तिब्बतमा ७ बर्ष


के हुन्छ त हिमालको त्यो पार ?
किन हुन्छ त हिमालको त्यो पार ?
धेरै प्रश्नहरु तिव्बतसंग जोडिएर आउने गर्दछ, हैन र ?

तिव्बती शरणार्थिहरुलाई शरण दिएको नेपाल अनि तिब्बत संग अत्यन्त निकट देश नेपाल तथापि तिव्बत अनि त्यहाँका रहनसहन, जिवनशैली अनि अन्य बिभिन्न कुराहरु नेपाली लगायतका अहिलेका अन्तराष्ट्रिय जगतमै एउटा रहस्य अझ भनौं तिव्बत प्रतिको उत्सुक्ता छ । चीनले स्वशाषित भूमि तिव्बत कब्जा गरेर त्यहाँका रैथाने दलाई लामा लगायत धेरै तिव्बतीहरुलाई देश निकाला गरे पछि त झन तिव्बत संसारका लागि रहस्यको पोका नै भएको छ ।

मुनामदनका मदन देखि अन्य धेरै कालखण्डका नेपाली पात्रहरु भोट जाने चलन छ । ल्हासाको सुन देखि भोटवाट नून ल्याउने चलन सम्म नेपाली गामवेशीमा उहिलेदेखि चलनमा छ ।तिब्बत अर्थात नेपालीमा भोट पनि भनिन्छ, शदियौं देखि नुन अनि सामान लिन तिव्बल जाने आउने क्रम नेपालीहरुको रहिआएको झल्को त धेरै कथा अनि उदहारणहरुले दिएकै छन् । नेपाली घरहरुमा भनिने ल्हासामा सुन छ कान मेरो बुच्चै जस्ता थेगोहरुले पनि तिव्बत अनि नेपाली समबन्धको व्याख्या गरिदिन्छ ।

आज हामी यसै प्रसंगमा जोडेर एउटा अन्तराष्ट्रिय चलचित्र सेभेन ईयरस् ईन तिब्बतको बारेमा कुरा गर्न जाँदैछौं । सन् १९९७ मा रिलिज भएको यो चलचित्रलाई जीन ज्याक्स अनाउडले निर्देशन अनि यसमा ख्यातीप्राप्त अभिनेता अनि अभिनेत्री एन्जेलीना जोलीका पति ब्राड पीट ले अभिनय गरेका छन् ।

अस्ट्रीयन पर्वतारोही हेनरीक हेररको आत्मकथा हो र यि पर्वतारोही हिमाल आरोहणकै क्रममा सन् १९४४ देखि १९५१ सम्म बिभिन्न कारणले तिब्बतमै बसेका थिए । यो समय दोश्रो विश्वयुद्धको उत्कृट समय थियो र यसै बिच सन् १९५० मा चिनियाँ सैनिकले तिब्बतमाथि कब्जा पनि गरेका हुन् । नगां पर्वत आरोहण गर्न गएका पात्र बिभिन्न दुर्घटनाका कारणले ल्हासामा शरण लिन पुग्दछन् ।

यसै क्रममा हेररको तत्कालिन बालक दलाई लामा कुन्दुन संग राम्रो समबन्ध स्थापीत हुन पुग्दछ । यि बालक दलाई लामालाई ल्हासाको पोताला दरबारमा तिब्बतीहरुको आवाज प्रतिनिधित्व गर्न बिभिन्न गुरु अनि सन्त भीक्षुहरुले सिकाइरहेका या तालिम दिइरहेका हुन्छन् । यि बालक एउटा शाषक अनि भगवान दुबै हुन भने उता पात्र हेनरीक भने पर्वतारोहणका आशक्त अनि गर्भवती श्रीमतीलाई देशमै छाडेर जोखिम मोल्दै, भालू अनि हिँउसंग पौठेजोरी खेलेर धन्न बाचेर शरण लिन आइपुगेका अन्जान व्यक्ति हुन् । बेलायती पोव क्याम्प बाट भागेका हेनरीक् संगै उनका सहयोगी पिटर पनि हुन्छन्, चलचित्रका हरेक रोमाञ्चकताका उतार चढावहरु यिनै दुई पात्रका वरिपरि घुमेको छ ।

