प्यान्क्रियाटाइटिसले निम्त्याउने समस्या: डा. सन्दीपराज कुँवर


drsandeepk@gmail.com
– डा. सन्दीपराज कुँवर पेट तथा कलेजोरोग विशेषज्ञ (नर्भिक इन्टरनेशनल हस्पिटल)

केहि महिना पहिलादेखि नै रामबहादुरको पेटको माथिल्लो भाग दुखिरहेको थियो । ४० वर्षे रामबहादुर जब आफ्नो नियमित मजदूरीबाट साँझ घर फर्कन्थे, सधैंजसो रक्सी पिउने उनको दैनिकी नै भइसकेको थियो । हालका दिनमा उनको पेट दुखाई अत्यन्तै असह्य बन्दै गएको छ । उनले ग्याष्ट्रिकको औषधि भनी थुप्रै औषधि पनि नखाएका भने होइनन्, ती औषधिहरूले क्षणिक राहत दिलाएता पनि दुखाई फेरि पनि उस्तै । तर अहिले आएर भने ती औषधिहरूले समेत कुनै काम नगरेको रामबहादुर बताउँछन् ।

आज बिहानैदेखि उनको पेट दुखाई अत्यन्तै पीडादायी हुनथाल्यो, उनले औषधि खाए, कामै लागेन, उनी पीडाले कुप्रो परे झैं गर्नथाले । राम्ररी हिँड्न सकेनन् । उनले बारम्बार वान्ता पनि गर्न थाले । उनलाई नर्भिकको आकस्मिक कक्षमा पुर्‍याइयो । उनलाई प्यान्क्रियाटाइटिस Acute pancreatitis” भनेर पत्ता लगाइयो ।

४५ वर्षिय श्रीमती सरितादेवी अस्वाभाविक रुपमा मोटी छिन् र उनी पित्तथैलीको पत्थरी लिएर जीवनयापन गर्दै आएकी छिन् । पेट दुख्ने उनको समस्या कहिले बल्झिन्छ त कहिले केही कम हुन्छ । दुखाई कम गर्न उनी कहिलेकाहिँ ग्याष्ट्रिकको औषधि पनि खान्छिन्, तर नियमित भने होइन । विगत केहि दिन यता भने उनको माथिल्लो पेट अत्यधिक रुपमा पोल्ने र कहिलेकाहिँ वान्ता पनि हुने गरेको छ । उनले नियमितरुपमा औषधि खान थालेकी छन्, तर पनि उनलाई खासै फाइदा भएको छैन । केही सीप नलागे पछि उनलाई पनि नर्भिकको पेट तथा कलेजो रोग ओ.पी.डी. मा पुर्‍याइयो । उनलाई प्यान्क्रियाटाइटिस “Chronic Pancreatitis” भनेर पत्ता लगाइयो ।

तर २४ वर्षे हरिको कथा भने अलिक फरक नै छ । बाल्यकालदेखि नै कहिलेकाहिँ अलि बढी त कहिलेकाहिँ केहि कम पेट दुख्ने उनको नियति नै हो । दुखाईको समयमा दाह्रा किट्ने गरी दुख्ने किसिमको उनको दुखाई छ । ज्यादातर रुपमा पेटको माथिल्लो भागमा दुख्छ र दुखाई कम्मरतिर सर्दै जान्छ । यद्यपि उनी मद्यपान भने गर्दैनन् ।

नर्भिकको ओ.पी.डी. मा उनलाई जाँच्ने क्रममा उनी एकदमै कमजोर र उनको जीवन असफलतातर्फ धकेलिएको पाइएको थियो । उनको दिसामा चिल्लो पदार्थ अत्यधिक पाइएको र उनले विगत दुई वर्षदेखि नै सूईद्वारा इन्सुलिन लिइरहेको पाइयो । एम.आर.सी.पी. जाँच गर्दा उनको अग्न्याशयबाट आउने नलिमा जन्मजातै खराबी भएको अर्थात् उनलाई अग्न्याशयको जन्मजात रोग (Pancreatic Divisum) भएको पाइयो ।

