प्रजातन्त्र छिप्पीदै गयो, शहिदहरु भूलिँदै गए


आजभन्दा ७७ वर्षअघि विसं १९९७मा प्याफलको त्यहि बाटोमा माघ १४ गते राती एकजना कैदिलाई नेलकडि सहित एकहुल सिपाहीले हिँडाउदै शोभाभगवती लिएर जाँदैथिए । वि.सं १९७५ मा जन्मिएका गंगालाल त्यतीबेला २२ वर्षका थिए, पत्नी हसनादेवी प्याफलको घरमा भएका कारणले यिनले पत्नी हँसनादेवी र परिवारजनले सुनुन भनेर देशप्रेमका नाराहरु जोडजोडले कराए । सुत्केरि श्रीमती भएको आफ्नो घरको छेउबाट उनलाई र अर्का शहिद दशरथ चन्दलाई सँगै शोभाभगवती लगेर मारिएको थियो ।

suyog dhakal
लेखकः सुयोग ढकाल

काठमाण्डौ, मरु प्याफलमा रहेको अमर शहिद गंगालालको घर ७२ सालको भुकम्पले लडाएपछि गंगालाल लुटपुटिएर हुर्किएका भित्ताहरु फेरि उठ्न सकेनन् । प्रजातन्त्र अनि गणतन्त्रको नारा लगाएर हानाथाप गरेको नेपाली नेतृत्वहरु निकै फेरिए तर प्रजातन्त्र सेनानीको त्यो निवास बनाउन र संग्रह गर्न कसैले आवश्यक ठानेनन ।

गंगालालले त्यस यात्राका क्रममा घरनजिकै श्रीमतीको नाम ३ पटक लिएको बताइन्छ, निर्दयी सिपाहीहरुले उनलाई एकझल्को परिवारको मुख पनि हेर्न दिएनन् । गंगालाल र दशरथचन्दको त्यो यात्रा बिष्णुमती हुँदै शोभाभगवतीमा लगेर सधैंका लागि अन्त्य भयो, देशद्रोहीको अपराधमा यिनलाई निर्मम गोली हानेर अमर बनाएको थियो तत्कालिन निरंकुश सत्ताले ।

बिष्णुमती र भचाखुशीको दोभानमा पहिल्यै देखि बाँस गाडिएका थिए, दुइवटा अनि फरक फरक दिशामा पर्नेगरि दशरथ चन्द र गंगालाललाई बाँधियो । त्यसै वर्ष कार्तिक २ गते पक्राउ गरिएका गंगालाललाई माघको १४ गते राती १० बजे गोली हानेर मारियो । उनीहरुलाई अन्तसम्म पनि माफी माग्नका लागि राणा शाषकका तर्फबाट नर शमशेरले अवसर दिएका थिए । तर प्रजातन्त्रका यि सेनानीलाई प्रजातन्त्रको मोह यति थियो कि गोलीको वर्षा गरेपनि माफीको स्वर आउन असम्भब थियो । पहिले दशरथचन्दलाई तिघ्रामा हानिएको गोलीले उनी छटपटाँउदै गर्दा गंगालाललाई माफी माग्न भनियो तर त्यसो भएन । रगतले लतपतिएका चन्द र गंगालाल दुबैले प्रजातन्त्रको नारा लगाए । भनिन्छ कि उनीहरुले राणा जल्लाद मुर्दावाद भनि झनै चर्को नारा लगाए । गोली हान्न खटाईएका रक्सीले मातेका सरसफाई गर्नेहरु (पोडे)ले पनि गोली चलाउन डराए तर पछि राणा प्रतिनिधी नर शमशेरको आदेशमा यिनीहरुलाई छाती मै गोली हानियो । अन्तको गोली नरशमशेर स्वयम या सरसफाई गर्नेहरुले हाने भन्ने बिषयमा चाँही दुईमत पाइन्छ तर जे होस् राणाको निर्देशनमा वीर नेपाली सपुतहरुको हत्या भयो ।

कहिलेकाँही त लाग्छ कि यि वीर सपुतहरु प्रजातन्त्र पछि पनि जिवीत भएर शासनको वागडोरमा आएका भए शायद नेपाल आज कति भिन्न हुन्थ्यो तर अफशोच!! क्रमश: देश स्वार्थ अनि सत्तामोहमा हराँउदै गएको भान सबैलाई भएको छ, शहिद दिवसमा ति सम्पूर्ण शहिदहरुलाई गुमाउनुको पीडा अनि देशले सक्षम नेतृत्व नपाउनुको पीडा दुबै पीडाहरु नेपालीजनमा देखिन्छ ।

गंगालालको लडेको घर

काठमाण्डौ, मरु प्याफलमा रहेको अमर शहिद गंगालालको घर ७२ सालको भुकम्पले लडाएपछि गंगालाल लुटपुटिएर हुर्किएका भित्ताहरु फेरि उठ्न सकेनन् । प्रजातन्त्र अनि गणतन्त्रको नारा लगाएर हानाथाप गरेको नेपाली नेतृत्वहरु निकै फेरिए तर प्रजातन्त्र सेनानीको त्यो निवास बनाउन र संग्रह गर्न कसैले आवश्यक ठानेनन । गंगालाल देशका लागि लडे अनि अमर भईदिए र हरेक वर्ष शहिद सप्ताहमा देशले केहि थान माला र वक्तव्यमा गंगालाललाई श्रद्धासुमन दिएको छ, दिँदै छ ।