बालक दलाई लामाको पोताला दरबार माथि बसेर दुरबिनले तल हेर्ने र रमाउने बानी हुन्छ । बालक दलाई लामा यसरी दुरबिन अनि चलचित्र स्क्रीनको जिज्ञासु हुन्छन् । बालक दलाई लामाले ल्हासा वरिपरि पोताला दरबारको माथिवाट टेलिस्कोपले हेर्दा यि दुई आगन्तुकलाई आएको देखेर पोताला दरबारमा आउन निमन्त्रणा पठाँउदछन् । बालक दलाई लामाले प्रथम भेटमै यि बिदेशीहरुलाई पहेंलो कपाल भनि सम्बोधन गर्दछन अनि आफ्नो देश बाहिरका घटनाक्रम अनि बिषयहरुका बारेमा आफूलाई बताउन यिनलाई आग्रह गर्दछन् । बालक दलाई लामाले हेनरिक लाई आफ्नो लागि चलचित्र थिएटर पनि बनाइदिन आग्रह गर्दछन् । पिटर भने स्थानीय महिलासंग बिवाह गरेर बस्दछन् । चिनियाँहरुले यस दुर्गम शहर तिब्बतलाई किन यति साह्रो महत्वका साथ हेरे भन्ने कुरामा चाँही चलचित्र मौन छ तथापि चीनीयाहरुले तिव्बतीमाथि गरेका र्दुव्यबहारका दृश्यहरु चलचित्रमा कम छैनन् । यसका साथै दलाई लामा २१सौं चीनीया आक्रमणका कारणले देशनिकाला हुन्छन् ।
बिदेशी पर्वतारोही र स्थानीय ल्हासाकी कपडा सिउने यूवती बिचको प्रेम अनि घनिष्टतामा भाषागत अनि सस्कारगत कठिनाईहरु नदेखाइनु एउटा दुर्बल पक्ष हो । अर्कोतर्फ बालक दलाई लामा बिदेशीहरु संग त्यती निकट हुँदा पनि तिनका सहयोगीहरुले उनलाई केही खतराको जनाउ नदिनु पनि प्राकृतिक लाग्दैन ।
बालक दलाई लामा आफ्नो भगवान सरहको चरित्र वाट माथि आएर बिश्व परिपेक्ष्यको खबरमा किन त्यती उत्साहीत भए, कथाले न्याय दिएको छैन् । समग्रमा भन्दा दलाई लामाको भगवान झैं चरित्रलाई यस चलचित्रले अलिक कम आँकेको र दर्शन र अध्यात्म भन्दा सस्तो नाटकिय रुपान्तरणमा केन्द्रित भएको देखिन्छ ।
चलचित्रको शुरुमै हेनरीकलाई हिटलरका नाजी सैनिकका रुपमा चित्रण गरिएको छ । दोश्रो विश्वयुद्धको चपेटामा हिटलरको अफ्ठेरो अवस्थामा उन्का इलाइट आर्मी अर्थात् हेनरीक किन बेला न कुबेला पर्वतारोहण गर्न पुगे त ?
उत्तर चलचित्रमा खासै छैन् ।
तथापि तिब्बती रहन सहन अनि पृष्ठूमि अनि हिमाली आवरणहरुका साथ कलाकारहरुको दमदार अभिनयले चलचित्रलाई आलिशान बनाएको छ ।
फुर्सत भए एकफेर हेर्नुहोला है, तिब्बतमा ७ बर्ष, सेभेन हियरस इन तिव्बत ।
कुनै दिन फुर्सत भए अनि तिब्बतलाई स्क्रीनमा हेर्न चाहने ईच्छा भएमा र दशकौं पुरानो तिब्बतको परिवेश नियाल्ने भए यो चलचित्र हेर्नुहोला । हुन त यो चलचित्र सहजै यूट्यूबमा उपलब्ध छैन्, यसका लागि अन्य चलचित्र भएका साईटहरु खोजेर हेर्न या सिडि किनेर हेर्न सकिने छ ।
यो वर्ष सन् २०१९ को बकेट लिस्टमा हेर्ने चलचित्रहरुको लिस्टमा यो चलचित्र पनि राख्ने की ?

-सुयोग ढकाल


Loading comments...