म प्रधानमन्त्री भएँ भनें: नरेन्द्रराज प्रसाई


लेखकः नरेन्द्रराज प्रसाई

सुप्रसिद्ध साहित्यकार रत्नशमशेर थापाले आज मलाई सोध्नुभयो- “यदि तिमी प्रधानमन्त्री भयौ भने के गर्छौ, भाइ ?”

मैले रत्न दाइलाई उत्तर दिएँ- “नेपाली साहित्य, कला, संस्कृतिका महारथीहरूको उपचार गर्छु ।”

रत्न दाइले थोते मुखबाट हाँसो फाल्दै सोध्नुभयो- “कसरी भाइ ?”

अनि मैले भनें- “सर्व प्रथम म प्रज्ञाप्रतिष्ठानहरू नै खारेज गर्छु । यसो गरेपछि धेरै स्रष्टाहरू डिप्रेशनबाट मुक्त हुनेछन् । न रहे बाँस, न बजे बाँसुरी !” गणतन्त्र आएपछि गठित प्रज्ञाप्रतिष्ठानहरूमा एकातिर दलका लागि आफ्ना खुरहरूलाई भात खान पठाउन सजिलो थलो भएको छ भने अर्कातिर राष्ट्रका विशिष्ट स्रष्टाहरूले चाहिँ सरकारको रबैया टुलुटुलु हेरेर निरीह भएर क्रमशः डिप्रेशनको शिकार बन्नुको विकल्प छैन । विशिष्टकोटिमा दरिने मध्येकै कुनैकुनै आत्मसम्मानविहीन निरीहहरू चाहिँ दलका कारिन्दा कै गोठाला बनाईँदा पनि केही स्रष्टा खुरकै पछाडी उभिएका पनि देखिएका छन् । वास्तविकतामा प्राज्ञ र प्रज्ञा शब्दको अर्थ नै नबुझ्नेहरू प्राज्ञ बनाइए र प्राज्ञिकताको अर्थ नै नबुझ्ने शासकले अाँखा खोलेरै ती प्रज्ञाप्रतिष्ठानहरू भरिदिए ।

“डिप्रेशनमा पर्ने सम्भावना भएका त्यस्ता ठूलाठूला स्रष्टाहरू को को परे त” रत्न दाइले मलाई उनीहरूको नाउँ सोध्नुभयो ।

“दाजु ! अहिले म साहित्यको प्रज्ञाप्रतिष्ठानको कुरा मात्र भन्छु है ! यस्ता व्यक्तिहरूको नाउँ सुनेपछि अरूहरू प्रज्ञाप्रतिष्ठानमा पनि सरकारले गाईबस्तु खर्कमा हुले झै खुरहरू हुलेको छ भन्ने यथार्थ सहजै बुझ्नुहोला ।”

अनि मैले सरकारका आँखामा नघुसेका नेपाली साहित्यका महारथीहरूको नाउँ फटटट भन्न थालें-

शताब्दी पुरुष डा.सत्यमोहन जोशी, महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठी, प्रा.डा.बालकृष्ण पोख्रेल (हाल अस्वस्थ), प्रा.डा.तारानाथ शर्मा, अक्षर शिरोमणि मदनमणि दीक्षित, ज्ञानमणि नेपाल, द्वारीका श्रेष्ठ , संस्कृत शिरोमणि वेणीमाधव ढकाल, जन राष्ट्रकवि डा.मोदनाथ प्रश्रित, विश्व नारी नेपाली साहित्य रत्न डा.वानीरा गिरी (हाल अस्वस्थ), आख्यान पुरूष डा.ध्रुवचन्द्र गाैतम, चित्तरञ्जन नेपाली, प्रा.डा.चूडामणि बन्धु, तुलसी दिवस, प्रा.डा.मोहनहिमांशु थापा, प्रा.ठाकुर पराजुली, प्रा.डा.मोहनराज शर्मा (यसै साता दिवङ्गत), प्रा.डा.दयाराम श्रेष्ठ, प्रा.राजेन्द्र सुवेदी, वसन्तकुमार नेपाल, रत्नशमशेर थापा, कृष्णभक्त श्रेष्ठ, डा.राजेन्द्र विमल, पुष्कर लोहनी, कालीप्रसाद रिजाल, डा.महेश्वर शर्मा, परशु प्रधान, जनकवि दुर्गालाल श्रेष्ठ, किरण खरेल, नगेन्द्र थापा, कञ्चन पुडासैनी, प्रा.डा.माधव पोखरेल, प्रा.मुकुन्दशरण उपाध्याय, मनिराज जोशी, शान्ता श्रेष्ठ, तेजेश्वरबाबु ग्वाङ्गः, शैलेन्द्र साकार, प्रकाश ए.राज, चन्द्रकला नेवार (हाल अस्वस्थ), नेपाली साहित्य नारी रत्न भागीरथी श्रेष्ठ, प्रा.डा.गार्गी शर्मा, पद्मावती सिंह, शान्तदास मानन्धर, कुन्ता शर्मा, महाकवि देवकोटाका गणेश पं.श्यामदास वैष्णव, यादव खरेल, किरण खरेल, शान्तिनारायण श्रेष्ठ, देवीप्रसाद वनवासी, प्रेम छोटा, काजि रोशन, श्रीधर पाैडेल, उपेन्द्र पागल, अजम्बरध्वज खाती, डा.देवीप्रसाद सुवेदी, नरेन्द्रराज पौडेल, मधुवन पौडेल, नगेन्द्रराज शर्मा, रोचक घिमिरे, तेजराज खतिवडा, चूडामणि रेग्मी, नकुलकाजि, विजय चालिसे, रेवती राजभण्डारी, अनिता तुलाधर, प्रमोद प्रधान, श्रृजन लम्साल, मोहन दुवाल, श्रेष्ठ प्रिय पत्थर आदि ।