यी त भए केही उदाहरण मात्रै । हामी कहाँ तीव्र गतिको प्यान्क्रियाटाइटिस, तत्कालै र तीव्र प्यान्क्रियाटाइटिसबाट अग्न्याशयको जीर्णरोग तर्फ उन्मुख र जीर्ण प्यान्क्रियाटाइटिसका सयौं बिरामीहरू आउने गरेका छन् ।

के हो त अग्न्याशय ?
अग्न्याशय अर्थात् “प्याङ्क्रियाज” ग्रिक शब्द हो, जसले “प्यान” (सम्पूर्ण) र “क्रियाज” (मांशपेशी) भन्ने बुझाउँछ । मतलब प्यान्क्रियाज (Pancreas) एउटा मांशपेशीको अङ्ग मात्रै हो । यो करिब १२–१५ से.मी. लामो अङ्ग्रेजी अक्षर जे (J) आकारको अर्थात् हकीको छडी जस्तै, नरम, डल्ला डल्ली भएको र पेटको खालीभागको पछाडि पनि रहने एक अङ्ग हो । यसको टाउको, मध्य भाग, टाउको तलको अर्को भाग (Uncinate) र पुच्छर हुन्छ । यसको टाउको अर्थात् माथिल्लो भाग हाम्रो पेटको अर्को महत्वपूर्ण अङ्ग ‘C’ आकारको डयुडेनमसँग जोडिएको हुन्छ । यसको मुख्य र अर्को सहायक गरी दुईवटा अग्न्याशय नलिका रहेका हुन्छन् । ती दुबैले अग्न्याशय रस (पाचनरस) डयुडेनमको दोस्रो भागमा खसाल्छन् । तिनले हामीले खाएका खानामा रहने कार्वोहाइड्रेटस्, प्रोटिन र चिल्लो पदार्थ पचाउने काम गर्दछन् । यो प्रक्रियालाई पाचन रस उत्पादन गर्ने कार्य (८०%) भनिन्छ । त्यसरी नै अग्न्याशयले आफ्ना स–साना कोशिकाहरूबाट इन्सुलिन उत्पादन गर्ने एक विशेष काम पनि गर्दछ । उक्त इन्सुलिनले मानव रगतमा रक्त सुगरको मात्रा नियमित गर्ने काम गर्दछ । यसलाई इण्डोक्राइन प्यान्क्रियाज (२०%) भन्ने गरिन्छ ।

अग्न्याशय सुन्निने 
अग्न्याशयमा, त्यसको सतहमा वा कुनै भागमा सुन्निने वा सङ्क्रमण हुने प्रक्रियालाई नै प्यान्क्रियाटाइटिस (प्यान्क्रियाटाइटिस) भन्ने गरिन्छ । यो रोग या त तीव्र गतिको प्यान्क्रियाटाइटिस हुन्छ, जसमा उत्पन्न विकृतिले अग्न्याशयका कोषिका वा मांशपेशीलाई नै पचाउने काम गर्दछ । तर अचम्मको कुरा के छ भने त्यसरी अग्न्याशय ग्रन्थी नै एक पटक पचिसकेपछि पनि त्यसको कार्य विधि र संरचना मै कुनै परिवर्तन नभई त्यो स्वतः आफै ठीक पनि हुन्छ । जब त्यस्तो प्रक्रिया बारम्बार हुन थाल्छ वा त्यो दोहोरिएर हुने गर्छ त्यसले अग्न्याशय ग्रन्थीकै स्वरुप/संरचनामा दखल पु¥याउँछ, त्यसको कार्य क्षमता नष्ट पार्छ, त्यस अवस्थालाई नै अग्न्याशयको दीर्घ÷जीर्ण रोग वा सुजन भएको भनिन्छ ।

