दुहुनो गाईको कथा


पहिलेका गाईमा विभिन्न रोग देखिए अनि दुध उत्पादन निकै कम हुन गयो, मेहनेत अनुसारको प्रतिफल नभएपछि नयाँ गाई किन्ने सल्लाह भयो, एउटा दुहुनो गाई । गाई किन्ने जिम्मेवारी घरको जेठो छोरालाई पुर्ण विश्वासको साथमा दिइन्छ । बुढा भएका बाबु आमाको सपना राम्रो गाई ल्याएर बुढ्यौलीमा स्वस्थ्य जिवनयापन गर्ने । गाँउभरी ठुलै हल्ला हुन्छ, गाँउमा नयाँ गाई आउँदै छ दुहुनो गाई ।

गाँउमा पहिल्ले देखि नै गाई पालिरहेका कयौ व्यक्तिले सल्लाह पनि दिन्छन, गाई त जर्सि नै ल्याउनु पर्छ, दोस्रो बेतको ल्याउनु नि, सेतो गाई ल्याउनु । सबैको कुरा सुनेको नसुने झै गरी घरको जेठो छोरो आफना चार-पाँच जना साथीलाई लिएर गाई खोज्न छिमेकी गाँउतिर जान्छन् । गाँई खोज्नु खासमा कुनै ठुलो कुरा नभए पनि जेठो छोरो त्यही घुम्ने बाहनामा बिभिन्न गाँउमा पुग्छन अनि गाई भन्दा पनि घुमघामलाई बढि महत्व दिन्छन् । यता घरमा बुढा बा-आमालाई बुढेशकालमा दुध, मोही खाएर केही भएपनि शक्ति आउला भन्ने खुसीले गद्गगद्ग हुन्छन, छर छिमेकमा सापट लिएर गाई किन्नको लागि छोरालाई जिम्मा दिएकोमा छोराको जिम्मेवारी बोधप्रति निकै प्रश्न चिन्ह हुदैन किनक बुबा-आमाको मन त हो ।

एउटा गाँउमा एउटा गाई भेटिन्छ हेर्दा घरमा बुबाले ल्याउनु भनेको जस्तै रङ्ग, रुप, अनि हेर्दा दुधको क्षमता पनि समान नै लाग्छ । किसानसँग मोलतोल गर्दै गर्दा किसानले आफनो गाईको बैगुन पनि सबै बताउछ, भन्छ यो गाईको मुल्य अरु गाईको भन्दा कम छ किनकी यो गाईले कहिलेकाही लात्तो पनि हान्छ, कहिले काहि दुध पनि दिदैन र तपाईले खोज्नु भएको पाँच माना दुध दिदैन तर चार माना चाही दिन्छ यदि मिलाएर दाना पानी खुवाउनु भयो भने ।

यी सबै कुरा सुनिरहदाँ छोरामा एक प्रकारको लोभको भावना आयो र खल्तीमा भएको नगदको बिटो सम्झियो । मनमनै हिसाब गर्न लाग्यो यो बैगुनी गाई लिएर गए भने करिब १०,००० नै खल्तीमा राख्न पाउने छु । छोराले निर्धा बाबुआमाको सोझोपनालाई नजर अन्दाज गरी त्यही बैगुनी गाई लिएर घरतर्फ लाग्छ ।

घरमा सबैमा खुसीको भावना देखिन्छ, गाईको मुल्यको बारेमा सोध्दा छोरोले जवाफ दिन्छ “निकै दुख पाइयो गाई खोज्न, हामीले नपाएर पल्लो गाँउको मान्छे लगाएर गाई खोज्यौ उसलाई पनि पैसा दिनु पर्यो तपाईले दिनु भएको भन्दा २,४ हजार बढि खर्च भयो” ।
बुबा छोराको मेहनेत देखेर खुसि देखिए । केही कम दुध दिएकोमा जेनतेन वृद्ध बाबुआमाले चित्त बुझाए तर प्रत्येक दिन त्यो गाईको दुध, मोही पिउदाँ त्यो जेठो छोरालाई कहिल्यै गलत गरेको महसुस भएन ।


Loading comments...