अन्त्यमा रत्न दाइले मुख बाङ्गो पारेर भित्तामा थुक्नुभयो । अनि भन्नुभयो- “नेपालका यति ठूला स्रष्टाहरू पनि प्रधानमन्त्रीका आँखामा एउटै पनि परेनन् छन् नि ! मलाई त लाजले काउकुती पो लाग्यो ।”

एक छिनमा रत्न दाइले फेरि थप्नुभयो- “इतिहास लेख्ने साहित्यकार सबै पाखामा परेछन् अनि लेखेकाे इतिहासै पनि पढ्न नजान्ने प्रायः झोलेहरू काखमा परेछन् । अब भनेपछि नेपाली साहित्यको इतिहास लेखिंदा तिम्रो खड्गप्रसाद शर्मा वली दाइको बिजोकै हुने भएछ नि त; भाइ !”

रत्न दाइलाई पनि मैले मुखैभरिको जवाफ फर्काई दिएँ- “ए दाइ ! पुल थाप्नेको मात्रै नाउँ आउँदैन नि; पुल काट्नेको पनि नाउँ त आउँछ नि !”

हाम्रा माझ उभिएर कञ्चन पुडासैनी पनि बोल्नुभयो- “राजा महेन्द्रले प्रज्ञा र प्राज्ञिकहरूका लागि मात्र नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानको स्थापना गरेका थिए, तर गणतन्त्रले साहित्य, कला र संस्कृतिको संरचना नै भताभुङ्ग बनाई दियो ।

त्यसै बेला यादव खरेलले थप्नुभयो- “साहित्य, कला र संस्कृतिको मात्र कुरा नगरौैं; देशभित्र सबैक्षेत्रको हालत प्राय: त्यस्तै बिजोग छ ।”

इन्दिरा प्रसाई हाम्रा वीचमा बसेर प्रधानमन्त्रीको रक्षा कवच बन्न खोजिन्- “विचरा हाम्रा प्रधानमन्त्री, वर्षौँदेखि कडा रोगका कडाकडा औषधी खानुहुन्छ । मैले त प्रधानमन्त्री त निमित्त नायक भन्ने सुनेकी हुँ । उहाँले मुलुक चलाउने नाउँ मात्रै रे ! उहाँलाई चलाउने त अर्कै पो छन् रे ! नत्र त यत्ति भाँडभैलो गर्ने खाले त उहाँ होइन ।”

“तिमी चुप लाग । विरामीले किन बन्नु पर्यो प्रधानमन्त्री ? थपक्क घर बसेर सरकारी कोषबाटै औषधी खाए देशै त यसरी भड्खालोमा पर्ने थिएन नि ! यो मुलुक उहाँका पुर्खाको बिर्ता हो र जे पायो त्यही गर्न पाइन्छ ?” मेरो झपार्याइ खाएपछि इन्दिराको मुख टालियो । तर रन्केको वातावरण पनि शान्त चाहिं भयो ।

© नरेन्द्रराज प्रसाई
~ (रत्न दाइ र मेर‍ो फोटो २०५० सालको कुरा आजको)


Loading comments...