शहिद शुक्रराजको नपढिएको इतिहास


शुरु भएको छ शहिद सप्ताह । माघ ९ देखि १६ सम्मको यस सप्ताह बिचमा नेपालका महान शहिदहरु जहानिँया राणा शाषकहरुको हातवाट क्रुरतापूर्वक मारिएका थिए ।

हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए
बन्दैन मुलुक दुईचार सपुत मरेर नगए

भूपी शेरचनको यो हरफमा महान शहिदहरुको त्याग अनि वलिदानको एउटा द्रस्टव्य छ । मुलुक बनाउन मरेका यि महान आत्माहरु जसलाई शिर कटाउन बरु संभव भयो तर शिर झुकाउन र प्रजातन्त्रको संझौता गर्न मान्य थिएन । विसं १९५० श्रावण १८ मा जन्म भएका नेपाली अनि नेपाल भाषाका बिभिन्न पुस्तकका यि रचयता शुक्रराजलाई नेवा संवतको १०६१ अर्थात विसंको १९९७ साल माघ १० गते टेकुमा झुण्ड्याएर मारियो । ब्रह्मसूत्र शाङ्कर भाष्य,स्वर्गको दरबार, नेपाल भाषा व्याकरण, संस्कृत प्रदीपलगायत उनका थुप्रै पुस्तक प्रकाशित छन्। उनलाई झुण्ड्याएको यो शुक्रवृक्ष आजपनि प्रजातन्त्रको त्यो वलिदानको वयान दिइरहेको छ । नेपाली प्रजातन्त्रले त्यसपछि फेरि राजाको कु देखि वहुदलको आन्दोलन अनि ६२ र ६३ सालको आन्दोलन छिचोलिसकेको छ ।

यि शहिद अर्का महान शहिद धर्मभक्त माथेमाका बहिनी ज्वाँई पनि हुन् । धर्मभक्तकि वहिनी मेनुका र यिनकी शिशु छोरीको मृत्यु पनि शुक्रराज कारागारमै हुँदा भएको थियो । प्रसवावस्थामा समस्या भएर आमा र छोरीको मृत्यु भएको थियो तर क्रुर शाषकहरुले शुक्रराजलाई आफ्नी पत्नी र मृत छोरीको अन्तिम मुख हेर्ने मौका सम्म दिएनन् । वास्तविक नाम शुक्रराज जोशी भएपनि भारतवाट संस्कृतमा शास्त्री गरेर आएका हुनाले यिनलाई शास्त्री उपमा दिइएको हो । भारतको प्रयागराजको दयानन्द आर्य समाजी विधालयका प्रधानाध्यापक समेत भएर केहि समय काम गरेको यि शहिद आफ्नो मातृभूमि फर्केर प्रजातन्त्रको आन्दोलनमा होमिएका थिए । पञ्जाव विश्वबिधालयमा अंग्रेजी भाषामा स्ताक गरेपछि नेपाल फर्केका शुक्रराजले नेपाली र अंग्रेजी भाषाको सेतुका रुपमा रिडर पुस्तक पनि लेखेको भएतापनि पछि आन्दोलनको ब्यस्तताले त्यो पुस्तक प्रकाशित हुन पाएन् ।

राणाशाषन विरोधी प्रथम सभा जुन विसं १९९५ साल माघ १३ गते काठमाडौ ईन्द्रचोकमा भएको थियो त्यस सभामा शुक्रराज शास्त्रीले निडर रुपमा राणाविरोधी आन्दोलनमा सम्पूर्ण नेपालीलाई एकजुट हुन आव्हान गरेका थिए । यिनीपछि अर्का महान शहिद गंगालालले त्यस सभालाई संवोधन गरेका थिए । पछि तिनै क्रुर राणा शाषकले विसं १९९७ माघ ६ गते सर्वस्व सहित शुक्रराजलाई आठ वटा विभिन्न फौजदारी मुद्धा लगाएर मृत्युदण्ड सजाय सुनाइयो ।

घरको देवी नारी नै हो, नारी घरको ज्योती हो
राज्यलक्ष्मी नारी नै हो, मणिक मोती नारी हो

