भोजपुरी गीतहरुमा अश्लिल शब्द किन ?


कहिलेकाँही मर्ने गरि लजाउने अवस्था गीतको शब्दले पनि श्रृजना गर्न सक्ने रहेछ । मलाई शब्दको अनि अर्थको अलिक गहिरो माया लाग्छ अनि यि शब्दहरुले अनि अर्थहरुले कहिलेकाँही यस्तो लाजलाग्ने अवस्थामा मलाई पूर्याएको छ कि भनीसाध्य छैन् ।
यस्तै केहि भयो एकफेर मोफसलको यात्राको क्रममा । वडो उन्मुक्त हिसाबले गाडिभित्र एक्कसी गीत घन्कियो । गीतका शब्दहरु यसप्रकार छन् ।
गीत घन्कियो, गाडी भित्र
सैयाँ जी दिलवा मागले
गम्छा बिछाइएके

उफ् र आफ् गर्दै गीतमा धेरै नै अश्लिलताका बिम्बहरु प्रयोग गरिएको थियो । एकजना वैशले ठिमोरिएकी महिलालाई प्रेमीको गम्चामा आफ्नो वैश छताछुल्ल पार्न मन छ । कसरी लेखे अनि यो रेकर्ड गर्दा पनि गाउनेलाई लाज पक्कै लाग्यो होला, म लाजलाई पन्छाउन सोच्दै छु । यो गीतको अर्थमा अनर्थ छ, यस्त गीत सुनेर मलाई रमाइलो लाग्ने छेकछन्द थिएन तर चालक र सहचालक धेरै पछि मेमोरी कार्डले सफल गरि यो गीत बजाएकोमा मेमोरीकार्ड प्रति कृतज्ञ थिए झैं देखिन्थे ।

 

असल, कमसल र छाडा छुट्याउने जिम्मा मैले ठूला विद्धानहरुलाई दिएको छु, म असक्षम छु । यो ब्यबसाहिक दुनिँयामा जे सुनिन्छ त्यही चल्ने अनि बन्ने त हो । उसोभए यो गीत पनि चल्ने अनि धेरै सुनिने भएरै लेखिएको अनि कथिएको हुनपर्दछ । म गायक या अन्य सर्जक भन्दा पनि सुन्ने मान्छेहरुकै दोष देख्दछु । किन यसरी सहजै हामी अश्लिलतालाई पचाएर घरघरमा अनि समाजमा भित्राउन लागीपरेका छौं ?
शायद यो गीत पनि अत्यन्त हिट गीत हुनपर्दछ । शिला कि जवानी आईएम सो सेक्सीमा ५ बर्षकी छोरी नाच्दा मोबाइलको क्यामराले भिडीयो अनि फोटो खिच्ने आमाबुवा भएका समाजमा शायद अब सभ्य गीतहरु सुनीनै छाड्ने हो कि भन्ने भय पनि छ ।
काठमाण्डौमा एकजना महिला साथी जो आँफै पनि गीत कथ्नुहुन्छ । भोजपुरी गीतहरु त यस्तै हुन्, धेरै अश्लिल बिम्बहरु प्रयोग गरेर महिलालाई शब्द मार्फत ज्यादा शो केस गरिन्छ भन्दै हुनुथ्यो । भोजपुरी गीतहरु केहि दशक यता यस्ता भए भनेंर पुरै भाषालाई नै दोष दिनु उपयूक्त हुँदैन, मलाई लागेको थियो ।

भोजपुरी गीतहरुको कुरा गर्दा धेरै पुराना चर्चित गीत अनि थेगोहरु यसै भाषावाट सापट लिइएको छ, अवध क्षेत्रमा शदियौ देखि पुस्तौंपुस्ता यात्रा तय गरिरहेको भोजपुरी भाषा एउटा उच्चकोटीको भाषा हो जसको मौलिकताको आफ्नै इतिहास छ । तर यस समयमा भने आफ्ना अश्लिल गीत, शब्द अनि दुईअर्थ लाग्ने संवादका कारण यस भाषा नै स्वयम चपेटमा परेको छ ,भोजपुरी गीतहरुमा अश्लिल शब्द किन ?

