
मानिसमा बढी हुने पाँच क्यान्सरबारे केही जानौ ।
वर्तमान अवस्थामा क्यान्सर मानव स्वास्थ्यको लागि सबैभन्दा ठुलो र गम्भिर समस्या बनेको छ । यसरोगले दुख तथा उपचार खर्चको भार पनि थपिरहेको छ । क्यान्सर रोगबारे जानकारी अभावकै कारणले थुप्रै मानिसले अकालमा ज्यान गुमाउनुपरिरहेको छ । मानिसमा बढी हुने पाँच क्यान्सरबारे केही जानौ ।
स्तन क्यान्सर
विश्वमा महिलाको ज्यान लिने प्रमुख रोग स्तन क्यान्सर हो । स्तन क्यान्सर महिलामा हुने गम्भीर समस्याका रूपमा देखा परेको छ । सामान्य कुरामा हेलचेक्र्याइँ गर्दा र वेलैमा रोगको निदान एवं उपचार गर्न नसक्दा स्तन क्यान्सरबाट कैयौँ महिलाले अकालमै ज्यान गुमाउनुपरिरहेको छ । स्तनमा भएका कोष-कोषिकाको अनावश्यक वृद्धिका कारण क्यान्सर हुने गर्छ । स्तनमा देखिने सामान्य गिर्खा, गाँठागुठी, निको नहुने घाउ नै क्यान्सरका रूपमा परिणत हुन सक्छ ।
पहिलो स्टेजमै स्तन क्यान्सरबारे थाहा भएमा निको पार्न सकिन्छ । तर, समय गुज्रिएपछि क्यान्सरबारे थाहा भएमा यसले ज्यान नै लिन सक्छ । बदलिँदो जीवनशैली, अस्वस्थकर रहनसहनका कारण स्तन क्यान्सरको प्रकोप दिनप्रतिदिन बढिरहेको छ । बढी उमेरमा विवाह गर्ने, बच्चा नजन्माउने महिलामा यस्तो रोग लाग्न सक्छ । नियमित व्यायामबाट पनि स्तन क्यान्सरबाट बच्न सकिन्छ । बच्चा भएका आमाले नियमित स्तनपान गराउनुपर्छ । यसले बच्चालाई मात्र नभएर आमाको स्वास्थ्यलाई पनि फाइदा पुर्याउँछ ।
पाठेघरको मुखको क्यान्सर
नेपालका महिलामा सबैभन्दा बढी देखिने अर्को रोग हो, पाठेघरको मुखको क्यान्सर । यो क्यान्सरको पनि सुरुकै अवस्थामा निदान गर्न सकिएमा उपचार सम्भव छ । तर, पाठेघरमा संक्रमण देखिँदा पनि बेवास्ता गरेमा यसले ठूलो रूप लिन्छ र ज्यान नै जान सक्छ । यो क्यान्सरको सुरुकै अवस्थामा उपचार नगरेमा शरीरका अन्य भागमा पनि फैलन्छ । सानै उमेरमा विवाह भएका महिला, कम उमेरमा यौनसम्पर्क राख्ने महिला, बढी सेक्स पार्टनर बनाउने, बढी सन्तान जन्माएका महिलामा यस्तो क्यान्सरको सम्भावना अधिक हुन्छ । कुपोषित, यौनसम्पर्कपछि संक्रमण भइरहने, परिवार नियोजनका साधन बढी प्रयोग गर्ने महिलामा पनि यस्तो क्यान्सरको जोखिम हुन्छ ।
पाचन प्रणालीको क्यान्सर
पाचन प्रणालीमा हुने क्यान्सर अन्यभन्दा जटिल हुन्छ । सुर्तीजन्य पदार्थको सेवन, मद्यपान, सुपारीजन्य, रासायनिक पदार्थको सेवनले वाचन प्रणालीको क्यान्सर हुन्छ । त्यस्तै, मुखको नियमित सरसफाइ नगर्दा पनि पाचन प्रणालीमा असर पुग्छ । यसको कारण पनि यस्तो क्यान्सर लाग्न सक्छ । पाचन प्रणालीमा क्यान्सरका रोगीमध्ये ९० प्रतिशतमा मद्यपान र धूम्रपान सेवनका कारण भएको छ ।
मुखको क्यान्सर
सुर्तीजन्य पदार्थ र मद्यपानको सेवनले मुखको क्यान्सर हुने गर्छ । अनुसन्धानले पनि यो देखाएको छ कि मुखको क्यान्सर भएका ९० प्रतिशत मानिसले सुर्तीजन्य पदार्थको सेवन गर्थे । सुर्ती र मदिरासँगै चुरोटको प्रयोग गर्दा पनि मुख क्यान्सरको सम्भावना १५ प्रतिशतले बढेर जान्छ । जंकफुड, रफुड, केमिकल हालेको खानालगायतले मुखको क्यान्सर लाग्ने सम्भावना हुन्छ । त्यसैले मुखमा आउने परिवर्तन, घाउ–खटिरा, दागलाई हेलचेक्र्याइँ गर्दा यसले भयंकर रूप लिन सक्छ । यसबारे सचेत हुन आवश्यक छ ।
आँखाको क्यान्सर
धेरैलाई जानकारी नहुन सक्छ कि आँखामा पनि क्यान्सर हुन्छ । यही सचेतनाको कमजोरीले पनि आँखा क्यान्सरको रोगी बढेको पाइएको छ । सुरुमै यसको क्यान्सरबारे थाहा भएमा निको पार्न सकिन्छ । तर, ढिलो भएमा आँखाका क्यान्सर शरीरभरि फैलन्छ, जुन निको पार्न निकै गाह्रो पर्छ । विशेषगरी बच्चाहरूमा आँखाको क्यान्सर देखिने गरेको छ । विश्व स्वाथ्य संगठनका अनुसार २० हजार नवजात शिशुमध्ये एकजनामा आँखाको क्यान्सर देखिएको छ ।