उपयूक्त कविताका हरफ शुक्रराज शास्त्रीको रचना हो । त्यतीबेला नै यिनका कवितामा समाजको लैगिंक विभेद अनि ढोंगी चलनको विरोध र नयाँ आयाम पाइन्थ्यो । उनले नारीलाई राज्यलक्ष्मीका रुपमा समेत ब्याख्या गरेका छन्, राज्यको नेतृत्वसम्म अनि घरको दैलोसम्म नारीलाई महत्वका साथ कवितामा उजागर गरेका शुक्रराजका शब्दहरु आज पनि उतिकै मार्मिक छन् । नेपालकी प्रथम महिला गायिका मेलवा देवीलाई अफ्ठेरोका वेला शुक्रराजले नै आवश्यक सल्लाह र भारत जान सहजीकरण गरेको इतिहास पनि छ । यसरी श्रीमान भक्तकृष्णसंग समबन्ध बिग्रेपछि मेलवादेवी दुईवटा नाबालक लालावाला चेपेर भारत कोलकाता जाँदा चढेको रेलयात्राको सांगितिक नियात्राका रुपमा सवारी मेरो रेलैमा गीत स्थापीत हुन पुगेको बताइन्छ । मेलवादेवीको भारत वर्हिगमन पछि उन्का सांगितिक कार्यक्रमहरु धेरै जसो ईलाहवाद अर्थात अहिलेको प्रयागराजमा हुन थाले, भनिन्छ ईलाहवादमा पढेका अनि चर्चित शुक्रराजले नै मेलवादेवीलाई गायन यात्राको भारतमा विस्तार गर्न सहजिकरण गरेका थिए । शुक्रराज उदार हृदयका सहयोगी मान्छे थिए ।
शुक्रराजको हत्या गरेपछि दिनभरि उनको शवलाई प्रदर्शनका लागि राखिएको थियो रे । त्यसपछि साँझमा यिनको शवलाई छाडिएको थियो । उतिखेर ८० कटेका शुक्रराजका पिता माधवराज जोशी पनि छोराको शव हेर्न र श्रदाञ्जली दिन गएका थिए रे भन्ने स्थानीय कथन छ । पछि छोरा वितेको ५ वर्षपछि पिता माधवराजको पनि देहान्त भयो । माधवराजलाई पनि तत्कालिन शाषकले देशनिकाला गरेकाले कारागारवाट भागेर सपरिवार माधवराजको परिवार आफ्ना दुबै छोराहरु सहित बिरगंज हुँदै भारत गएको इतिहास छ । विसं २००८ साल मसिंर ८ गते प्रधानमन्त्री मातृका प्रसाद कोइराला आफु प्रधानमन्त्री भएको भोलीपल्ट नै शुक्रराज शास्त्रीको आमा रत्नमायाको मा भेट्न गएका थिए रे । हुन त सन् १९९७ मा भिमशमशेरले मृत्युदण्डको उन्मुलन गरिसकेका थिए तथापी क्रुर तानाशाह जुद्धशमशेरले धर्मभक्त, शुक्रराज, दशरथ चन्द अनि गंगालाललाई घोषणा विपरित मृत्युदण्ड र त्रासदिपूर्ण विभत्स लाशलाई प्रदर्शन गरेर राख्ने प्रावधान गरे । जनमानसलाई प्रजातन्त्र विरोधी क्रियाकलापमा नलाग्न भय बढाउने जुद्ध शमशेरको हेतु रहेको थियो तर प्रजातन्त्रको लहर नेपालमा आएरै छाड्यो ।

प्रजातन्त्र सहजै ल्याएको कुरा हैन्, यस्मा शहिदहरुको वलिदान र तपस्या लुकेको छ । लगतले लतपतिएको प्रजातन्त्र आज भ्रष्टाचार अनि कुशाशनको पर्याय भएको छ जुन विल्कुल गलत छ । प्रजातन्त्रको रक्षा अनि पूर्नव्याख्या गरिन जरुरी छ । उन्को पूर्ण कदको पित्तलको सालिक उन्को हेहावसानको ७८ वर्षपछि काठमाडौ शुक्रवृक्ष मुनी अनावरण गरिएको छ । प्रजातन्त्रका सेनानी यि शहिदलाई नेपालीहरुले सदैव संझना गर्नेछन् । त्यागी अनि देशप्रेमी स्वाभिमान शुक्रराजको संझना गर्दैगर्दा तपाँईहामी आँफैले आफूलाई एउटा प्रश्न पनि सोधौं न ? हामीले भनें देशको लागी आखिर के गरेका छौं ? हरेक पटक टेकुको त्यो रुख कटेर अघि बढ्दा मलाई शुक्रराज जिवीत छन् जस्तो लाग्छ । शुक्रराज एउटा शुक्रसपनाका रुपमा हामी सबैजनामा हाँसिरहेका छन् शायद । आज यिनी उमेरले १२५ वर्ष पुगेका हुनेथिए र भविष्यमा यिनको उमेर बढिरहने छ किनभनें अब शुक्रराज मान्छे हैनन सपना हो जस्को मृत्यु हुँदैन ।
जाँदाजाँदै शुक्रराजको कलमले कोरेको यो नेपाल भाषको यो गीत ।
मिरिमिरि जः लुल चिलावन खिमीला
मिरमिरे उज्यालो भयो हटेर गयो अँध्यारो ।
यस गीतको लग भगवान बुद्धको भजन लय ब्याँचूली लयमा लयवद्ध गरिएको छ ।

-सुयोग ढकाल

-लाइभमाण्डु


Loading comments...