Lifestyle Portal
  •   १३ चैत्र २०७९, सोमबार
Jagannath Kafle

नेपालमा अब रिभोल्युसन होईन ईभोल्युसन गर्नु पर्छ 

२४ पुष २०७५, मंगलवार १३:३४


जगन्नाथ काफ्ले- संसारका सम्मुन्नत राष्ट्रहरुको विकासक्रम अध्ययन गर्यौँ भने सबै किसिमको राजनीतिक विचारधाराहरु राजतन्त्र, बहुदलीय प्रजातन्त्र, गणतन्त्र एबम् आर्थिक मोडेलहरु: पुँजीबादी, समाजबादी, साम्यवादी आ आफ्नो ठाउँमा सफल भएका छन् | सफलताको कडी भने केवल राष्ट्रीय नेतृत्व(वास्तविक राजनेता)को राष्ट्र निर्माण प्रतिको अत्याबस्यक त्रिगुण  चाहना, क्षमता र तत्परता हो, जसलाई कसी लगाउने थप द्वीगुण ईमान्दारीता र नैतिकता जरुरी हुन्छन भन्ने कुरा प्रष्ट भएको छ। अरुले बनाई दिएर होईन, आफैँले श्रोत जुटाएर आफ्नै पुस्तामा फड्को मारेका उदाहरण विश्वका कयौँ मुलुकहरु जस्तै दक्षिण अफ्रीका (नेल्सन मन्डेला), फिनल्याण्ड(म्यानेरहेमिन), कोरिया(पार्क चुंग ही), सिंगापुर (लि क्वांग), मलेसिया (डा. महाथीर मोहम्मद), संयुक्त अरब ईमिरेटस् (शेख जायेद बिन सुल्तान), चीन (माओत्सेतुंग) आदि थुप्रै थुप्रै उदाहरण हाम्रा सामु प्रमाणका रुपमा विद्यमान छन् |

भनिन्छ, आज सिंहदरवारको अधिकार हाम्रै नगर/गाउँमा झरेको छ तर पनि यति प्राकृतिक श्रोत र  सुन्दरताले धनी हाम्रो देशको गाउँ/टोल अवसर हीन, युवा बिहीन, अनि रित्तो रित्तो हुदै जाने क्रम रहेको छ | खेत बारी बाँझो बाँझो हुदैछ भने हाम्रा नागरहरु अब्यवस्थित, भिडभाड, कोलाहल, अभाव, फोहोर, अस्तव्यस्त, आयातीत न्यून गुणस्तरका बस्तुको उपभोग र पर निर्भर अर्थतन्त्रमा जीवन गुजारा गर्नु परेको यथार्थ छ |  नेपालमा अझै पनि अधिकांश बसोबास र आर्थिक मेरुदण्ड ग्रामीणक्षेत्रमा नै भएको अवस्था छ | नेपालको भूराजनैतिक अवस्थिति, आर्थिक श्रोत र सम्भाव्यताको दृष्टिकोणले पनि ग्रामिण क्षेत्र धेरै महत्वपुर्ण छ | यस परिप्रेक्षमा जब सम्म हाम्रो आफ्नै मौलिक पद्दति मार्फत ग्रामिण क्षेत्रको पर्याप्त विकास हुदैन तब सम्म समग्र नेपालको विकास सम्भव छैन |

हाम्रो देशको अर्थतन्त्र बैदेशिक सहायता र विप्रेषण(Remittance)मा निर्भर रहेको कुरामा दुई मत छैन | बिदेशी पुंजीमा निर्भर राज्य र विदेशको पैसामा निर्भर समाज कमजोर एबम कुनै पनि बेला धराशायी हुन्छ | समाजिक सोचमा सकारात्मक परिवर्तन, विवेकशीलता जागरण र उद्यमी समाज निर्माण गरेर आफैं सबल नभई हामीले समुन्नत नेपालको परिकल्पना गर्नु बेक्कार छ | युरोप, अमेरिका, कोरिया, अरब, अष्ट्रेलिया, जापान अफ्रिका या अन्य कुनै पनि देशको मोडेल नेपालमा प्रयोग गर्न खोजेर पनि सम्मुनत नेपाल प्राप्त गर्न ब्यबहारिक नहुन सक्छन् किनकि अन्य देशको भौगोलिक वस्तुस्थिति, प्राकृतिक श्रोत/सम्पदा, मानबीय प्रवृत्ति, सामाजीक संस्कार तथा बनावट, उपभोग प्रबृत्ति, भू-राजनैतिक परिस्थिती, आर्थिक संरचाना, प्राबिधिक एबम बिबिध पक्षहरु फरक फरक हुन्छन | दीगो र सम्मुन्नत नेपाल नेपाली आफैंले, आफ्नै प्रयास बाट र हाम्रो आफ्नै स्थानीय मौलिक बिशेषता बोकेको विकास मोडेलद्वारा मात्र सम्भव छ, अन्यथा कोही पनि भ्रममा नपर्नु बुद्दिमानी हुन्छ |

