पृथ्वी जयन्ती, राजसंस्था र कमल थापा


लेखकः नरेन्द्रराज प्रसाई

हाम्रो नेपालको राजकाजमा पृथ्वीनारायण शाहको मुहार अङ्कित एउटा पनि नोट ल्याइएन । आज यस्तो बेहोरा हाम्रा माझ खट्किन थालेको छ । जब देशमा सङ्कटको सृजना हुन थाल्यो तब चारैतिरबाट राष्ट्रियताका सारङ्गी पनि रेटिन थाले ।

आज हाम्रो नेपालको राष्ट्रियतामा सङ्कट परिरहेको कुरा तमाम नेपालीलाई थाहा छ । यति हुँदाहुँदै पनि भोट जित्नेहरू चाहिँ प्राय: नेपालवादीहरू भएनन् भन्ने गुनासाहरू पनि आउन छाडेनन् । यस स्थितिले पनि के देखाउन खोज्यो भने अँध्यारो नेपालमा राष्ट्रियताको सवालमा हार र जितको के अर्थ रह्यो र ! जब राजा ज्ञानेन्द्रलाई जवर्जस्ती गुन्टा कस्न लगाइयो; यो राजाको हार हो या राष्ट्रियताको हार हो ? अनेक षडयन्त्रबाट नेपालमा गणतन्त्र आय‍ो; के जनमनले नै गणतन्त्र ल्यायो भनेर कसैले भन्न सक्छ र ?

पञ्चायतले ३० वर्षमा गरेका राम्रा कामलाई सोत्तर बनाएर बहुदल र गणतन्त्रका नेता मिलेर २५ वर्षमा नै नेपाललाई १०० वर्ष पछाडि धकेलिदिए । यसबाट के बुझौं भने सरकारमा पुग्नु ठूलो कुरा होइन, तर सरकार कसरी चलाइएको छ भन्ने चाहिं ठूलो कुरा हो । आज जुन रूपमा नेपाल सरकार चलिरहेको छ यस्तै रवैया हुने हो भने भोलि हामीले हाम्रो राष्ट्रियता घरै बसेर गुगलमा खोज्नु पर्ने हुन्छ । अरूकै भाषाको औपचारिक ओतमा हामीले आफ्नो मुलुकको इतिहास पढ्न वाध्य हुनु पर्नेछ । किनभने नेपाली भाषा समेतलाई घिसार्न थालिएको अवस्थाको थालनी भइसकेको छ ।

कुनै पनि मुलुकको आत्मा भनेकै त्यसदेशको राष्ट्रभाषा हुने गर्छ । अर्कातिर भाषा, धर्म र संस्कृतिको मर्ममाथि प्रहार गरेपछि त्यो मुलुक पङ्गु हुन्छ, हुन्छ र हुन्छ । अहिले नेपालमा लगातार सोही अभ्यास चलिरहेको छ ।

नेपालमा अहिले अति जटिल परिस्थिति स्थापित भैरहेको छ । यस अवस्थामा थाप्लो र काँध थाप्ने नेपालवादी राजनेताको खाँचो छ । राष्ट्रियताको कृत्रिम नारा लगाउनेभन्दा राष्ट्रलाई शिरमा बोकेर हिंड्नेहरू नै देशभक्त हुन् । आज मुलुक त्यस्ता देशभक्तहरूको खोजीमा छ ।

नेपालको वर्तमान सवालमा राजालाई नै राष्ट्रियताको सग्लो बिम्बका रूपमा स्वीकार्नु पर्ने अवस्थाको पुन: सृजना भएको छ । तर तिनै राजाले उठाएकैहरूबाट पनि राष्ट्रियता र राजाको वकालत भएको त्यति चाल पाइएको छैन । जसरी खडेरी परेको बेला एक झर पानीको पनि अति महत्व हुन्छ, त्यसरी नै राष्ट्रियताको सङ्कटको अवस्थामा एक जनाको बोलि, व्यवहार र चालचलनले पनि ठूलो अर्थ राखेको हुन्छ । यस मामलामा पनि केही बीऊहरूको अनिकालै पनि लागेको छैन । उदाहरणका लागि भन्ने हो भने कमल थापाले आफ्नो सम्पूर्ण तागत निकालेर राजाको जय मनाउन छाडेनन् । वास्तवमा आजको बेला थापाको यस कदमले धेरैलाई राहत दिइरहेको छ । साथै राष्ट्रियताप्रतिको सक्कली योगदानका कारण उनले मात्र नभएर उनको दल समेतले क्षति समेत बेहोर्नु परिरहेको छ ।

