बिहानीको मन्त्रहरु


हाम्रो दिमाग बास्तविक रुपमा बिजुली बत्तिको स्वीच जस्तो छ । जब बत्ति मधुरो या शुन्य हुन्छ तब हामीले केहि देख्दैनौं तर बत्ति बलेको बेलामा हामीले धेरै कुरा देख्न सक्दछौं । संभावना, उर्जा, सकारात्मकता, जागरण र अनुभूतिले हामीलाई सदैव खुशी अनि कटिबद्ध राख्दछ ।
हामीलाई आफ्नो लक्ष्यप्रति कटिबद्ध अनि अझ केन्द्रित बन्न केही बिश्वास अनि केहि तौरतरिकाहरुको जरुरत पर्दछ ।
जागृत श्वाँसप्रश्वास अनि ध्यानको हाम्रो दिमाग र खुशी र शान्तपनासंग ठूलै सम्बन्ध रहन्छ । मान्छेको प्राकृतिक भावात्मक उपस्थिती अनि मानविय संवेदना र स्नेहभावसंग मन्त्र, ध्यान अनि साधनाले धेरै निकट ल्याँउदछ ।
आज कुरा गरौं ५ वटा सामान्य धारणागत मन्त्रहरुको जसलाई बिहानै आत्मसाथ र मनन गरे हाम्रो दिन राम्रो र लक्ष्यमार्ग अझ निकट आँउदछ । ध्यानमा बस्दा लगातार मन्त्रको जाप र स्मरणले ध्यानलाई अझ प्रगाढ बनाउन र हामीलाई वर्तमानसंग थप नजिक ल्याउन सहयोग गर्दछ ।
हाम्रो वरिपरिको घटनाक्रम अनि परिस्थितीसंग हामीले गर्ने ब्यबहार हाम्रो अध्यात्मिक अवस्था र मानसिक स्वास्थको गहिराईले निर्धारण गर्दछ । ल आउनुहोस् आज बिहानै स्मरण र जाप गर्न जरुरी केहि धारणागत मन्त्रहरु स्मरण गरौं । यि मन्त्रहरु धारणा हुन् र यिनमा कुनै संस्कृतको श्लोक या ज्ञान भन्दा पनि आत्मसाथ अनि आफूलाई सम्मान गर्ने तथ्यहरु लुकेका छन् ।
१ , म यस लोकमा उपस्थित छु
अंग्रेजीमा आई एक्जीस्ट पनि भन्न सकियो । हामी अक्सर आफुलाई विश्वमा अति सानो र वास्ता नगरिएको तत्वका रुपमा लिने गर्दछौं र यो सरासर गलत हो । हामी विश्वमा छैनौं बरु एउटा विश्व नै हामीमा छ, हामी भित्र छ भन्ने कुरा आत्मसाथ गर्न जरुरी देखिन्छ ।
आफुले आफ्नो उपस्थितीलाई महत्व दिनका लागि यस लोकमा आफ्नो पहिचान र उपस्थितीलाई सबेरै हृदयङ्गम गर्ने सुुझाव दिइन्छ । आत्म जागरण र आत्मविश्वास बृद्धिका लागि यो मन्त्र अत्यन्त जरुरी छ । आफ्नो शरीरका हरेक तन्तुहरुको जागरण महसुस गर्न खोज्ने, आफुलाई संसारको एउटा महत्वपूर्ण अवस्थितीका रुपमा लिने अनि श्वाँस प्रश्वाँसमा ध्यानको केन्द्र मिलाएर राख्न सकिन्छ ।

२,  म शक्तिशाली छु
बिहानै आफुमा भएको शक्तिको जागरण र उपासना जरुरी देखिन्छ । यसरी आफ्नो शक्तिको जागरण महसुस गरिएमा दिनभरि आउने समस्याबाट जुध्न सहज हुने हुन्छ । अक्सर हामी आफु कमजोर भएको भनेर आफैंलाई विश्वास गराइरहेका हुन्छौं जुन गलत हो । हामी भित्र पनि त्यही शक्ति र उर्जा छ जुन अरु व्यक्तिहरुमा पनि छ । हाम्रो निरपेक्ष खुशी हामीमा भएको सकारात्मकता रोज्न सक्ने क्षमतामा नै निर्भर गर्दछ । तपाँई कुन हिसाबमा शक्तिशाली हुनुहन्छ भन्ने तथ्यहरु आत्मसाथ गर्नुहोस् । आफुले आफुलाई शक्तिशाली छु भनेंर बुझाउन जरुरी छ ।

३, म मा प्रेम छ
प्रेमभावले हामीमा भएको चक्र लाई उजागर गर्दछ, सक्रिय गराँउदछ । हरेक श्वास पछि आफुमा भएको जागरणलाई हृदयको बिचमा ल्याउने प्रयास गर्नुहोस् । यसरी श्वाँस लिँदा हृदयलाई हरियो रंगले भर्ने प्रयास गर्नुहोस् या परिकल्पना गर्नुहोस् र यसो गर्दा हृदयचक्र सक्रिय हुन्छ । यस धारणागत बिश्वासले आफूमा मायाको सञ्चार हुने र एक्लोपना कम हुने हुन्छ ।

४, ओमकार मन्त्र
यो एउटा ब्रह्माण्डीय शक्तिको प्रतिक मन्त्र हो । यस ब्रह्माण्डको जागरण र शक्तिको प्रतिनिधित्व गर्ने कुनै आवाज या मन्त्र छ भनें त्यो ओम नै हो भनी दर्शन अनि ग्रन्थहरुले बताँउदछ । पञ्चतत्वको प्रतिनिधित्व गर्ने आवाज नै ओम हो । आत्मिक चेतनाको प्रतिबिम्ब यस मन्त्रको आफ्नै फाइदा अनि असरहरु छन् । बिहान ओच्छ्यान बाट उठ्नु अगावै ओम मन्त्रको जाप गर्न सुझाव दिइन्छ । यसो गर्नाले दैनिकी राम्रो र उर्जावान हुने हुन्छ ।

४, म छु
अंग्रेजीमा आई एम भनेंर सम्बोधन गरिएको पाइन्छ । म छु अर्थात म आफ्नो जीवन र ध्यानको स्वामी स्वरुपमा छु, म आफुलाई परिवर्तन गर्न अनि आफ्नो नक्षत्र बढाउन सक्दछु भन्ने विश्वास जागृत गराउने धारणा हो । आफुमा निरपेक्ष विश्वास आजका दिनमा राजा र रैती सबैका लागि जरुरी पाइन्छ । माथि उल्लेख मन्त्रहरुलाई आफ्नो धारणा, विश्वाश अनि चाह अनुसार मिलाएर आफुलाई लक्ष्यप्रति बिहानै दृढ सकंल्पीत गराउनुहोस् ।
विश्व साच्चैको सुन्दर छ ।
लाइभमाण्डु
-सुयोग ढकाल


Loading comments...