कुनै पनि देश समृद्द हुनुको पछाडी औद्यिगीकरण हुनु नितान्त जरुरी छ | हाम्रो नेपालको बृहत आर्थिक सूचकहरु एबम सामाजिक-आर्थिक(Socio-economic) बस्तुस्थिति अध्ययन गर्दा केहि पृथक धारबाट अगाडी बढ्नु पर्ने अवस्था देखिन्छ | छरिएर रहेको निर्वाहमुखी अर्थतन्त्रलाई बृहत उत्पादन, उपभोग, विनिमय र वितरण (Mass production, consumption, exchange and distribution) सिर्जना गरेर अर्थतन्त्रको दीगो विकास गर्नु जरुरी छ | अधिकांश विद्यमान नेपाली उद्यमीहरू आधुनिक बिश्व आर्थिक प्रतिस्पर्धामा दौडन सक्ने अवस्थामा छैनौं | हाम्रो निर्वाह मुखी अर्थतन्त्रलाई कम्तिमा भौतिक पूर्वाधार पुर्याउन र साधन/श्रोतमा पहुँच नपुग्नेहरुलाई राज्यले हात नफिंजाई (hands on) अर्थतन्त्रले गति लिन सक्ने अवस्था छैन । यद्यपी पूर्ण रुपमा राज्यको नियन्त्रणबाट अबको अर्थतन्त्रलाई चलाउनु उचित हुदैन, निजीक्षेत्रलाई सम्भव भएसम्म सशक्त(Activate) गर्न सरकारको हात खुकुलो “hands off”  गर्नु पनि अनिवार्य छ | पुँजीबाद अथवा साम्यवादको सैद्दान्तिक धारबाट बाहिर निस्केर मुलुकमा प्रभावकारी भूमिका खेल्न सक्ने सरोकारवालाहरुको सक्रिय सहभागितामा सामाजिक उद्यमशीलता लिएर अर्थव्यवस्थामा गति लिनु जरुरी हुन्छ |  राज्यले आर्थिक/सामाजिक रुपमा पछाडी परेको क्षेत्रमा र नीजी क्षेत्रले लगानी गर्न नसक्ने ठाउँमा लगानी गरी निजि क्षेत्र लाई ससक्त बनाउन बिषेश भूमिका निर्वाह गर्नु पर्छ । परिस्थिति अनुसार राज्यको हात कसिलो र खुकुलो बनाई अर्थव्यवस्थालाई निश्चित गति दिनु जरुरी छ । परिस्थिति अनुसार सरकारले(Public), सर्वसाधारणले(People) तथा संयुक्त (Public Private Partnership) लगानीमा सामाजिक उद्यमशीलता (social enterpreneurship) लिएर बिस्तारै बिस्तारै निर्वाहमुखीबाट दीगो (subsistance to sustainable economy) आर्थिक रुपान्तरण गरी औद्योगिकरण गर्नु आजको आवस्यकता हो |

एकातर्फ, हाम्रो गाउँ/नगरमा न त प्रभावकारी आर्थिक कृयाकलाप छ, न त दक्ष जनशक्ति; न प्रशिक्षण, न रोजगारी, न त उद्यमशीलता नै छ, न त कुनै पद्दती नै विकास गरिएको छ; अर्को तर्फ, राजनीतिमा नेतृत्व गर्नेहरुको समेत न त आफ्नै कुनै निश्चित पेशा छ, न आफ्नो ईलाकामा के को निमित्त कसरी नेतृत्व गर्ने भन्ने प्रष्ट दृष्टिकोण छ, न त आवस्यक शैक्षिक एबम ब्यबसायिक दक्षता छ, न त आफ्ना दलका सदस्यहरुको निमित्त कुनै रोजीरोटीको बन्दोबस्त गर्ने आधार नै छ, सर्वसाधारण त परै जाओस | अर्को पक्ष, प्रत्येक सेकेन्ड सेकेन्डमा यो गतिशील संसार परिवर्तन भईरहेको छ अनि सोहि गतिमा अहिलेको नयाँ पुस्ता पल-पलको परिवर्तन संगसंगै अद्यावधिक/अपडेट भई रहेको छ | हामीलाई यो गतिशील पुस्ताको समाजलाई आर्थिक, सामाजिक, राजनैतिक र वातावारणीय पक्षमा दीगो रुपमा संचालन र ब्यबस्थापन गर्न सक्ने राजनीतिक र प्रशासनिक नेतृत्व चाहिएको हो, न कि केवल कुनै राजनीतिक पार्टीको झन्डा बोक्ने र पृष्ठपोषण गर्ने नेता अनि जागिरे |