प्यान्क्रियाटाइटिसका कारणहरू
विश्वभर हुने प्यान्क्रियाटाइटिसका कारणहरूमध्ये अन्दाजी ४०% को कारकतत्व पित्तथैलीको पत्थरीलाई मान्ने गरिएको छ । यसको दोस्रो ठूलो कारकतत्वमा मद्यपानलाई लिइएको छ । ५ देखि १५ वर्षसम्म लगातार मद्यपान गर्ने लतमा परेका व्यक्तिहरू मध्ये करिब ३५% लाई यसको जटिलताले समाउने गरेको पाइएको छ । यद्यपि त्यत्तिकै मात्रा र समयसम्म मद्यपान गरिरहने त्यत्तिकै संख्याका अन्य व्यक्तिहरूको दाँजोमा केही प्रतिशतलाई मात्रै अग्न्याशयको विकराल समस्या निम्तिनुको पछाडिका कारणहरू के के हुनसक्छन् भन्नेतर्फ सर्व स्वीकार्य व्याख्या भन्ने अझैसम्म प्राप्त हुन सकेको छैन ।

रगतमा ट्राइग्लिसराइको मात्रा अत्यधिक हुने, रगतमा अत्यधिक क्याल्सियमको मात्रा हुने समस्या, इ.आर.सी.पी. प्रक्रिया अपनाउँदा आइपर्नसक्ने जटिलता, दुर्घटनाका कारण छातीमा लाग्नसक्ने गम्भिर चोट-पटक, विविध औषधिहरूको अनधिकृत प्रयोग, अग्न्याशयको सङ्क्रमण, अग्न्याशय रोगको अनुवंशिय इतिहास, ट्यूमर, विविध विषादीसँगको सम्पर्क एवम् प्रयोग तथा शरीरको प्रतिरक्षात्मक प्रणालीले अग्न्याशयका आफ्नै कोशिकाहरुलाई नष्ट गर्ने प्रक्रिया आदि तीव्र प्यान्क्रियाटाइटिसका थप कारक तत्वहरू हुन् ।

दीर्घकालीन रुपमा नियमित मद्यपान गर्ने लत बसालेका बिरामीहरूमा भने जीर्ण/दीर्घकालीन प्यान्क्रियाटाइटिसका मुख्य कारण नै मद्यपान रहेको पाइएको छ । सूर्ती सेवन वा धुम्रपानलाई पनि प्यान्क्रियाटाइटिसको अर्को मुख्य कारक तत्वका रुपमा लिइएको छ । रगतमा बोसोको मात्रा बढ्ने, रगतमा क्याल्सियमको मात्रा बढी हुनु, पारा थाइराइड ग्रन्थीले उत्पादन गर्ने एक प्रकारको रस बढी हुनु (Hyper parathyroidism), अग्न्याशयमा सङ्क्रमण हुनु, विविध औषधिहरूको अनधिकृत प्रयोग गर्नु र रोगको अनुवंशिय इतिहास हुनु आदि/इत्यादि जीर्ण/दीर्घकालिन प्यान्क्रियाटाइटिसका थप कारणहरू हुन् ।

यसका जटिलताहरू
तीव्ररुपमा देखापर्ने प्यान्क्रियाटाइटिसका धेरै खाले जटिलताहरू हुनसक्छन् । ती मध्ये सामान्यतया स्थानीय अङ्गमा अत्यधिक क्षति पुग्ने, घाउ÷खटिरा तथा ट्युमर हुनसक्ने सम्भावना रहन्छ भने कहिलेकाहिँ शरीरका बहु अङ्गहरू जस्तै फोक्सो, मिर्गौला, आदि असफल हुने तथा पेट तथा आन्द्रामा रक्तस्राव हुने सम्भावना रहन्छ । कडा वा उग्र खालको तीव्र प्यान्क्रियाटाइटिस (सङ्क्रमण) ज्यादातर रुपमा प्राणघातक हुनसक्छ । अत्याधुनिक प्रविधि र सुविधासम्पन्न पेट तथा कलेजोरोग उपचार केन्द्रमा उपचार गराउँदा समेत त्यस्ता बिरामी बचाउन कठिन हुने गरेको तथ्य हामीसँग छ । त्यसप्रकारका बिरामीहरू मध्ये करिब ४०% को मृत्यु हुने गरेको तथ्याङ्क प्राप्त छ ।

