उद्यमशिलता प्रति युवाको आकर्षण बढ्दो


भारतमा ईन्जिनियरिङ अध्ययन सकेर नेपाल फर्केका संगम सिंह अन्लाईन सपिङ कम्पनी खोल्न चाहन्थे, तर बजार अध्ययन गर्दै जाँदा अन्लाईनमा सामान बेच्ने कम्पनीका एउटा साझा समस्या थाहा पाए, ग्राहकले अन्लाईनमा अर्डर गरेको सामान उनिहरुको दैलोमा पुर्याउने र सामानको पैसा भुक्तानी लिने (क्यास अन डेलिभरी) सेवाको असहजता । त्यसपछि उनले ई–कमर्स कम्पनी खोल्ने योजना त्यागेर बजारमा अगाडी नै उपस्थिति जनाइसकेका कम्पनीहरुलाई उक्त क्यास–अन–डेलिभरी सेवा प्रदान गर्ने कम्पनी ‘नेप–एक्सप्रेस’को स्थापना गरे ।

सन्तोष पाण्डे र उनका साथीले विदेशमा रहेका नेपालीले पठाएका उपहारहरू तिनका साथी र परिवारलाई पठाइदिने व्यवसाय सुरु गर्ने योजना बनाए । तर व्यवसाय सुरु गर्नु अगाडि यसका विभिन्न पक्ष बारे पढ्दै जाँदा थाहा पाए कि संसारमा ‘सरप्राइज उद्योग’को क्षेत्र पनि एकदम ठूलो भइसकेको रहेछ । यसको दायरा अझ फराकिलो हुँदै रहेछ । अनि उनिहरुले सुरुमा सोचे भन्दा भिन्न कम्पनी ‘अफरिङ् ह्याप्पिनेस’ खोल्न पुगे ।

दिपेश खेतान र उनका साथीहरु मिलेर भर्खरै एउटा ’एड्माना’नामक डिजिटल एडभर्टाइजिङ कम्पनी खोलेका छन् जसले डिजिटल विज्ञापन दाता र प्रकाशकलाई जोड्ने काम गर्छ । यसमा विज्ञापन दाताले उक्त विज्ञापनबाट आएको परिणाम (व्यापार) अनुसार मात्रै पैसा भुक्तानीगर्न मिल्ने सुविधा छ ।

आर्सलन अख्तर लेख्नमा सौखिन थिए । साथै ल्यादरका सामान (ब्याग, बिन ब्याग, ल्याप टेबल आदि) बनाउने व्यवसाय गर्ने सोच आयो । त्यसपछि उनले उक्त सामान उत्पादन गर्ने र ति सामानहरुमा विभिन्न सन्देशहरु लेख्ने कम्पनी ‘टुडेज टेलिग्राम’ सुरु गरे । अहिले बजारमा उनले उत्पादन गरेका ति सामानहरु एकदमै रुचाइएको छ ।

नेप–एक्सप्रेस, अफरिङ् ह्याप्पिनेस, एड्माना र टुडेज टेलिग्राम लगायतका १०० भन्दा बढी नव उद्यमहरुले पौष २१ गते शनिबार ग्यालेक्सी पब्लिक स्कुलको परिसरमा आफुले उत्पादन गरेका सामान र प्रदान गर्ने सेवाहरुको प्रदर्शनी गरे । ’जिबि जिबिज फेस्ट’ नाम दिइएको उक्त प्रदर्शनी आयोजना गरेको थियो काठमाडौंका प्रविधी व्यबसायीहरुको समुह गुगल बिजनेस ग्रुपले । जसमा मुख्य सहकार्य थियो ‘खल्ती डिजिटल वालेट’को ।

भारतमा सिए अध्ययन सकेर भर्खरै मात्र नेपाल फर्केकी वर्षा दुलाल पनि उक्तप्रदर्शनी अवलोकन गर्ने क्रममा भेटिइन् । नेपाली युवाहरुले के–कस्ता स्टार्ट अप गर्दै छन् र आफ्ना उत्पादन तथा सेवा मार्फत समाजका के कस्ता समस्या समाधान गर्दै छन् भन्ने उनलाई जिज्ञासा थियो । सहभागि नव उद्यमीका स्टलहरु घुमि सकेपछि र उनीहरुका उत्पादन अवलोकन गरिसकेपछि उनी नेपाली युवा उद्यमीको काम देखेर उत्साहित थिइन् ।

काठमाडौंको एउटा कलेजमा ११ कक्षामा अध्ययन गर्दै गरेका राहुल यादव पनि उत्साहका साथ मेला अवलोकन गर्दै थिए । उनले स्टार्ट अपहरुका स्टल घुम्नुका साथै उक्त मेलाको अवसरमा आयोजित विभिन्न प्रविधी विशेषज्ञहरुले प्रस्तुत गर्ने कार्यशाला कक्षामा उपस्थित भएर ‘गुगल’ का बिभिन्न प्रविधी र टुलहरु पनि सिक्ने मौका पाएको बताए । उनले आफ्नो पनि निकट भविष्यमा स्टार्ट अप कम्पनी खोल्ने सोच रहेको र उक्त मेला एकदमै उपलब्धिमुलक रहेको बताए ।

