको पनि पूजा गर्नु पर्दछ । कथा पछी आरती गर्नु पर्दछ । आरती पछी कथा सुन्ने जति सबैलाई प्रसाद दिई आफूले पनि ग्रहण गर्नुपर्दछ । यो प्रतिदिन को पूजाकार्य भयो । यस क्रमले जब माघ शुक्ल पूर्णिमाको दिन सम्म कथा बाचन गरिन्छ ।

श्रीस्वस्थानी कथा बाचन गर्नुपुर्र्व ध्यान दिनुपर्ने कुराहरु
श्रीस्वस्थानीको बर्त बस्नेले दिनको मध्यान्नमा कथा बाचन अथवा श्रवण गर्नु पर्दछ । अन्यले भने साँझ वा आफ्नो पाएक पर्दो समयमा कथा वाचन तथा श्रवण गर्न सक्नेछन ।

  • पुजा गर्नको लागि पुष्प तथा नैबेद्य घाम अस्ताउनु पुर्व नै जम्मा गरिएको हुनु पर्दछ । किनभने घाम अस्ताएपछि टिपिएको फल तथा फुल अशुभ मानिन्छ ।
  • कथा बाचन गर्ने स्थान शुद्ध हुनु पर्दछ ।
  • कथा बाचन गर्नु पुर्व सवै श्रोत तथा बाचकले पुष्प लिएर नमस्कार गरिन्छ ।
  • कथा प्रारम्भ गर्नु भन्दा अगावै हरेक अध्यायमा प्रारम्भ मन्त्र बाचन गरिन्छ ।
  • कथा बाचन गरिसकेपछि वाचक तथा श्रोताले पुन फुल पाति लिएर समाप्ती मन्त्र बाचन गरिन्छ ।
  • अनि कितावलाइ सुरक्षित स्थानमा राखिन्छ ।श्री स्वस्थानी माताले सवैको रक्षा गरुन सवैलाइ बर्तको फल प्राप्त होस शुभकामना छ ।

Loading comments...