म दलवादी त होइन तर राष्ट्रवादी दलबारे चासो चाहिं लाग्दो रहेछ नै ! यसरी राष्ट्रवादी दलको प्रसङ्गमा हालको राष्ट्रिय प्रजातन्त्र पार्टीको नाउँ अग्र पङ्तिमा आउने नै गर्छ ।

राप्रपा भन्ना साथै प्रायः कमल थापाबारे टीकाटिप्पणी खुबै पढ्न पाइन्छ । किन होला कुन्नी! राजनैतिक सिद्धान्तका विरोधीहरूले आफ्ना विरोधीको विरोध गर्न त ठूलो कुरा हुँदै होइन; यस्तो विरोध जहाँ पनि र जहिले पनि हुन्छ । तर आफ्नै वा एउटै सिद्धान्तका मान्छेमध्ये एकले अर्काको विरोध गर्नुको तात्पर्यको चाहिं नेपालमा प्राय: विकास भैरहेको छ । अनि त्यो विकासको जरा राप्रमा पनि निक्कै मौलाएको छ । अनि (पुच्छ्रे प्रजातान्त्रिक) राप्रपाको समेत झगडा या गालीगलौच कमल थापा उपर नै मात्र थुप्रिएको प्राय: म देखिरहेको छु । यसलाई फलेको वृक्षमा हानिएको ढुङ्गा पनि भन्न त सकिन्छ नै !

आफ्न‌ै घरमा आगो लागिरहेकोछ; दाजुभाइ मिलेर आगो निभाउनुको सट्टा यो आगो कसरी लाग्यो, किन लाग्यो र कसले लगायो ? भनेर एकले अर्काको कठालो समातेर मारामार गर्न थाल्छन् भने त्यस्तालाई के भन्नु पर्छ ? आज हाम्रो देशमा ठीक त्यस्तै घटनाको हाँगाबिगा पलाइरहेको पाइन्छ । त्यस्तो स्थिति सबै दलको खुराक भए तापनि राप्रपामा चाहिं धेरै झाङ्गिएको देखिन्छ ।

अन्तत: राप्रपा कसले जोड्यो त ? गणतान्त्रिक राप्रपालाई कसले सोझ्याएर मुख्य सिद्धान्तमा आबद्ध गरायो त ? यस्तो कर्म गर्ने कमल थापाले अरू के के बिराए त ?

कमल थापाले पैसा कमाए रे ! कति कमाए त ? देशै जाकटमा जान लागेको अवस्थालाई चाहिं आँखा चिम्लने अनि प्रमाणहीन कुरा अघि सार्ने ? भारतले अघोषित देश चलाउन हुने रे अनि कमल थापा घरिघरि मन्त्री भए रे ! विरोधका लागि विरोध गर्नै पर्ने ! कत्रो दुर्भाग्य !

एउटा डरलाग्दो खाडलमा हाम फालेर कमल थापाले राजतन्त्रका धमिराहरू चाल्ने प्रयास गरेका थिए कि थिएनन् ? सरकार बाहिर बसेर जनमतको मात्र संरक्षण, मान र कदर गर्न खोज्दा सरकारले भित्रभित्रै सुरूङ खनेको हामी कसरी चाल पाउँथ्यौं त ? उदाहरणका लागि भन्ने हो भने ‘शेरबहादुर देउवाले सुरूङ खन्छन् भन्ने डरले पछिसम्म पनि माओवादीहरू घाम तापेर सरकारमा नै टाँस्सिरहेका थिए ।’

चुनावमा उठेपछि उमेद्वारले चाहे हारून्, चाहे जितुन्; त्यो खेल बेग्लै हो । तर माछा छ भने दुलाभित्र हात र साप छ भने दुलाबाहिर हात गरेको राजनीति कति दिगो हुन्छ ? नायक नहुँदा खल नायकको उदय त हुन्छ नै, तर त्यो स्थायी हुँदैन । यति हुँदाहुदै पनि कमल थापाले सधैं नायककै मात्र खोजी गरिरहे । उनले खल नायकमा आफूलाई कहिले उभ्यानन् ।

वास्तवमा कमल थापा एक जना दुरदर्शी राजनेता नै हुन् । उनी राजधर्मभित्रका ज्ञानले भरिपूर्ण व्यक्तित्व पनि हुन् । राजाको छेउ र दल र दलमा बसेर उनले जति ज्ञान, अनुभव र सीप हाँसिल गरे त्यति दक्ष, बौद्धिक र परिमार्जित राजावादी, जनवादी र हिन्दूवादी राजनीतिज्ञ मैले चाहिं अरू देखेकै छैन भने पनि हुन्छ ।