यहाँ आज म चाँही तपाईहरुको कान अनि आँखा केही बेर ध्यान सापट लिन चाहन्छु अनि चिच्याएर भन्न चाहन्छु कि गीतका शब्दहरुका आधारमा भाषालाई अश्लिलताको बिल्ला नलगाउ, सत्य फरक हुनसक्छ । सन् २००५ ताका साह्रै हिट थियो एउटा गीत, ए गनेश के पप्पा भन्ने बोलको । यस सरल अनि सस्कारमय गीतमा पती पत्नी बिचको भांग पिस्ने कुरालाई लिएर भएको वार्ता अनि बार्तालापलाई बडो चित्ताकर्षक ढगंमा प्रस्तुत गरिएको थियो । आज १३ बर्षपछि फेरि अर्को हिट भोजपुरी गीत कानमा पर्दा म झसंग भए, यो मौलिक भाषाको संगीतवाट सभ्यता किन हरायो ?
अहिले त नेपाली मुलधारका कलाकारहरु पनि भोजपुरी सिने क्षेत्रमा स्थापित भएर काम गर्दछन्, कपाल काट्ने पसल देखि अस्पतालका चिकित्सक अनि बडा बडा ओहोदामा पनि भोजपुरी भाषीहरु पुगेका छन् तर यसको भाषगत अनि कलात्मक संवेदनशीलतामा किन कोही बोल्दैनन ? किन कसैलाई वास्ता छैन ?

किन गम्छा, शल, अगं, यौन,बैसलाई मात्र भोजपुरी गीतले टपक्क टिपेर हिँडेको छ ? लालीपप लागेलु देखि उपर के ३२ निचे के ३६ सम्मका गीतहरुमा नारीलाई नै शोकेस गरिएको छ । के यस्ता गीतहरुको चलन अनि चर्चा पुरुषप्रधान समाजको उपज हो त ? गीतहरुमा यस्ता भाव छड्के रुपमा आउनु र घरि घरि आउनु सामान्य मान्न सकिन्छ । तर जब सम्पूर्ण गीतहरु नै एउटा अश्लिल कर्मको क्यान्भास हुन्छ तब समस्या पर्दछ । समाज कता जाँदैछ त ?

कम बजेटमा भोजपुरी चलचित्रहरु बन्ने गर्दछन अनि त्यसका उत्पादकहरु पनि खासै ज्ञान अनि भिजन नभएका कारणले यसो भएको हो भन्ने कुराको एउटा तर्क आयो । तर बिभिन्न मुलधारका चर्चित कलाकारहरुको भोजपुरी तर्फको आकर्षण, भोजपुरी कलाकारको बलिवुड अनि नेपाली कलिवुडमा सहज स्थान जस्ता तथ्यले भोजपुरी सिनेमालाई कम आँक्न अनि बजारको अभाव र भिजनको अभाव भन्न मिल्ने अवस्था छैन् ।

राम सीता अनि कृष्ण स्वय पनि यस भोजपुरी भूमिबाट खासै पर भएका इतिहास हैन, तर किन यस पावन भूमिमा अभिब्यक्तिको लिलामी भइरहेको छ ? बिभिन्न नेपाली अनि बलिवुडकै हिट चलचित्रमा पनि भोजपुरी गीतहरु छन् चाहे त्यो यमला पगला दिवानाको तिंकु जीया होस् या अन्य नेपाली चलचित्रहरुमा नै किन नहोस् रु हालसालैको चलचित्र राज्जा रानीमा त पिन्कु मीस नामक गीत नेपालमा पनि बडो चलेको मान्नपर्दछ । नेपाली सिने जगतमा भने मैथिली र भोजपुरी गीतको स्पष्ट फरक नभएको भने हो । गीत भनेको मन्त्र जस्तै हो, थाहै नपाई धेरैको मुखमा गाइने गर्दछ । समाजमा गीत संगितले तोड्ने हैन जोड्ने काम गर्न जरुरी छ । भोजपुरी संगित पनि नेपाली भाषा परिवारको एउटा महत्वपूर्ण पाटो हो, यसको सर्बधन अनि शुद्धता जरुरी छ ।

-लाइभमाण्डु

सुयोग ढकाल


Loading comments...