वर्षा र राहुल जस्ता पाँचहजार भन्दा बढी स्टार्ट अपहरुमा रुची भएका युवाहरुले उक्त मेला अवलोकन गर्नुका साथै स्टार्टअप संस्थापकहरुसँग प्रत्यक्ष अन्तरकृया गरेका थिए । बिजफेस्टको अवसरमा देखिएको उक्त दृश्यले नेपाली युवाहरुमा स्टार्ट अप प्रतिको रुची कति रहेछ र आँफैले नव उद्यम खोल्न कति इच्छुक रहेछन् भन्ने दर्शाउँछ ।

उक्त मेलाले नेपालमा स्थापना भएका सबै प्रकारका स्टार्ट अपहरुलाई एउटै ठाउँमा ल्याउने जमर्को गरेको थियो । मोबाईल गेम बनाउने कम्पनीहरु, एनिमेसन, डिजिटल मार्केटिङ,अन्लाईन सपिङ, अन्लाईन शिक्षा प्रदान गर्ने, अन्लाईन स्वास्थय सेवा प्रदान गर्ने, नेपाली ब्रान्डका लुगा उत्पादन गर्ने देखि आधुनिक कृषिमा संलग्न कम्पनीहरु उक्त मेलामा सहभागि थिए । मेलाले विद्यार्थी र भविष्यमा आफ्नै स्टार्ट अप गर्ने सोच बनाएका युवाहरुलाई स्टार्टअप सुरु गरिसकेकाहरुसँग अन्तरकृया गर्ने र उनिहरुबाट सिक्ने अवसर प्रदान गरेको थियो ।

उल्लेखनिय संख्यामा स्टार्ट अपहरु तथा स्टार्ट अप गर्न इच्छुक युवाको उपस्थिति देखेर उत्साहित मेलाका संयोजक तथा गुगल बिजनेस ग्रुप काठमाडौंका प्रबन्धक अमित अग्रवालले भने,
“नेपालमा स्टार्ट अप गर्ने ट्रेन्ड भर्खरै मात्र सुरु भएको छ । समाजमा विद्यमान विभिन्न चुनौती मै अवसर देखेर तिनै समस्या समाधान गर्न स्थापना भएका स्टार्ट अपहरु यत्रतत्र देख्न सक्छौँ । यद्यपि, धेरै जनालाई स्टार्ट अप भनेको के हो र के–कस्ता स्टार्ट अप कम्पनीहरु नेपाली बजारमा आएका छन् र तिनीहरुले के–के काम गर्छन भन्ने धेरैलाई थाहा छैन । अनि, स्टार्ट अपहरुसँग महँगो प्रदर्शनी हलमा गएर आफ्ना सेवाको प्रचार गर्ने क्षमता र स्रोत साधन पनि हुँदैन । त्यसैले गुगल बिजनेस ग्रुपले नेपाली स्टार्ट अपका यिनै समस्याहरुको मध्यनजर गरी सबैलाई एकै ठाउँमा ल्याउने, निःशुल्क प्रदर्शनी गर्ने र उनीहरुका संभावित ग्राहकसँग जोडिने अवसर प्रदान गर्ने हेतुले खल्ती डिजिटल वालेटको मुख्य संयोजनमा यो प्रदर्शनी आयोजना गरेको हो ।”

कार्यक्रममा विशेषज्ञहरूले गुगलका विभिन्न नयाँ नयाँ प्रविधी सम्बन्धी प्रस्तुति पनि दिएका थिए जुन स्टार्ट अपहरुको व्यापार प्रवर्धन र विस्तार गर्न एकदमै महत्त्वपूर्ण हुनेछ ।

प्रदर्शनीमा ‘गुगलमाई बिजनेस’ लक्षित एउटा विशेष स्टल पनि रहेको थियो। सहभागि स्टार्ट अपहरूले उक्त स्टल मार्फत आफूलाई गुगलको व्यापार निर्देशिका (गुगलबिजनेस डाइरेक्टरी) मा सूचीबद्ध गरेका थिए । उक्त निर्देशिकामा सूचीकृत भए पश्चात ग्राहकहरूले व्यवसाय र त्यसका विवरणहरू पत्ता लगाउन सक्नेछन् । यसका साथै उक्त व्यवसायहरू गुगल सर्च रिजल्ट पेजको पहिलो पृष्ठमा देखा पर्ने सम्भावना बढ्नेछ ।

मेलामा आयोजित यस्ता विभिन्न कार्यक्रमहरुले नेपाली स्टार्ट अपहरूको प्रवर्धन र विकासमा टेवा पुगेको आयोजकको विश्वास छ ।
गुगल बिजनेस ग्रुपले नेपालमा यस प्रकारको कार्यक्रम अब वार्षिक रुपमा आयोजना गर्ने बताएको छ ।

अंग्रेजीमा पढ्नुहोस्Nepalese Youths Attracted towards Entrepreneurship


Loading comments...