दीर्घकालीन/जीर्ण प्यान्क्रियाटाइटिसले भने बिरामीमा कुपोषण, मधुमेह र अग्न्याशयको अर्बुदरोग (क्यान्सर) समेत गराउने गर्दछ ।

प्यान्क्रियाटाइटिसको निदान
तीव्र प्यान्क्रियाटाइटिसको निदान त्यति धेरै कठिन छैन । बिरामीको रोगको इतिहास र निदानात्मक सुविधाको प्रयोग गर्दै रगतमा अमाइलेज र लाइपेजजस्ता पाचन रसका मात्रा अत्यन्तै बढी हुनु, जाँचका साथ पेटको भिडियो एक्स–रे गर्दा पनि रोगको प्रारम्भिक अनुमान गर्न सकिन्छ । तीव्र प्यान्क्रियाटाइटिसको थप जटिलताबारे थाहा पाउन सी.टी. स्क्यान ले पनि ठूलै मद्दत गर्ने गर्दछ ।

नर्भिकमा दुई वर्ष पूर्व भित्र्याइएको राष्ट्रकै पहिलो पेट रोग निदानात्मक प्रविधि इण्डोस्कोपिक अल्ट्रासाउण्ड भने यी रोगहरू पत्ता लगाउन बरदान सावित भएको छ । हामीले उक्त प्रविधिको प्रयोग गर्न थालेको छोटै समयमा २०० जना जति बिरामीहरूको परीक्षण गर्दा २०% भन्दा बढीमा दीर्घकालीन वा जीर्ण प्यान्क्रियाटाइटिस भएको पत्ता लगाइसकेका छौं । यो प्रविधि तीव्र प्यान्क्रियाटाइटिस (सङ्क्रमण), अग्न्याशयमा भएको ठूलो क्षति र पिप जम्ने आदिको निदान गर्न पनि ज्यादै उपयोगी भइरहेको छ । अग्न्याशयमा भएको पानीका फोकाहरुबाट पानी निकाल्न समेत यसले ठूलो मद्दत गरेको छ ।

प्यान्क्रियाटाइटिसको उपचार
यस रोगको उपचार मुख्यतया रोगीको पीडामुक्तिमा सहयोगी औषधोपचार नै हो । अति कडा र गम्भिर अवस्थाका प्यान्क्रियाटाइटिस बाहेकका अन्य अवस्थामा धेरैजसो रोगीहरू औषधोपचारबाटै ठीक हुन सक्छन् । यस रोगका अधिकांश बिरामीहरूले पेट दुखिहाल्यो भन्दैमा औषधि पसलबाट दुखाई कमगर्ने औषधि जथाभावी किनेर खाइहाल्नु भने गलत हुनेछ । त्यसको सट्टा यथाशीघ्र पेट तथा कलेजो रोग विशेषज्ञसँग परामर्श गर्नु बुद्धिमानी हुनेछ । किनकी कुनैबेला बिरामीको रोग हामीले सोचेभन्दा बढी नै खतरनाक र प्राणघाती पनि हुनसक्छ । समयमै सचेत बनौं ।
यस प्राणघातक रोगको जटिलतालाई मध्यनजर गर्दै बिरामीलाई विशेषज्ञको प्रत्यक्ष रेखदेखमा हस्पिटलको सघन उपचार कक्ष (आइ.सी.यु.) मै राखी उपचार गर्नुपर्ने अपरिहार्यता नै हुन्छ ।

निष्कर्ष
हामीहरू मध्ये धेरैले सोचे झैं पेटको माथिल्लो भागको दुखाई केवल ग्याष्ट्रिककै कारणले मात्रै हुने गर्दैन । दुखाई जब असामान्य हुन्छ, त्यसबखत तीव्र वा दीर्घकालीन (जीर्ण) प्यान्क्रियाटाइटिस हो कि भनी सम्बन्धित बिरामीका परिवारले मात्रै नभएर हामी पेट तथा कलेजो रोग विशेषज्ञहरूले समेत एक पटक सोच्नै पर्ने हुन्छ । र, समयमै त्यसको उचित तथा सही निदानतर्फ लाग्नु पर्दछ ।


Loading comments...