अबको पुस्ताले बुझेको यथार्थ: भावना, कोरा सिद्दान्त र आदर्शले राष्ट्रको उन्नति सम्भव छैन। संसारमा विज्ञानले कल्पनानै नगरेको फड्को मारिसकेको छ | एउटा घरको कोठामा बसेर संसारको हरेक व्यक्तिको कम्प्युटर र हात हातको मोबाईलबाट हाम्रा सम्पूर्ण क्रियाकलाप नियमन र नियन्त्रण गर्न बिज्ञान सक्षम् भै सकेको छ | संसार नियन्त्रण गर्न एउटा बटन काफ्फी भै सकेको छ | हामीले पनि अब त बैज्ञानिक, प्राबिधिक, आर्थिक र सामाजिक आँखाहरु खोल्नै पर्छ | त्यसैले अब हामी पनि उच्च प्रविधिको सफ्टवेर र अन्य पद्दती प्रयोग गरेर अर्थतन्त्र, प्रशासन र राजनीतिमा निजी/व्यक्तिगत प्रभावलाई निस्तेज गर्ने संयन्त्र स्थापित गर्नै पर्छ | संसारमा प्रतिपादित नयाँ नयाँ प्रबिधि भित्र्याऔँ, ब्यबस्थापन गरौँ र उन्नत पद्दति मार्फत हरेक क्षेत्रमा बिकासको ढोका खोलौं । बदलिँदो विश्व परिस्थितिसंग समन्वय गर्दै देशलाई समृद्धिको मार्गमा लैजान न बन्दहड्ताल, न टायर बल्नु, न त हतियार नै उठाउनु नै जरुरी छ केवल ज्ञान, बुद्दी, बिबेक अनि संयमता लगाएर काम गर्ने समाज स्थापित गर्नु, अरुको भर पर्ने र बिना परिश्रम नव धनाड्य बन्नाचाहने विद्यमान विकृत संस्कार बदल्नु, आधुनिक प्रणाली बसाल्नु, अनि जबाफदेहि र जिम्मेवार प्रशासनिक/राजनितिक नेतृत्व निर्माण गर्नु हाम्रो दायित्व हो । अबको रुपान्तरण रिभोल्युसन होईन इभोल्युसन गर्ने हो | तँ र म अनि तेरो र मेरो वाद, जात र भागलाई बिर्सेर हामी/हाम्रो पुस्ता, समाज र देशलाई उन्नती गर्न नयाँ ढंगले काम गरौँ |

अरुकसैले गरिदेला कि या समृद्द नेपाल कुनै दिन आफैं होला कि भन्दा भन्दै संसारले स्वरूप बदल्दा हामी जहीं को तहीं छोड्डीयौं | अरुको होईन, बास्तबमा  काम गर्ने जिम्मेवारी हाम्रो काँधमा आएको छ | अब एक सेकेन्ड पनि ढिलो गर्नु हुदैन। त्यसैले अगाडी बढौं, संसारको जुन कुनामा छौं, त्यहाँ बाट आऔँ, जे क्षमता छ त्यो लिएर आऔँ | अब हामी ले नगरे अरु कसैले पनि हाम्रो लागि गरि दिंदैन। हिम्मत र उर्जा लिएर एकजुट भएर अगाडी बढौं, भोली होईन, भरे होईन, अहिल्यै हाम्रो राष्ट्र निर्माणको जिम्मेवारी बोकौँ र काम थालौं – अबस्य हामी पनि शान्त र समृद्द बन्न सक्छौं, हाम्रै यहि जिवनमा । हाम्रो विवेकको सकेसम्म सकारात्मक अन्तर दृष्टि खोलौं र कर्म गरौँ | नेपाललाई एक सम्पन्न मुलुकको सूचीमा सुचिकृत गरेर मात्र मरौं |

 

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,

काठमाडौं, ६ माघ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटरब्याजी समस्या समाधानका लागि आफूले यथाशीघ्र पहल गर्ने बताएका छन् । शुक्रबार बिहान