नेपाल पर्यटन बोर्ड प्रेस बिज्ञप्ति


नेपाल पर्यटन बोर्ड
प्रेस बिज्ञप्ती
पौष २९, २०७५

भियनामा नेपाल

चार दिने पर्यटन मेला ‘फेरेन मेस्से विन’ अष्ट्रियाको सुन्दर नगरी भियनामा आज सम्पन्न भएको छ । ९ स्क्वायर मिटरको नेपाली स्टलले धेरैको ध्यान आकृष्ट गरेको छ । मेलामा आउने धेरैलाई नेपाल सर्वोच्च शिखर सगरमाथा र अन्य अग्ला हिमालहरुको देश भनेर थाहा भएको पाइको छ ।

फेरेन मेस्से विन अष्ट्रिया कै सबैभन्दा ठूलो पर्यटन मेला हो । सन् २०२० को नेपाल भ्रमण वर्षलाई मध्यनजर गरी बिस लाखको पर्यटन आगमनको लक्षलाई हाशिल गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डले नयाँ बजारहरुमा मेला तथा अन्य प्रबद्र्धनात्मक अभियानहरुलाई अझ सशक्त रुपले सहभागिता गर्ने क्रममा पहिलो पटक यस मेलामा सहभागी भएको हो । अष्ट्रिया पनि हिमाली देश भएको र अष्ट्रियनहरुलाई पदयात्रा र हिमाल आरोहण लगाएतका साहशिक क्रियाकलापमा धेरै रुची भएको कारणले पनि नेपालप्रति विशेष लगाव देखिएको थियो ।

मुख्यत नयाँ पदमार्ग, मौसम र नेपाल पुग्ने रुटका बारेमा प्रश्नहरु सोधिएको थियो । स्टलमा सगरमाथा आरोहण गरिसकेका आरोहीहरु समेत आएर नेपालको अभियानमा साथ दिन आएका थिए । नेपाल आइसकेकाहरु आफ्ना साथीहरु, परिवारका सदस्यहरुका साथ आएका थिए र पून नेपाल आउन चाहेको बताइरहेका थिए । नेपाली स्टलमा ट्राभल एजेण्ट्सहरु र नेपाल जान चाहने पर्यटकहरुको उल्लेख्य सहभागिता थियो । बोर्डले आएकाहरुलाई नेपालको नक्सा, पोष्टर, कार्ड ड्राइभ, किरिङहरु बाँडेको थियो ।

नेपाली दूतावासका महामहिम राजदूत प्रकाशकुमार सुवेदी र अन्य दूतावास कर्मचारीहरुले पनि नेपाल स्टलमा आई आएका जिज्ञासुलाई नेपालका बारेमा जानकारी र नेपाल जान निम्तो दिनुभएको थियो । नेपाली दूतावास भियनाको सकृय सहभागिताले बोर्डको प्रबद्र्धनको काममा थप उर्जा मिलेको थियो । मेलामा सहभागी ९० प्रतिशतले मेलाका बारेमा सन्तुष्ट भएको प्रतिक्रिया र आगामी वर्ष सहभागी हुने समेत प्रतिबद्धता जाहेर गरेकाले पनि मेलामा नेपालको सहभागितालाई सफल भएको पुष्टि गरेको छ । नेपाल पर्यटन बोर्डका तर्फबाट वरिष्ठ अधिकृतहरु सुधन सुवेदी र कुन्दन शर्मा मिश्र सहभागी थिए भने नेपाल स्टलमा एक्स्प्लोर नेपाल ट्राभल एण्ड एड्भेन्चरको पनि सहभागिता रहेको थियो ।


Loading comments...