कमल थापाले सुरूमा नै भनेका थिए- “माओवादीसँग पहिला हातले बारूद भरेर पड्काउने हाते बन्दुक मात्र थियो । क्रमश: ऊ शक्तिशाली भएर आयो । म पनि सत्ता प्रवेश गरेर विस्तारै झाडु लगाउने काम गर्ने प्रयास गर्छु ।” त्यही हिसावमा न‌ै उनी सत्ताभित्र पनि बसे । सकेसम्म उनले मिलाउन प्रयास गरेका पनि थिए । तर धमिलो अवस्थामा उनले माछा समाउन भने सकेनन् । यसको तात्पर्य उनी अयोग्य, शक्तिका भोका र हिन्दू अधिराज्यका विरोधी हुन् भन्दा पापै लाग्छ । उनका मुटुमा सधैं राजसंस्था र हिन्दूधर्म नै प्रमुख रूपमा विराजमान छ । यस बाहेकका सम्झौतामा बरू उनी मर्न तयार हुन्छन् तर विचलित हुँदैनन् ।

फेरि अर्को कुरा यदि कमल थापाले राजनीतिबाट सन्यास लिए या पार्टीमा उनले अर्को मान्छेलाई आफ्नो ठाउँ दिए भने अहिलेको अवस्थामा हाम्रो उद्धेश्य पूरा होला त ? राजसंस्थाका लागि मन, वचन र कर्मले समर्पित कमल थापाको जोडा पनि हुनु पर्यो नि ! त्यस्तो राजनीतिज्ञ कोही छ त ? यदि होइन भने आजको अवस्थामा कमल थापाको विरोध गर्नेलाई म राजद्रोही नै भनिदिन्छु । अनि राजद्रोहीहरूले कमल थापा पखाल्नुको कुनै अर्थ पनि छैन । गणतन्त्रले त राजालाई नै सिल्टिम्बुर खुवाई सकेको छ; त्यसैले त्यताकाले कमल थापालाई सराप्नुको पनि म केही तुक देख्तिन ।

हामीले छातीमा हात राखेर भनौं यदि अहिले कमल थापा नभए नेपालमा औपचारिक रूपमा “राष्ट्रिय एकता दिवस या पृथ्वी जयन्ती मनाइन पाइन्थ्यो त ?”

हिजो पृथ्वीनारायण शाहको नाउँ सुन्दा अथवा उच्चारण गर्नु पर्दा आफूलाई अपमान भएको ठान्ने गणतन्त्रिक नेताहरूले आज उनैको नाउँ वक्ता आफूलाई पवित्र ठानेको पनि देखियो । त्यसैले आज राजाको नाउँ लिनेहरू पनि अपमानित देखिनु नौलो प्रसङ्ग नमानौं । भोलि फेरि प्राय: सबै दलबलले समेत भन्ने दिन पनि आउने छ- “नेपाली राष्ट्रिय एकताका प्रतीक भन्नु नै राजा हो, राजसंस्था हो ।” यदि यस्तो दिन आएन भने हामी विदेशी कब्जामा पर्यौं भने पनि कुनै असजिलो नमाने हुन्छ ।

कालान्तरले गर्दा अब पृथ्वीनारायण शाहलाई नेपाल राष्ट्रका निर्माता मात्र होइन, नेपालको सार्वभौमसत्ता अक्षुण्ण राख्नका लागि जपिने मन्त्र वा दर्शनका रूपमा अङ्गिकार गर्नु पर्दछ । पृथ्वी जयन्तीको सन्देशले हाम्रो राष्ट्रियता सबल बनिरहेको अवस्था छ भनेर मैले पनि मेरो मनमा झिनो आशा रोपेको छु । पृथ्वी जयन्ती हाम्रो राष्ट्रिय दिवस हो । यस दिवसले सबै दलबललाई एकतामा गाँसिन प्रेरित गरोस् ! त्यसपछि नै हामी नेपालीको दिग्विजय हुनेछ । साँचो बोल्नु पर्दा नेपाल राष्ट्रका निर्माता पृथ्वीनारायण शाहको जय मनाउनु भनेको हामीले हाम्रै अस्तित्व कायम गर्नु हो र त्यस अस्तित्वभित्र हाम्रै मात्र जय भैरहेको हुन्छ ।


Loading comments...