सुनिन्छ नि फलाना नेतालाई उपचार खर्च यति, फलाना विदेशमा यो उपचारका लागि भन्ने कुराहरु । वैदेशीक उपचार अनि बिदेशी बैंकमा भरपुर पैसा भेलापारेका मान्छेहरु सदनमा हालीमुहाली गर्न थालेका यस समयमा प्रजातन्त्रको एक मुठ्ठि आकाशका लागि रगतको खोला बगाउने शहिदहरु संझना सम्म पनि छाडिएछ, आजभोली । यस्तै केहि भन्दछ गंगालालको घरको अवशेषले ।

कोही त मर्दा डाक्टरको चाकरी
कोही त मर्छन अस्पताल नहेरि , हाम्रो नेपालमा

नेपालका इतिवृतान्त शायद आजको यो दिनसम्म पनि खासै परिवर्तन भएको छैन् । यहाँ संझनुपर्ने मान्छेहरुलाई बिर्सिएको पाइन्छ, बग्रेल्ती । शहिद दिवसमा शहिदहरुको संझना मुर्ती अनि मालामा मात्र सिमित गर्ने चलन निकै पुरानो भइसक्यो देशमा ।

नेपाल प्रज्ञा प्रतिष्ठानको शब्दकोष अनुसार शहिद भन्नाले आफ्नो देश, संस्कृति र अस्तित्वको संरक्षणका तथा स्वतन्त्रताको प्राप्तिका निम्ति बलिदान भएर लोकहितमा लाग्ने अमर व्यक्तिलाई बुझिन्छ । नेपालको पहिलो शहिद लखन थापालाई मानिन्छ । थापालाई तत्कालिन राणा प्रधानमन्त्री जंगबहादुर राणा बिरुद्ध प्रचार प्रसार गरेको आरोपमा बिक्रम सम्बत् १९३३ साल फागुन २ मा गोरखाको मनकामना मन्दिर नजिकैको रुखमा झुन्ड्याएर मारिएको थियो । थापा तत्कालिन सैन्य पल्टनमा कार्यरत थिए । शहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठ लाई पनि राणा शासनकै बेला मारिएको थियो । बिक्रम सम्बत् १९९७ साल माघ १० गते राति १२ बजे काठमाडौंको पचलीमा खरीको रुखमा शुक्रराज शास्त्रीलाई झुण्ड्याईएको थियो भने धर्मभक्त माथेमाको सिफलमा हत्या गरिएको थियो । त्यसैगरी माघ १४ गते दशरथचन्द्र ठाकुरलाई शोभाभगवतीमा गोली हानी हत्या गरिएको थियो र सोहि दिन राति १० बजे शोभाभगवतीमै लगेर गंगालाल श्रेष्ठलाई खम्बामा बाँधेर गोली हानी हत्या गरिएको थियो ।

आज हामी गंगालाल श्रेष्ठको कुरा गर्न चाहन्छौं कलिलो उमेर, जुझारु बानी, अध्ययनशील व्यक्ति अनि शालिन धारणा भएका गंगालालले देशको प्रजातन्त्रका लागि आफूलाई अर्पण गरे, मृत्युको बाटो रोजे । उनलाई तत्कालिन शाषकहरुले मारे तर मरेर पनि उनी अमर छन् । त्रिचन्द्र कलेजमा आइएस्सी पढ्दै गरेका गंगालाल होनहार थिए र स्वाभिमान यिनको मुख्य पहिचान थियो । मान्य थिएन यिनलाई कसैको जहाँनिया शाषनमा बस्न्, प्रजातन्त्र यिनको मष्तिष्कमा एउटा उत्कृट सपना थियो र यस्का लागि यिनले ज्यान दिन पनि पछि परेनन् । यिनी लगायत अन्य शहिदहरुको हत्या गरिएको १० वर्षपछि देशले प्रजातन्त्र पायो अनि त्यस प्रजातन्त्र कहिले राजा त कहिले व्यबस्थाले थिचोमिचो गर्दै आज यो स्थानसम्म आइपसग्यो । प्रजातन्त्र छिप्पीदै गयो अनि शहिदहरु भूलिँदै गए ।


बिक्रम सम्वत् २०७५ को माघ १६ का दिन हामी अमर शहिद गंगालालको घरको अवशेष भएको ठाँउ पुग्दा रक्तदान कार्यक्रम भइरहेको थियो अनि उनका नाती हजुरबुवालाई सम्झना गर्दै बोल्दै थिए । हामीले भिडियो पनि ल्याएका छौं ।

शहिद गंगालालको सम्झनामा सम्मान

https://livemandu.com/

Posted by Livemandu on Wednesday, 30 January 2019

नेपालको प्रजातन्त्र सडकको चिच्याहट र सदनको कोलाहलमा भन्दा शहिदहरुको सम्मानमा र प्रजातान्त्रीक मुल्यहरुको आत्मसाथमा बढि मुस्कुराँउछ । उतीबेला भगाइएका शाषक मानसिकता भएका क्रुर चरित्रका शक्तिशाली अनुहारका प्रतिविम्ब अब फेरि नेपालको सदनमा छिरेको अनुभव हुन्छ । अपराधी अनि हत्याराहरुको सदनमा सपथ देखि बलात्कारीहरुको संरक्षण, भ्रष्ट्राचारी र तस्करीहरुको प्रलोभनमा बढेका सत्तामोहहरुले शहिदहरुको बलिदानलाई निरर्थकतुल्य बनाएको भनें पक्कै छ ।

शहिद दिवसहरुमा हामीलाई चाँही एउटा कुरा सँधै लाग्दछ, प्रजातन्त्र छिप्पीदै गयो अनि शहिदहरु भूलिँदै गए ।

लाइभमाण्डु

सुयोग ढकाल ,विजय धिताल, राजेन्द्र डंगोल 

खादा लगाएका शहिद नाती ‘प्रसन्न श्रेस्ठ’


Loading comments...